‘कोरोनाको परीक्षण किन कमी ?’

 

 

काठमाडौं । सरकारले पछिल्लो केही दिनमा कोरोना परीक्षणको संख्या घटाएको तथ्यांकले देखाएको छ । यसअघि दैनिक पाँच छ हजारको औसतमा गर्दै आएको परीक्षण अहिले भने दैनिक साढे तीनदेखी चार हजारमात्रै गर्दै आएको हो । गएको शनिवारदेखी संक्रमितको संख्या पनि घट्दै गएको छ ।

शनिवार ७७ जनामा देखिएको संक्रमण आइतवार ८२ जनामा देखिएको छ । त्यसअघिका केही दिन पनि एक सय भन्दा केही बढि देखिएको थियो । पिसिआर प्रविधिबाट जाँच्ने कोरोना परीक्षण घटाएपछि संक्रमितको पनि संख्या घटेको कतिपयले आरोप लगाउने गरेका छन् । परीक्षणदर घटेपछि संख्या पनि स्वतह घट्ने स्वास्थ्यविज्ञहरुको पनि भनाई छ । तर, स्वास्थ्य मन्त्रालयले भने परीक्षणदर घटाएर संख्या घटेको भन्ने कुरा यर्थाथ नभएको दावी गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले निर्देशिका बमोजिम नमुना संकलन र परीक्षण भइरहेको बताए । उनले क्वारेन्टिनमा संख्या कम हुँदै गएको र क्वारेन्टिनमा बसेका व्यक्तिहरूको ५ देखि १० दिन नपुगेकाले नमुना संकलन हुन नसकेको दावी गरे । उद्धार उडानबाट आउनेलाई होल्डिङ सेन्टरमा राखेर ५ देखि १० दिनभित्र नमुना संकलन गरिने र भारतबाट आउनेको भने तत्कालै नमुना संकलन गर्ने गरिएको पाण्डे बताउँछन् ।

भारतका विभिन्न शहरबाट आउनेहरु लामो समय लगाएर आउनु भएको हुन्छ, कोरोना भाइरस तीन दिन देखि देखिन शुरु भई पाँच दिनभित्र पूर्ण रुपमा देखिने हुँदा तत्कालै नमुना संकलन गर्ने गरिएको छ’, उनले भने, ‘उच्च जोखिम र जोखिमयुक्त जिल्लाबाट पनि नमुना संकलन भइरहेको छ ।’ उनका अनुसार सम्भावित क्षेत्रमा परीक्षण दायरा भने बढाइने स्पष्ट पारे ।

उपत्यकाको समुदायमा संक्रमण
देशभर कोरोना संक्रमितको संख्या घट्दा काठमाडौंमा भने बढ्दै गएको देखिएको छ । अहिलेसम्म काठमाडौं उपत्यकामा ३४७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंमा २३२ जना, ललितपुरमा ७१ जना र भक्तपुरमा ४४ जनामा कोरोना देखिएको हो ।

त्यसमध्ये अधिकाशं विदेश र बाहिरी जिल्लाबाट आएका भएपनि केही व्यक्तिको भने ट्राभल हिष्ट्री देखिएको छैन । जसका कारण समुदायमा संक्रमण फैलिएको आशंका गरिएको छ । यसको यकिन गर्न समुदायमा गएर स्वाब संकलन गरी परीक्षण गर्न थालिएको छ । पहिलो चरणमा काठमाडौं उपत्यकाको नख्खु, कोटेश्वर, कागेश्वरी मनोहरा, कपन, डिल्ल्लीबजार लगायतका १२ स्थानमा स्वाब संकलन गरिएको थियो । दोस्रो चरणमा बैंक, मालपोत, कर जस्ता सेवाप्रदायक कार्यालय, फिवर क्लिनिक, आईसीयूमा काम गर्ने स्वास्थ्यकर्मी नमुना संकलन भइरहेको छ ।

अहिलेसम्म ३ हजार नमुना संकलन भइरहेको छ । त्यसमध्ये १६२१ नमुनाको परीक्ष० रिपोर्ट आएको छ र जम्मा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको महाशाखाका निर्देशक पाण्डेले जानकारी दिए । यो कुल परीक्षणको ०.१८ प्रतिशतमा संक्रमण देखिएको हो । नेपालमा कुल परीक्षणमा संक्रमतको दर ६ देखी ७ प्रतिशतको हाराहारीमा रहेको छ । उनका अनुसार काठमाडौं उपत्यकामा ५ हजार र उच्च जोखिममा रहेका १० जिल्ला, उच्च जोखिममा रहेका क्षेत्र लगायतका स्थानबाट ४५ हजार नमुना संकलन गर्ने योजना छ ।

यसका साथै छिट्टै ‘सेरो प्रोभिलेन्स सर्वे’ गर्ने तयारी पनि छ । सात प्रदेश तथा हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुने गरी २१ हजार नमुना संकलन गरिने भन्दै उनले भने, ‘यसले हामी सुरक्षित छौं कि छैनौं भन्ने थाहा पाउन सकिन्छ ।’

एकै परिवारका दश जना संक्रमित
महालक्ष्मी नगरपालिका–८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा असार १७ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब संकलनमा सबैको नतिजा पोजेटिभ आएको हो ।

नर्सले आफू संक्रमित देखिनुअघि आमालाई लुभूस्थित स्वस्तिक फार्मेसीमा अन्य रोगको समस्या भएर उपचारका लागि ल्याएको वडाध्यक्ष विश्वराज श्रेष्ठले बताए । सो फार्मेसीमा कार्यारत श्रेष्ठका दुई छोराले यही असार २१ गते पाटन र टेकुमा गरेको स्वाब परीक्षणमा उनीहरुको रिर्पोट समेत कोरोना पोजेटिभ आएको श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठलगायत उनका नाती र बुहारी भने हाल होम क्वारेन्टाइनमा छन् । फार्मेसीमा कार्यरत जेठो छोरा र अर्का चिकित्सक भनिएका कान्छा छोरा भने हाल सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा उपचार गराइरहेका छन् । सो वडामा यसका अलवा विदेशबाट फर्किएकी एक महिला, ग्वार्काेको बी एण्ड बी अस्पतालमा उपचारका लागि गएका एक पुरुष र स्थानीय अर्की एक महिला गरी हालसम्म लुभूका १५ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया