‘ढलबाट मानिसमा कोरोना सर्दैन’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलमा भाइरस देखिएपनि त्यो मानिसमा नसर्ने भएकाले नआत्तिन र नडराउन भनेको छ । मन्त्रालयले राजधानीको ढलमा कस्तो प्रकारको भाइरस भेटियो भनेर अनुसन्धान भईरहेको पनि खुलाएको छ ।

मन्त्रालयले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले ढलको पानीमा कोरोना भाइरस देखिए पनि समुदायमा फैलियो भन्न नमिल्ने बताए । ‘विश्वका अन्यत्र भएका अध्ययनले व्यक्ति कोभिड–१९ संक्रमित रहेको अवस्थामा वा निको भइसकेपछि पनि ढलमा कोभिड १९ भाइरस आरएनए फ्रयाक्टमेन्ट अर्थात् भाइरसका टुक्राटाक्री भेटिएको देखिन्छ । जुन सामान्यतया रोग सार्ने खालको हुँदैन’, उनले भने ।

सामान्य तापक्रमको पानी, फोहोर पानी, अस्पतालबाट निस्किने ढलको पानीमा पनि २ दिनसम्म भाइरस बाँच्ने उनले बताए । प्रवक्ता गौतमले ढलको पानीमा भाइरसको पहिचान भए पनि यसको माध्यमबाट सर्न सक्ने सम्भावनालाई अहिलेसम्म कुनै पनि देशले पुष्टि नगरेको बताए । उनले ढलमा अन्य रोगका किटाणु पनि भएकाले विशेष सतर्कता अपनाउन भने आग्रह गरे । सरसफाईकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाउन पनि आग्रह गरे ।

यसैबीच, काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितहरू निरन्तर बढन थालेका छन् ्। स्वास्थ्य मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा ३० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । आइतवार काठमाडौंमा २७, ललितपुरमा २ र भक्तपुरमा १ जना संक्रमित थपिएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका पाँचजना, वीर अस्पतालमा काठमाडौंका एक र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंका २१, भक्तपुरका १ र ललितपुरका २ जनाका कोरोना संक्रमण देखिएको हो ।

आइतवार कोभिड– १९ को संक्रमण २९३ जनामा देखिएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मुलुकभरिका २५ प्रयोगशालामा गरिएको परीक्षणमा २९३ जनामा संक्रमण देखिएको बताए । देखिएका संक्रमणसँगै संक्रमित सख्या १५ हजार ७८४ जना रहेको छन् । उनका अनुसार आइतवार १३२ जना कोभिड–१९ संक्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म छ हजार ५४७ जना संक्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म संक्रमितमध्ये ४१.५ प्रतिशत बिरामी संक्रमणबाट मुक्त भएका छन् ।

आइतवार चार हजार ७१० जनाको पिसिआर परीक्षण गरिएको छ । नौ हजार २०३ जना संक्रमित आइसोलेशनमा रहेका छन् । पाँच सयभन्दा बढी संक्रमित हुने जिल्लामा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेका छन् ।

प्रतिक्रिया