काठमाडौँ । संघीय राजधानी छिरेका व्यक्तिले अब अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । त्यस्ता व्यक्तिले १४ दिन होम क्वारेन्टाइनमा नबसी कोरोना संक्रमणको परीक्षण गर्न नपाउने भएका छन् ।
कोरोना परीक्षण गराउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा चाप बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेले १४ दिन क्वारिन्टिनमा बस्नुपर्ने र त्यसपछि लक्षण देखिएमात्रै परीक्षणमा आउने गरी नयाँ व्यवस्था लागू गरेको हो ।
स्वास्थ्य मन्त्रालयको उक्त व्यवस्था कडाइकासाथ लागू गर्न गृह मन्त्रालयले मंगलबार उपत्यकास्थित तीनवटै प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बाहिरी जिल्लाबाट आउनेको हकमा १४ दिन घरमै क्वारिन्टिनमा बस्नुपर्ने र त्यसपछि संक्रमणको लक्षण देखिएमात्रै जनस्वास्थ्य प्रयोगशालामा सम्पर्क गर्ने व्यवस्था मिलाउन प्रशासनलाई निर्देशन दिइएको बताए ।
भारतबाहेक तेस्रो मुलुकबाट आउनेलाई भने राजधानीमा होल्डिङ सेन्टरमा राखेर त्यहीबाट सम्बन्धित प्रदेश हुँदै जिल्लाबाट स्थानीय तहका क्वारिन्टिनमा लैजाने व्यवस्था गरिएको छ । असार १ गतेबाट लकडाउन खुकुलो बनाएसँगै बाहिरी जिल्लाबाट मानिस आउनेको चाप बढेको छ । बाहिरबाट आउनेको चापले प्रयोगशालामा परीक्षण गराउन जानेको संख्या पनि बढेको हो । त्यसलाई मध्यनजर गरेर मंगलबार स्वास्थ्यको सिफारिसमा गृहले १४ दिन अनिवार्य होम क्वारिन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको हो ।
यसैबीच, सर्वोच्च अदालतले कोरोना संक्रमण भएर आइसोलेसनमा रहेका व्यक्तिहरुलाई पीसीआर परीक्षण नगरी घर नफर्काउन सरकारको नाममा आदेश जारी गरेको छ । १४ दिन आइसोलेसनमा बसेका व्यक्तिहरुलाई परीक्षण नगरी घर फर्काउने भन्ने व्यवस्था कार्यान्वयन नगर्न आदेश दिएको हो । गत जेठ २० गते स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकाको दफा ६ मा यस्तो व्यवस्था थियो ।
न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासले जारी गरेको आदेशमा भनिएको छ, ‘जनताको स्वास्थ्य, समानता र सम्मानपूर्वक बाँच्न पाउने हकको संरक्षण गर्नु राज्यको कर्तव्य रहेको सन्दर्भमा आइसोलेसनमा राखिएका बिरामीलाई बिनापरीक्षण घर फर्काउने काम मानवीय र संविधानसम्मत हुने देखिँदैन ।’
प्रतिक्रिया