काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण मंगलबार ३८० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३५२ पुरुष र महिला २८ जनामा संक्रमण देखिएको बताए ।
नयाँ संक्रमितसँगै संक्रमितको सख्या ६ हजार ५९१ जना पुगेको छ । तीमध्ये ६ हजार ९२ पुरुष र ४९९ महिला छन् । कोभिड १९ को संक्रमणबाट ११७ जना निको भई घर फर्किएका छन् । डिस्चार्ज हुनेमा पुरुष १०९ र महिला ८ जना रहेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । उनका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एक महिला र ६ पुरुष, वाँकेका विभिन्न अस्पताल र आइसोलेशन सेन्टरबाट २२ जना पुरुष, नारायणी अस्पताल वीरगञ्जबाट ३ पुरुष, भीम अस्पताल भैरहवाबाट ५ जना महिला र २१ जना पुरुष, कोभिड क्लिनिकल अस्पताल दैलेखबाट २५ जना पुरुष रहेका छन् ।
यस्तै आइसोलेशन सेन्टर मान्मा कालिकोटबाट २४ जना पुरुष, दैलेखका दुल्लस्थित आइसोलेशनबाट दुई जना महिला र पाँच जना पुरुष, दैलेख अस्पतालबाट एक जना पुरुष र सुर्खेतस्थित प्रादेशिक अस्पतालबाट दुई जना पुरुष डिस्चार्ज भएका छन् । देशभर हालसम्म एक लाख ४३ हजार ७३८ पीसीआर र दुई लाख २३ हजार ५१९ जनाको आरडीटी परीक्षण गरिएको छ । देशभरका विभिन्न क्वारेन्टिनमा एक लाख ३३ हजार ९ र आइसोलेशनमा ५ हजार ५३१ जना रहेका छन् ।
यसैबीच, सरकारले ४ जिल्लालाई कोरोना ‘हटस्पट’का रुपमा राख्दै जोखिम कम नभएसम्म लकडाउनलाई कडाइका साथ लागू गर्ने भएको छ । कोरोना संक्रमणको उच्च जोखिममा रहेका सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखलाई ‘हटस्पट’को सूचीमा राखेर तत्काल अत्यावश्यक बाहेक कुनैपनि कामकारबाही सुचारु नगर्ने भएको हो ।
गृह मन्त्रालयले यी ४ जिल्लामा अत्यावश्यक सेवाबाहेक सार्वजनिक, निजी तथा गैरसरकारी संघसंस्थाबाट हुने काम कारबाही अर्को निर्णय नभएसम्मका लागि सुचारु नगर्न पनि निर्देशन दिएको छ । यी जिल्लामा कोरोना संक्रमणको जोखिम र खतरा मूल्यांकन गरेर निर्णय लिन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए ।
प्रतिक्रिया