काठमाडौं । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्ला संक्रमित सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार स्याङ्जामा १०, कास्की र पूर्वीनवलपरासीमा ३–३ जना तथा बागलुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितमा स्याङ्जाको वालिङ नगरपालिकाका १६ देखि ५४ वर्षसम्मका ८ जना पुरुष र हरिनास नगरपालिकामा १८ र ४० वर्षका दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षका पुरुष तथा पोखरा महानगरपालिकाका ५९ वर्षका पुरुष कोरोना संक्रमित भएका छन् ।
यसै गरी नवलपरासीको बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिकामा १८, १९ र २७ वर्षका पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ । उनीहरु भारतबाट आएर विनयत्रिवेणीकै क्वारेन्टाइनमा बसेको जनाइएको छ । संक्रमित तीनै जनालाई रजहरको सामुदायिक प्राकृतिक चिकित्सालयमा ल्याएर राख्ने तयारी गरिएको छ ।
यस्तै बागलुङको ताराखोला गाउँपालिकामा ३९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएका सबैलाई जिल्ला अस्पतालका आइसोलेसनमा लैजाने तयारी भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया