अमेरिकाको ४० सहरमा कर्फ्यु, हजारौ पक्राउ

थुनामा रहेका अफ्रिकीमुलका एक अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकामा भड्किएको हिंसा रोकिएको छैन ।

देशका विभिन्न सहरमा प्रदर्शन भएपछि हिंसा थप भड्किन नदिन स्थानीय सरकारहरुले करिब ४० सहरमा कफुर्यु आदेश जारी गरेका छन् ।

केही दिनदेखि भइरहेको देशव्यापी प्रदर्शनका क्रममा कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् । त्यसैगरी प्रदर्शनमा उत्रिएकामध्ये हजारौलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अफ्रिकीमूलका अमेरिकी जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा रहेका बेला मिनियापोलिसमा निधन भएको थियो । उनलाई एक स्वेत प्रहरीले हत्या गरेको भिडियो सार्वजनिक भएपछि अमेरिकाभर विरोध प्रदर्शन चर्किएको हो ।

सयौँ मानिसहरूले ४६ बर्षीय फ्लोइडको हत्यामा न्यायको माग गर्दै राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि पनि प्रदर्शन गरेका थिए । देशभरका झण्डै १४० सहरमा चर्को विरोध प्रदर्शन भएको र यति धेरै ठूलो प्रदर्शन अमेरिकामा कम हुने गरेको एक अधिकारीले बताएका छन् ।

छ दिनदेखि जारी प्रदर्शनका क्रममा झण्डै दुई दर्जन सहरहरुबाट प्रहरीले दुई हजार ५६४ जनालाई पक्राउ गरेको थियो । घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकिएको जनाएको छ भने दोषीलाई कारबाही गरिने भएकाले आन्दोलित नहुन सरकारी अधिकारीहरुले आग्रह पनि गर्दै आएका छन् ।

प्रहरीले कतिपय ठाउँमा अश्रु ग्यास र लाठी चार्ज गरेपनि प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न कठिन परिरहेको छ । जर्जियास्थित सीएनएनको कार्यालय नजिकै विरोध गर्ने क्रममा प्रदर्शनकारीले प्रहरीको एउटा कार जलाइदिएका थिए ।

हिरासतमा फ्लोइडको मृत्यु भएकोमा मिनियापोलिसका गोरा जातिका डेरेक चौविनलाई गिरफ्तार गरेर हत्या अभियोग लगाइएको छ । चौविन र थप तीनजना प्रहरीहरूलाई यही घटनाकै कारण सेवाबाट यसअघि नै बर्खास्त गरिएको छ । (बीबीसी)

प्रतिक्रिया