कोरोनामुक्त व्यक्तिको ‘प्लाज्मा’ दिइने

काठमाडौं । सरकारले कोरोना संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीलाई संक्रमण मुक्त भएका व्यक्तिको ‘कन्भालेसेन्ट प्लाज्मा’ दिएर उपचार गर्ने तयारी गरेको छ । यसका लागि नेपाल सरकार मातहतको स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना निको भएका व्यक्तिलाई प्लाज्मा दानका लागि सम्पर्क गर्न अनुरोध गरेको हो ।

परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले कोरोना निको भएर डिस्चार्ज भएका व्यक्तिको शरीरमा बनेको ‘एन्टीबडी’ झिकेर कोरोनाका गम्भीर बिरामीलाई दिने तयारी गरिएको जानकारी दिए । ‘कोरोनाबाट अन्तिम अवस्थामा पुगेका बिरामीलाई निको भएका बिरामीबाट ‘कान्भालेसेन्ट प्लाज्मा’ झिकेर दिँदा गम्भीर बिरामीलाई बचाउन सकिने अन्तर्राष्ट्रिय अध्ययन अनुसन्धानबाट पुष्टि भएको छ’, उनले भने, ‘त्यहीअनुसार नेपालमा पनि हामीले गम्भीर प्रकारका बिरामीलाई बचाउन सकिन्छ कि भनेर सरकारसँग स्वीकृति लिएर आह्वान गरेका हौँ ।’

कोरोना मुक्त भएर डिस्चार्ज भएका इच्छुक व्यक्तिलाई प्लाज्मा दानका लागि आह्वान गरिएको उनले जानकारी दिए । रक्तदान गरे जसरी नै प्लाज्मा दान गर्न सकिने उनको भनाइ छ । त्यसका कोरोनाका गम्भीर प्रकृतिका बिरामी उपचाररत अस्पतालसँग समन्वय गरिसकेको प्रमुख अनुसन्धान अधिकृत धिमालले बताए ।

मुलुकभरका करीब १५÷१६ वटा सुविधा सम्पन्न (कोभिड डेडिकेटेड) अस्पतालसँग मिलेर त्यस्ता बिरामीको उपचार गर्ने तयारी थालिएको उनको भनाइ छ । ‘सामान्य तथा लक्षण नदेखिएका बिरामीलाई होइन’, उनले भने, ‘जो अति गम्भीर अवस्थामा आइसियू र भेन्टिलेटरमा उपचाररत हुनुहुन्छ, उहाँहरुलाई प्लाज्मा दिएर उपचार गर्न लागिएको हो ।’

कोरोना भाइरसलाई जितेर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट गत वैशाखमा डिस्चार्ज भएकी प्रसिद्धि श्रेष्ठले गम्भीर अवस्थामा पुगेको कोरोना संक्रमितको उपचारका लागि आफू प्लाज्मा दिन तयार रहेको बताएकी थिइन् । अमेरिकालगायत विभिन्न मुलुकमा गम्भीर प्रकृतिका कोरोना संक्रमितलाई संक्रमण मुक्त भइसकेका व्यक्तिको प्जाज्मा दिएर उपचार गरिएको पाइन्छ ।

११६ संक्रमित थपिए, ३४ डिस्चार्ज
पछिल्लो २४ घन्टामा नेपालमा कुल ११६ कोरोना संक्रमित थपिएका छन् । मुलुकका विभिन्न २५ प्रयोगशालामा गरिएको चार हजार ३६१ नमूना परीक्षणमा ११६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार सबैभन्दा बढी प्रदेश–२ को धनुषामा २१ संक्रमित फेला परेका छन् । यस्तै महोत्तरीमा १९, अछाममा १४, दैलेख छ, पाल्पा र दाङ र कैलालीमा पाँच÷पाँच, जुम्लामा चार, धनकुटा, रोल्पा, प्यूठान र अघाखाँचीमा तीन÷तीन, इलाम, पर्सा, काभ्रेपलाञ्चोक, गोरखा, काठमाडौँ र नवलपरासी पूर्वमा दुई÷दुई संक्रमित फेला परेका छन् ।

यसैगरी सिरहा, सुनसरी, तेह्रथुम, झापा, नुवाकोट, रौतहट, सिन्धुली, ओखलढुंगा, सिन्धुपाल्चोक, सुर्खेत, बाँके, बर्दिया र कञ्चनपुरमा एक÷एक जना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । मंगलबार देखिएकासँगै कुल संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ३४ जना कोरोना जितेर घर फर्केका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ३२८ रहेका छन् । कुल संक्रमितको ६०.५३ प्रतिशत डिस्चार्ज भएको उनले जानकारी दिए ।

प्रतिक्रिया