कोरोनाबाट थप दुई जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप २ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सख्या ३४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गोरखाको पालुङटारका १ र रुपन्देहीका १ जनाको कारोनाका कारण मृत्यु भएको हो । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गोरखाको पालुङटार–७ का ४४ वर्षिय पुरुषको शनिवार विहान उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । असार १७ गते कतारबाट आएका उनी पालुङटारकै क्वारेन्टिनमा बसेका थिए । १८ गते स्वाव संकलन गरी कोरोना परीक्षण गरिएकोमा शुक्रबार पोजेटिभ देखिएको थियो । उनी मधुमेहका दीर्घरोगी रहेको भएको र निमोनिया देखिएपछि गोरखा अस्पतालमा भर्ना गरिएको थियो ।

रुपन्देही देबदहका ७५ वर्षका वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए । क्षयरोगका बिरामी उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा उनको असार १८ गते मृत्यु भएको हो । असार १८ गते मात्रै कोरोना पुष्टि भएको थियो ।

यसैबीच, कोभिड–१९ बाट संक्रमितको सख्या १५ हजार ४९१ जना पुगेको छ । गत २४ घण्टामा २३२ जनामा कोरोना पुष्टि भएको छ । यो पछिल्लो १५ दिनमा भेटिएको सबैभन्दा कम संक्रमित हो । २३ वटा प्रयोगशालामा चार हजार ५० जनाको आरटि पिसिआर विधिबाट नमूना परीक्षण भएको थियो । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सख्या ३३ हजार १२५ रहेको छ ।

त्यसैगरी आइसोलेशनमा रहेकाको सख्या नौ हजार ४२ छ । कोभिड–१९ बाट संक्रमित मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सख्या २७२ छ । हालसम्म डिस्चार्ज हुनेको सख्या छ हजार ४१५ रहेको छ । सार्क देशहरुमध्ये कोरोना परीक्षण दर प्रति दश लाख जनसख्यामा नेपाल अफगानिस्तान, पाकिस्तान, भारत, श्रीलंका र बंगलादेश अगाडि रहेको छ ।

प्रवक्ता गौतमले भने, ‘कोरोना महामारीले संसारभरका देशलाई आक्रान्त पारेको छ, यसबाट धेरैभन्दा धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीको जीवनरक्षा गर्ने÷गराउने महान् कार्यमा सहयोग गरिदिनु हुने सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछौँ, तपाईं आफैँले सामाजिक दूरी, माक्सको प्रयोग गरी साबुनपानीले हात धोई स्यानिटाइजरको उचित प्रयोग गरी तपाईं स्वयम्, घरपरिवारका सदस्यहरु, डाक्टर तथा नर्सलगायत कोरोनाविरुद्ध अग्रपक्तिमा लडिरहनुभएका सम्पूर्णलाई बचाउने महान् कार्यमा योगदान गर्नुहुनसमेत अनुरोध छ ।’

प्रतिक्रिया