खोजखबर

संक्रमित डिस्चार्ज भएर गएपछि अस्पताल पूरै खाली

सौर्य अनलाइन २०७७ जेठ १९ गते १७:२८ मा प्रकाशित

रुपन्देही । रुपन्देहीको भीम अस्पतालमा भर्ना भएका सबै कोभिड–१९ संक्रमित आज घर फिर्ता भएका छन् । अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका संक्रमित २५ जनालाई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालको सूचना शाखाले जनाएको छ ।

डिस्चार्ज हुनेमा चार वर्षीया बालिकादेखि ५० वर्ष उमेरसम्मका छन् । घर फिर्ता हुनेमध्ये नवलपरासीका तीन, भारतीय एक र रुपन्देहीका २१ जना भएको प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिए । कोभिड–१९ को संक्रमण पुष्टि भएपछि २० दिन पहिलादेखि अस्पतालमा बिरामी भर्ना सुरु गरिएको बताउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. नवीन दर्नालले सबै बिरामीको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताए । संक्रमित हुने सबै भारतबाट नेपाल प्रवेश गरेका मात्र छन् ।

संक्रमितलाई सामान्य श्वासप्रश्वास र उच्च रक्तचापबाहेक कुनै समस्या नपाइएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए । संक्रमणबाट निको भई घर फिर्ता हुन लागेका बिरामीले पनि सुरुमा कोरोना संक्रमण भएभन्दा डर बढी लागे पनि शरीरमा कुनै समस्या नआउँदा सामान्य रुपमा लिइएको बताएका छन् ।

उनीहरुले घर फिर्ता हुन लाग्दा अस्पताल परिसरमा केही बेर नाचगानसमेत गरेका थिए । उनीहरुलाई मन्त्री बराल र प्रदेशसभा सदस्य सन्तोष पाण्डेले बिदाइ गरेका थिए । संक्रमित बिदाइसँंगै अस्पतालको आइसोलेशन वार्ड पूरै खाली भएको छ । – रासस

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय