बाराको समुदायमा देखियो कोरोना

काठमाडौं । बाराको देवताल गाउँपालिकामा समुदायस्तरमै कोरोना संक्रमण देखिएको छ । सोमबार मात्रै सो गाउँपालिकामा ४६ जनामा संक्रमण देखिएपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्लामा समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि निषेधाज्ञा जारी गरिएको स्थानीय प्रशासनले जनाएको हो ।

गाउँपालिकामा जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारण गरी सोमबार ४६ जनामा कोरोना पुष्टि भएको छ । जिल्लामा सयौं कोरोना संक्रमितबाट शून्य झरेको थियो । तर, सोमबार एकाएक समुदायमा कोरोना फैलिएको हो ।

एम्बुलेन्स र औषधि पसल सञ्चालन लगायत अतिआवश्यक खाद्यन्न ढुवानी बाहेक हिडडुलमा रोक लगाइएको छ । यसैगरी सो गाउँबाट आवतजावत समेत बन्द गरिएको छ । वडा कार्यालयहरुबाट दिइने सबै खालको सिफारिस लगायत अन्य सेवाहरु बन्द गरिएको छ । धार्मिक, साँस्कृतिक, विहेवारी, नगर्न गराउन र हाट बजार नलगाउन निर्देशन गरिएको छ ।

स्वास्थ्यकर्मी, जनप्रतिनिधि, पालिकाका कर्मचारी र स्थायीय संक्रमित

गाउँपालिकामा असार ३० मा ७४ जनाको स्बाब संकलन गरी नारायणी अस्पताल वीरगञ्जमा परीक्षण गर्दा ३५ पुरुष र ११ महिलामा कोरोना पोजेटिभ देखिएकोले अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । संक्रमित हुनेहरुमा स्वास्थ्यकर्मी १६, जनप्रतिनिधि ९, पालिकाको कर्मचारी ६ जना र बाँकी स्थानीय हुन् । ‘कुनै संक्रमितलाई लक्षण देखिएको छैन्,’ एक संक्रमितले भने, ‘गाउँकै क्वारेन्टिनलाई आइसोलेशन बनाएर बसेका छौ । कसरी स¥यो थाहै भएन ।’

१८६ संक्रमित थपिए
सोमबार १८६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । योसँगै सक्रिय संक्रमितका सख्या पाँच हजार ३६ पुगेको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा चार हजार २१६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै संक्रमितको जम्मा सख्या १७ हजार ८४४ पुगेको छ । प्रदेशअनुसार सक्रिय संक्रमितको संख्या प्रदेश–१ मा ९३, प्रदेश–२ मा एक हजार ९३३, बागमती प्रदेशमा ३९९, प्रदेश–५ मा ४१०, कर्णाली प्रदेशमा २९९ र सुदूर पश्चिम प्रदेशमा दुई हजार ४१८ रहेको छ ।

प्रवक्ता डा गौतमका अनुसार हाल क्वारेन्टिनमा २२ हजार २२८ जना रहेका छन् । कोभिड–१९ बाट संक्रमण मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १७३ छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ८६८ रहेको छ । त्यस्तै, संक्रमितको संख्या ५०० भन्दा बढिरहेका तीन जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् । हाल एक जना पनि संक्रमित नभएका जिल्लामा भोजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् ।

प्रतिक्रिया