६१ प्रतिशत कोरोनामुक्त

काठमाडौं । सोमबार एकैपटक १ हजार ७ सयभन्दा बढि कोरोना संक्रमण मुक्त भएका छन् । एकैदिन यति ठुलो संख्यामा कोरोना संक्रमित मुक्त भएको पहिलो घटना हो । योसँगै सोमबारसम्म ६० प्रतिशत व्यक्ति कोरोनामुक्त भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ६०.७४ प्रतिशत व्यक्तिले कोरोनालाई जितेका हुन् । सोमबार फेला परेका १४४ नयाँ संक्रमितसहित कुल संक्रमितको संख्या नेपालमा १६ हजार ९४५ पुगेको छ । जसमध्ये १० हजार २९४ जना निको भएर घर फर्किएका हुन् । सबैभन्दा धेरै संक्रमित फेला परेका प्रदेश–२ र ५ बाटै निको हुनेको संख्या बढि रहेको छ ।

प्रदेश–२ मा २ हजार ३९०, प्रदेश–५ मा २ हजार ३६३, कर्णाली प्रदेशमा १ हजार २९८ र सुदूरपश्चिम प्रदेशमा १ हजार २६७ जना आइतवारसम्म डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यसैगरी प्रदेश–१ मा ५८३, गण्डकीमा ३६० र बागमतीमा ३३१ जना कोरोनालाई जितेर घर फर्किका छन् ।

अहिले मुलुकभर ६ हजार ६१३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये प्रदेश–१ मा १८३, प्रदेश–२ मा १ हजार ८७२, बागमतिमा ४५८, गण्डकी प्रदेशमा ४९८, प्रदेश–५ मा ७२९, कर्णाली प्रदेशमा ३६१ र सुदूरपश्चिम प्रदेशमा २ हजार ५१२ जना रहेको प्रवक्ता गौतमले बताए ।

यस्तै मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका ९ जनासहित १४४ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार सातवटै प्रदेशमा कोरोनाका बिरामी भेटिएका छन् । जसमध्ये प्रदेश–१ मा ६ जना, प्रदेश–२ मा ४१ जना, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा ८ जना, प्रदेश–५ मा १४ जना, कर्णाली प्रदेशमा ४६ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी १४४ जनामा संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८५६ जनाको पीसीआर नमुना परीक्षण भएको छ । क्वारेन्टाइनमा रहनेको संख्या २३ हजार ४७० पुगेको छ भने आइसोलेसनमा ६ हजार ६१३ जनाको उपचार भइराखेको छ । यस्तै ४ जिल्ला महोत्तरी, रौतहट, कैलाली र बाजुरामा कोरोनाका ५ सय बढी बिरामी रहेका छन् भने पाँच जिल्ला कोरोनामुक्त भएका छन् । धनकुटा, भोजपुर, मुस्ताङ, मनाङ र हुम्ला गरी पाँच जिल्ला कोरोनामुक्त भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए । मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट ३८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया