कर्णालीमा १७०० बढी कोरोना संक्रमित

सुर्खेत । कर्णालीमा कोरोना संक्रमितको संख्या नियमित बढिरहेको छ । दैनिक दर्जनौँ मानिसमा कोरोना देखिँदैछ छ, तर राजधानी सुर्खेतको वीरेन्द्रनगर बजार तथा कार्यालयमा मान्छेको भीड त्यत्तिकै देखिन्छ ।

नागरिकमा विगतको जस्तो कोरोना आतंक पनि घट्दै गएको छ । सामान्यतः कसैलाई देखिएमा आसपासका मान्छेहरुमा केही प्रभाव परे पनि अन्य व्यक्तिले यसलाई सामान्यरूपमा लिन थालेका छन् । कोरोना नहुँदै कडा भएको लकडाउन पछिल्लो समयमा फितलो हुँदै गएको छ ।

त्यसले गर्दा पनि कोरोना संक्रमित हुने क्रम रोकिएको छैन । बुधबार पनि थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार यहाँ २७ जनामा संक्रमण देखिएको थियो । मंगलबार नै कर्णाली प्रदेशसभाका एक सांसदमा कोरोना संक्रमण पुष्टि भयो । अहिले भारतबाट आएका मात्र नभई अन्य नागरिक संक्रमण देखिन थालेको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले सबै क्षेत्रको हेलचक्र्याइका कारण कोरोना समुदायस्तरसम्म फैलिएको बताए । ‘अहिले भारत तथा अन्य मुलुकबाट आएका मान्छेमा मात्र कोरोना देखिएको छैन,’ निर्देशक डा. खड्काले भने, ‘यो त स्थानीय व्यक्तिमा पनि देखिन थालेको छ ।’

यसमा सबै क्षेत्र, निकाय र व्यक्तिले सावधानी अपनाउनुपर्ने उनको भनाइ थियो । कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरेको पिसीआर परीक्षणमा सुर्खेतका १४, दैलेखमा तीन, सल्यानका दुई, जुम्ला र अछाममा एकरएक व्यक्तिमा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनरायण तिवारीले जानकारी दिए ।

त्यस्तै, चौरजहारी नगरपालिका पीसीआर प्रयोगशाला रुकुमपश्चिमा गरिएको पीसीआर परीक्षणमा सल्यानका तीनसहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । महाशाखा प्रमुख डा. तिवारीका अनुसार बुधबार २४ जना थपिएसँगै अब कर्णालीमा संक्रमितको संख्या एक हजार ७१४ पुगेको छ ।

प्रतिक्रिया