कोरोनाका संक्रमित १५,२५९

काठमाडौं । नेपालमा शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै ७४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एकैदिनमा यति ठुलो संख्यामा संक्रमित फेला परेको यो पहिलो पटक हो । यो सँगै कोरोना संक्रमितको कुल संख्या १५ हजार २५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ हजार ४८३ जनाको पीसीआर परीक्षण गरिएकोमा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमितको संख्या बढेपनि निको हुने दर पनि पछिल्लो समय निक्कै वृद्धि भएको छ । शुक्रबार मात्रै ८२३ जना संक्रमित निको भएर घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिए । नेपालमा हेर्ने हो भने निको हुनेको दर ४०.२७ प्रतिशत रहेको छ । कुल संक्रमितमध्ये ५९.५३ प्रतिशत आइसोलेशनमा र ०.२० प्रतिशत संक्रमितको मृत्यु भएको छ ।

आइसोलेशन– ५९.५३ प्रतिशत, डिस्चार्ज– ४०.२७ प्रतिशत, मृत्यु–०.२० प्रतिशत

कुल ७४० जनामध्ये १३४ महिला र ६०६ महिला छन् । शुक्रबार अछाम जिल्लामा सर्वाधिक २३० जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी बाजुरामा ५३, कैलालीमा ५१, कञ्चनपुरमा ४३, बैतडीमा ३२, डडेलधुरामा २८, डोटीमा २४ र सरिहामा २४ संक्रमित फेला परेका हुन् । महोत्तरी, रौतहट, सर्लाही, कपिलवस्तु, पाल्पा, दाङ, दैलेख र कैलाली जिल्लामा संक्रमितको कुल सख्या ५०० नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ८२३ जना कोरोना मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६ हजार १४३ पुगेको छ । यसैगरी मृत्यु हुनेको सख्या भने ३२ पुगेको छ । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता गौतमका अनुसार काठमाडौको नयाँ बानेश्वरका एक वृद्धको कोरोनाका कारण मृत्यु भएको हो ।

८५ वर्षीय वृद्धको एक निजी अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका हुन् । उच्चरक्तचाप र पार्किन्सनरोगबाट ग्रसित उनको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको थियो । नेपाली सेनाले उनको शव शुक्रबार नै व्यवस्थापन गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३२ पुगेका मन्त्रालयले जानकारी दिएको हो ।

यसअघि नेपालमा विहीबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु पुष्टि भएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक कोरोना संक्रमित शिशुको उपचारका क्रममा मृत्यु भएको हो । शिशूको घर म्याग्दी जिल्ला रहेको मन्त्रालयले जानकारी दिएको थियो ।

यसैबीच, अबदेखि क्यान्सर र मधुमेहका बिरामीको पनि कोरोना परीक्षण हुने भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबारदेखि कोरोना परीक्षणको दायरा फराकिलो बनाएको भन्दै त्यस्ता बिरामीहरुको परीक्षण गर्ने व्यवस्था मिलाइएको बताएको हो ।

मन्त्रालयका प्रवक्ता गौतमले इमर्जेन्सी र आईसीयूमा भर्ना हुने बिरामीका पनि कोरोना परीक्षण गरिने बताए । त्यसैगरी पकेट क्षेत्रमा बसोबास गर्ने मानिस र स्वास्थ्यकर्मीहरुको पनि कोरोना परीक्षण गर्ने मन्त्रालयले जानकारी गराएको छ । मन्त्रालयले क्लीनिकल समन्वय समितिको छलफलबाट सरकारी, सामुदायिक तथा निजी अस्पतालमा बिरामीको उपचार गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

प्रतिक्रिया