चार हजारमा परीक्षण गर्दा तीन संक्रमित

काठमाडौं । उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँ उपत्यकाको भीडभाड हुने ठाउँका अग्रपंक्तिमा काम गर्ने चार हजार दुई सय जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । महाशाखाले काठमाडौँ उपत्यकाको समुदायमा कोभिड–१९ को संक्रमण छ वा छैन भनेर भीडभाड हुने ठाउँका अग्रपंक्तिमा काम गर्ने व्यक्तिको परीक्षण गरेको हो ।

ती तीन जनामध्ये दुई जना विदेशबाट आएका व्यक्ति हुन् । पाँच हजारमा गरिएको नमूना परीक्षणमध्ये ८०० जनाको नतिजा आउन बाँकी छ । केही दिन यता बाहिर जिल्लामा संक्रमण दर घटेपनि उपत्यकामा संक्रमित बढेपछि महाशाखाले उपत्यकाका भीडभाड हुने ठाउँका मानिसमा परीक्षण गरेको हो ।

‘हामीले उपत्यकामा समुदायस्तरमा नै संक्रमण छ वा छैन भनेर पाँच हजार व्यक्तिमा परीक्षण गरेका थियौँ’, उनले भने, ‘तर चार हजारको नतिजा आउँदा तीन जनामा मात्र संक्रमण देखियो । यसले उपत्यकाको समुदायमा संक्रमण छैन भन्ने देखाउँछ ।’ उनले अहिलेको नतिजाले उपत्यकाको समुदायमा संक्रमण नआउने भन्ने नमिल्ने भन्दै सचेत रहन सबैमा आग्रह गरे ।

गत बिहीबारदेखि महाशाखाले उपत्यकाका बैंक, यातायात कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, अस्पतलामा अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । महाशाखाले उपत्यकाका तीनै जिल्लाका ती ठाउँमा गएर एउटा कार्यालयका ६० देखि ७० जनासम्मको नमूना संकलन गरेको थियो । अस्पतालमा सघन उपचार कक्षका बिरामी, अर्बुदरोग र मिर्गौलाका डायलासिस गराइरहेका बिरामी तथा उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीको परीक्षण गरिएको थियो ।

अहिलेसम्म उपत्यकामा ३५० जना भन्दा बढिमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी कोरोना भाइरस संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले बाहिरी मुलुकबाट आउने सम्भावित ४४ हजार व्यक्तिको नमूना संकलन गरी परीक्षण गरिरहेको छ । सीसीएमसीले स्थलमार्गबाट आउनेलाई सोही नाका र हवाइमार्गबाट आउनेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परीक्षण गरिरहेको छ ।

नेपालमा अहिलेसम्म तीन लाख तीन हजार ८१० को पीसीआर परीक्षण गर्दा १७ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये ११ हजार २४९ जना संक्रमण मुक्त भई घर फर्किसकेका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ३९ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया