उपत्यकामा बढ्दो कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । पछिल्लो समय देशभर संक्रमितको संख्या घटिरहदा काठमाडौं उपत्यकामा भने बढ्दै गएको छ ।

स्वास्थ्य विज्ञहरुले काठमाडौंलाई कोरोनाको हटस्पट बन्न सक्ने चेतावनी दिएका छन् । विना परीक्षण काठमाडौं आउने तथा आएकाहरुले पनि क्वारेन्टाइनमा नबस्ने गरेका कारण संक्रमण फैलिन सक्ने उनिहरुको चेतावनी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौं जिल्लामा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण भएको हो । शुक्रबार देशभरमा भने ११८ जनामा संक्रमण देखिएको थियो ।

यसैबीच, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौँ उपत्यकाका पाँच हजार मानिसको कोभिड–१९ को पिसिआर परीक्षण गर्नका लागि नमूना संकलन गरेको छ । बिहीबारदेखि महाशाखाले उपत्यकाका अस्पताल, बैंक, मालपोत, नापी– यातायात कार्यालय जस्ता मानिसको बढी भीडभाड हुने ठाउँमा पुगेर नमूना संकलन गरिरहेको छ । महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले उपत्यकामा समुदायमा कोभिड–१९ को अवस्था पत्ता लगाउनका लागि नमूना संकलन गर्न थालिएको जानकारी दिए ।

महाशाखाको टोलीले विभिन्न ठाउँमा रहेका ती कार्यालयमा रहेका कर्मचारी र सेवाग्राहीको नमूना संकलन गरेको छ । महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले एउटा कार्यालयका ६० देखि ७० जनासम्मको नमूना संकलन गरिने बताए । अस्पतालमा सघन उपचार कक्षका बिरामी, अर्बुदरोग र मिर्गौलाको डायलासिस गराइरहेका बिरामी तथा उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीको परीक्षण गरिनेछ ।

यस्तै बैंक, मालपोत– नापी जस्ता कार्यालयमा अग्रपङ्क्तिमा रहेर काम गर्ने कर्मचारीको नमूना संकलन गरिनेछ । उपत्यकामा बाहिरबाट आउने मानिस बढेपछि महाशाखाले परीक्षणको दायरा बढाएको हो । महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारीले पाँच दिनसम्म ती कार्यालयमा काम गर्ने व्यक्तिको नमूना संकलन गरिसक्ने बताए । महाशाखाले बिहीबार कलंकी, वनस्थली, चाबहिल र भक्तपुरमा ती कार्यालयमा रहेका कर्मचारीको एक हजार नमूना संकलन गरेको थियो ।

यस्तै शुक्रबार ललितपुरको भँैसेपाटी, काठमाडौँका नयाँ बानेश्वर र नयाँ सडक तथा भक्तपुरमा गई टोलीले नमूना संकलन गरेको छ । उनले पाँच दिनसम्म दैनिक एक हजारको दरले नमूना संकलन गरिने बताए । केही दिनयता लगातार उपत्यकामा कोभिड–१९ का संक्रमित भेटिएपछि जोखिम बढेको छ ।

यस्तै मुलुक बाहिरबाट आउने मानिसको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)ले नमूना संकलन गर्नेछ । सिसिएमसीले बाहिरी मुलुकबाट आउने सम्भावित ४४ हजार व्यक्तिको नमूना संकलन गर्नेछ । सिसिएमसीले स्थलमार्गबाट आउनेलाई सोही नाका र हवाइमार्गबाट आउनेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परीक्षण गर्नेछ ।

प्रतिक्रिया