मदन भण्डारीका विचारलाई कुल्चीन हुँदैनः नेता शर्मा

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमालेका जिल्ला अध्यक्ष रविन्द्रराज शर्मा २०२१ साल असोज १० गते नारायण नगरपालिका २ जाहारकोटमा जन्मिएका हुन् । ०५४ सालको स्थानीय चुनावमा नारायण नगरपालिकाको नगरप्रमुख निर्वाचित शर्माले आईएल सम्मको अध्ययन गरेका छन् । त्रिभुवन उच्च माध्यामिक दैलेख बजारबाट माध्यमिक तह पास गरेका शर्माले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट आईएल गरेका हुन् ।

यस्तै, ०४२ सालमा नेकपा मालेको भातृ संगठन अनेरास्ववियूको महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको प्रारम्भिक कमिटीमा आबद्ध शर्मा ०४६ सालमा नेकपा मालेको नेपालगञ्ज नगर संगठन कार्यदलको सदस्य भए । ०४७ सालमा नेकपा मालेको संस्थापक सचिव रहेका शर्माले माले र मार्क्सवादी एकीकरणपछि बनेको नेकपा एमालेको पनि पार्टी सचिवमा निरन्तरता पाएका थिए ।

०४८ र २०५१ सालको संसदीय चुनावमा उनी तत्कालीन नेकपा एमालेको तर्फबाट दैलेख–१ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएका थिए । ०७१ सालदेखि नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष रहेका शर्माको हालको बसोबास पनि नारायण नगरपालिका २ जाहारकोट, दैलेखमा रहेको छ । शर्मा ०७४ मंसिर २१ मा सम्पन्न प्रतिनीधिसभा निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनीधिसभामा निर्वाचित सांसद हुन् ।

आफ्नो निर्वाचन क्षेत्रलगायत समग्र मुलुकको मूलभूत समस्यालाई संघीय सांसदमार्फत सरकारलाई ध्यानाकर्षण गराउने गतिविधिमा सक्रिय उनी दैलेखका जनता समक्ष लोकप्रिय नेताको रूपमा परिचित छन् । सांसद शर्माले दैलेख जिल्लाको क्षेत्र नं. १ दैलेखसँगै समग्र कर्णाली प्रदेशका जिल्लाको विकासमा प्राथमिकता दिएका छन् । यहाँ मदन भण्डारी फाउण्डेसन कर्णाली प्रदेशका अध्यक्षसमेत छन् ।

प्रस्तुत छ, केही दिन अगाडि उनै सांसद शर्मासँग सौर्य राष्ट्रिय दैनिकका लागि कृष्णप्रसाद अधिकारीले गरेको अन्तरवार्ता तथा आज सम्प्रेषण गरिएको सम्पादित अंशः

अहिलेको सन्दर्भमा मदन भण्डारीको बिचार कत्तीको सान्दर्भिक छ ?

– अहिलेको सन्दर्भमा मात्र नभई हिजो आज र भोलि पनि यसको सान्दर्भिकताका तीनवटा पक्षहरू छन् । पहिले त यसको सान्दर्भिकता खोज्दा यसको सैद्धान्तिक आधार खोजिनु पर्छ । यो विचार तत्कालीन नेकपा एमालेको ५औँ राष्ट्रिय महाधिवेसनबाट पारित गरेको जनताको बहुदल जनवादको बिचार सैद्धान्तिक रूपमा मार्क्सवाद, लेलिनबादको सेवा गरेको छ । त्यसले वर्ग संघर्षको नियमलाई आत्मसाथ गरेको छ ।

जनताको राज्य सत्तालाई स्वीकार गरेको छ । राज्य सत्ताका सम्पूर्ण ढाँचाहरू परिवर्तनको आकांक्षा बोकेको कारण विगतमा पनि हाम्रो पार्टीको कार्यक्रम हुँदै सिद्धान्त बन्दै अगाडि आयो । आज दुईवटा कम्युनिष्ट पार्टीहरु एक भइरहेको सन्दर्भमा पार्टी एकताकै घोषणापत्रमा २ वटै पार्टीका अध्यक्षहरू पहल कदमिको रुपामा यो पार्टी एकता ठूलो सृङ्खला अगाडि बढ्यो । यो धेरै व्यापकतामा मदन भण्डारीको नियमलाई बुझेर आत्मसाथ गर्नुपर्छ ।

तपाईं मदन भण्डारी फाउण्डेसन कर्णाली प्रदेशको अध्यक्ष हुनुहुन्छ, कर्णालीमा मदन भण्डारीको ६९औँ जन्मजयन्ती कसरी मनाउँदै हुनुहुन्छ ?

– हामीले मदन भण्डारी फाउण्डेसन केन्द्रीय कमिटीको निर्देशन अनुसार कर्णाली प्रदेशका १० वटै जिल्लाहरूमा आ–आफ्नो अनुकूलतामा अहिलेको विषम परिस्थितिलाई ध्यानमा राखेर आ–आफ्नो जिल्लाको अनुकूलतामा आधारित कार्यक्रमका साथ ६९औँ मदन भण्डारी जन्मजयन्ती मनाउँदै छौँ, सुर्खेतले रक्तदान कार्यक्रम राखेको छ । अन्य जिल्लामा कोरोनाको कारणले आइशोलेसन तथा क्वारेन्टाइनमा बसेका बिरामीहरूलाई केही पोसिलो खाना खुआउँदै बृक्षारोपण गर्दै मनाउँछौँ ।

मदन भण्डारीले सारेको जवज अहिलेको नकपाले छाडेको हो ?

– छाडेको होइन र छाड्नुपर्ने विषय नै छैन । जुन कुरा छाडिन्छ त्यो कुराले काम गर्नै छाड्छ, जवजले त अहिले झनै सशक्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई वैचारिक रूपमा मार्गनिर्देशन गरिरहेको छ । लेख्ने कुरामा जनताको बहुदल जनवाद नलेख्न सकिएला ।

तर, त्यसका सार्वभौम नियमहरू गर्ने हो भने त पाँचौँ महाधिवेशनमा तत्कालीन एमालेले पारित गरेको नीति कार्यक्रमकै आधारमा अहिलेको हाम्रो अन्तरिम विधान र कार्यक्रम बनीरहेको छ । त्यसैले जवजलाई छाड्नु पर्ने विषय भित्र नै पर्दैन । यसको महत्व झनै बढेर आइरहेको छ ।

मदन भण्डारीको दृष्टिकोणमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरू चलेको पाउनु भएको छ ?

– सिद्धान्त र व्यवहारको बिचमा तालमेल ल्याउने मदन भण्डारीको ठूलो जोड थियो सिद्धान्त र व्यवहारको यदि तालमेल हुँदैन भने सिद्धान्त एक र बिचार अर्कोतिर जान्छ । यसरी विचार र सिद्धान्त फरक भएमा हामी समाज परिवर्तनको दिशालाई ठिक ढङ्गले अगाडि बढाउनै सक्दैनौ । यो जननेता मदन भण्डारीको बिचार र अडान हो । त्यही अडानका साथ पार्टीको चौथो महाधिवेशनमा अब कम्युनिष्टहरुले आन्दोलन गर्ने होइन । दुविधामा रहने होइन कुनै साथीहरूले मस्तिस्कमा एउटा बुझ्ने व्यवहार अर्को गर्न हुँदैन ।

हामी जे काम गर्छौँ, त्यो काम पार्टी सदस्यहरूबाटै अनुमोदिन भएर गर्नुपर्छ भन्ने बुझाइका साथ ५औँ महाधिवेशनमा जवजको कार्यक्रम यति सजिलै त आएको होइन । विषम परिस्थितिका बावजुद पनि त्यतिखेर हिम्मतका साथ जनताको बहुदलिय जनवाद बिचार नै हामीलाई मार्गनिर्देशन गर्ने बिचार हुन सक्छ र यो सिद्धान्त यद्यपि अँगालेनौँ भने व्यवहारमा पनि हामीले लागू गरेरै जानुपर्छ भन्ने बुझाइका साथ जवज आएको हो ।

अहिले आएर हामीले राज्य सत्ता अँगालीरहेका छौँ । स्थानीय सरकार, प्रदेश सरकारहरू सबै छन् । जनताले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि ठूलो भरोसा गरेका छन् । व्यवहारमा कतै परिवर्तन हुन सक्छ । ती कार्यकर्ता निजी बिचार हुन सिद्धान्त भनेको आम विषय हो । त्यसैले सिद्धान्त अनुसारको व्यवहार कमी कमजोरी छैन । तर, केन्द्रीय नेतृत्व भने तपाईं हामीले सोचे जस्तो नभएको प्रष्ट नै छ ।

नेताहरूमा सामन्तवादी प्रवृत्ति हाबी भएको कार्यकर्ताहरूको गुनासो छ नि ?

– नेताहरूका कार्यशैली कतै फरक भए होलान् तर, मूल विषय हामीले चिन्ता गरेको जस्तो म देख्दिन । सरकारकै नेतृत्व गरिरहनुभएका पार्टी अध्यक्षले राष्ट्रको अहित हुने काममा प्रधानमन्त्रीको रुचि देख्नु हुन्छ त ? प्रधानमन्त्रीले देश बनाउने कुरामा चिन्ता गर्नुभएको छैन त ? राष्ट्रियताका विषयमा प्रधानमन्त्रीको पहल कमीकमजोरी छ त ? छिटोभन्दा छिटो जनताको जीवनस्तर उकास्ने तथा १० वर्षभित्र देशलाई विकाससिय बनाउने भन्ने कुरामा नेतृत्व प्रष्ट नै छ । नेता धेरै भएको ठाउँमा कुनै कार्यकर्तालाई केही होला त्यो फरक कुरा हो । तर, नेतृत्वको स्प्रिड देश बनाउने नै रहेको छ ।

कोरोना नियन्त्रणमा संघीय सांसदले निवार्ह गरेको भूमिका कस्तो छ ?

– कोरोना भाइरसले विश्व मानव जगतलाई एक किसिमको त्रास बनाएको छ । यस पस्थितिमा कोरोनाबाट बच्नको लागि संघीय सांसदको भूमिका जनताका आवाजहरू संसद्मा पुर्याउनु र संसद्मा भएका गतिविधिहरूलाई जनतासम्म पुर्याने भएको कारण आफ्नो क्षेत्रबाट सबै पहल गरेका छौँ । म लगायत सबै सांसदहरूले संसद्मा दैलेख तथा कर्णालीको बारेमा भएको समस्यालाई संसद्मा उठाइरहेका छौँ । कोरोनाको महामारीमा दैलेखमा ५ दिनमा आइशोलेसन तथा पीसिआर मेसिन राख्नको लागि भवन निर्माण गरेर सबैभन्दा ठूलो काम गरेका छौँ ।

पीसीआर त जडान भयो, तर दिगो सञ्चालन र स्वामित्व के हुन्छ, योजना के छ ?

दैलेखमा अस्पतालको ल्याब केन्द्रीय सरकारको स्वामित्व हुने गरी सम्बन्धन प्राप्त भएको छ । भोलिका दिनमा ल्याब राम्रोसँग चल्छ । सबै ठाउँका जनतालाई यो मेसिनको माध्यमले कोरोनाको परीक्षण गर्ने कुरामा प्रभावकारी रुममा काम गर्छ । जनतालाई हामी ढुक्कता प्रदान गराएका छौँ । यसमा जिल्लाबासी सबैको सहयोग रहेको छ ।

सबै स्थानीय तह जिल्ला समन्वय समिति तथा सबै राजनीतिक दलहरूले उक्त मेसिन दैलेख ल्याउनमा सहयोग गर्नुभयो । यसपछि पनि सबैले सहयोग गर्ने कुरामा ढुक्क भएकाले यसको दिगो सञ्चालन हुनेछ । मेसिनको लागि जनशक्ति अभाव हुन नदिनको लागि आफ्नो तर्फबाट हुने सबै काम गरिनेछ ।

तीनै तहका सरकार कारोना नियन्त्रण लगायतका विकास निर्माणमा समन्वय नहुँदा कोरोना समुदायमा फैलियो भन्ने छ नि ? यसमा तपाइको धारण के छ ?

– तीनै तहका सरकारमा समन्वय भएको छ । तर, स्थानीय सरकार प्रत्यक्ष रूपमा देखिने भएकोले बढी योसँग जुधेपनि संघीय सरकारले निर्णय गर्यो । अब कोरोनाको महामारीबाट बच्न कसले के गर्ने र कुन–कुन काम गर्ने भनेपछि क्वारेन्टाइन निर्माण गर्ने, क्वारेन्टाइनमा बस्नेलाई स्थानीय तहले खानपिनको व्यवस्था गर्ने, जिल्लामा भएका सबै समस्यालाई सूत्रबद्ध गर्ने संघीय सरकारले समन्वय गरेकै छ ।

स्रोत कम भएको गुनासो भए पनि संघीय सरकारले पीपीइ सेटदेखि सेनिटाइजरसमेत पठाएकै छ, डक्टर पठाएकै छ, यी कुनै सहयोग सरकारका होइनन् र ? त्यसैले यो समन्वयको अभाव होइन । तर, प्रत्यक्षमा स्थानीय सरकार नै देखिने हुँदा त्यस्तो महसुस भएको होला । विभिन्न ठाउँमा अलपत्र परेकालाई समन्वय गरी सम्बन्धित पालिकासम्म पुर्याउने व्यवस्था सरकारले गरेकै छ ।

कोरोना नियन्त्रणमा मदन भण्डारी फाउण्डेशनले कस्तो काम गरिरहेको छ ?

मदन भण्डारी फाउण्डेसन भनेको गैर सरकार संस्था नै हो हामीले विशेष गरी जनचेतना जगाउने काम नै हो । जननेता मदन भण्डारीले सारेका बिचार सिद्धान्तहरूका सन्दर्भमा अध्ययन गर्ने, प्रचारप्रसार गर्ने, दस्तावेजकरण गर्ने र अन्य क्षेत्रहरुमा पनि हाम्रा सबै साथीहरूलाई अहिले सरकारद्वारा गठन भएका कोभिड–१९ सँग जुध्ने जुन निकयहरु छन् उहाँहरुलाइ सहयोग गर्ने, जनाताहरुलाई कोरोनाको महामारीबाट नआत्तीन सकरात्मक सन्देश दिने लगायतका विभिन्न काम फाउण्डेशनले गरेको छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

– जननेता मदन भण्डारीको ६९ औँ जयन्तीको अवसरमा तपाइसँग यसरी बसेर कुरा गर्ने अवसर मिल्यो सर्वप्रथम स्वर्गीय जननेता मदन भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । उहाँले अगाडि सारेका नीति सिद्धान्त र बिचारहरू हाम्रो मुलुकको कम्युनिष्ट आन्दोलनहरु मात्र होइन, लोकतान्त्रीकरण आन्दोलन प्रजातान्त्रिक आन्दोलनलाई सोत दिशात्मक निर्देशित गर्ने उहाँका बिचारहरू हुन ।

यो बिचारबाट कोही पनि बिचल्लीत नभई ठिक ढङ्गले आलोकमा यसको प्रकाशमा हामीले आफ्नो कुरालाई परिचालित गर्ने सकौँ, जनताको सेवामा सधैँ हाम्रो भावना निस्वार्थ रूपले प्रेरित भइरहोस्, जनताले कम्तीमा हामीलाई अहिले मात्र नभई सधैँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई नै यसरी नै विश्वास गरीराखुन्, देहको अवस्थालाई बदलेर अगाडि बढ्न सकौँ, कोरोनाको महामारीबाट जनतालाई सुरक्षित गर्ने र बचाउनु सकौँ, हामीसँग भएका प्राकृतिक साधन स्रोतको भरपुर उपयोग गरेर जनता निराश भएको दुनियाँमा नेपाल केही गर्न सक्ने मुलुक हो भन्ने कुरा देखाउन सकौँ । जनताले हामीमाथि गरेको विश्वास खेर जाँदैन, हामी तपाईंहरूकै साथमा छौँ । कोरोनाबाट नडराउनुहोला तपाईंहरूको सुरक्षा गर्ने अभिभारा सरकारको छ भन्ने विश्वास दिलाउन चाहन्छु ।

प्रतिक्रिया