कोरोना जितेकी गर्भवतीको अनुभवः सामान्य रुघाखोकी लाग्नु हो

चितवन । कोरोना संक्रमण पुष्टि भएको पाँच दिनमा निको भएर घर फर्कँदै गरेकी हेटौँडा घर भएकी २५ वर्षीया महिलाले कोरोना भाइरसको संक्रमण सामान्य रहेको बताएकी छन् । पाँच महिनाको गर्भ भएको समयमा कोरोना संक्रमण देखिएर भरतपुर अस्पतालमा उपचार गराई घर फर्कने क्रममा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भनिन्, ‘कोरोना संक्रमण हुनु भनेको सामान्य रुघाखोकी लाग्नु हो, आत्मबल बलियो बनाउनुस् निको हुन्छ ।’

आफूलाई कोरोना संक्रमण भएको भान नभएको बताउँदै उनले संक्रमणसमेत कसरी भयो भन्ने विषयनै अन्योल रहेको बताइन् । आफूहरु लकडाउनको समयमा र त्यसअघि पनि खासै कतै नगएको भए पनि कोरोना संक्रमण देखिएर त्यसलाई जित्न सफल भएको उनको भनाइ छ । कोरोना संक्रमणणले मान्छे मरिहाल्ने भन्ने नभएको उनको तर्क छ । उनले भनिन्, ‘कोरोना लाग्ने बित्तिकै मान्छे मरिहाल्ने भन्ने होइन, म गर्भवती हुँदा त तीन–चार दिनमा नै निको भएँ, तपाईँहरु पनि आत्तिनु पर्दैन, तातोपानी खाने र आत्मविश्वास बढाए सञ्चो भइन्छ ।’

कोरोना संक्रमण देखिए पनि आत्मबल बढाएर चिकित्सकको सल्लाह बमोजिमका क्रियाकलाप गरे यसलाई जित्न सहज हुने उनले जानकारी दिइन् । आफूहरु जेठ ९ गते चितवनबाट हेटौँडा घर गएको र १० गते क्वारेन्टाइनमा बसेको समयमा स्वाब परीक्षणका लागि नमूना लिइसकेपछि घर गएको तथा नतिजा पोजेटिभ आएपछि उपचारका लागि यहाँ आएको उनले बताइन् ।

भरतपुर अस्पतालको सेवा सुविधाबाट आफू सन्तुष्ट रहेको उनको भनाइ थियो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनको नमूना लिइएको एक सातापछि शुक्रबार र शनिबार गरी पुनः स्वाब परीक्षण गर्ने क्रममा नेगेटिभ आएको थियो । नतिजा नेगेटिभ आएपछि उनलाई आइतबार बिदाइ गरिएको हो ।

बिदाइ गर्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले कोरोना संक्रमण निको भए पनि थप १४ दिन घरमै सुरक्षित बस्न आग्रह गरे । समस्या देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क राख्नसमेत उनले सुझाव दिए ।

सोही अवसरमा अस्पतालका प्रसूति विभाग प्रमुख डा. सुनिलमणि पोखरेलले गर्भवती भएको समयमा कोरोना देखिए बच्चामा असर नपर्ने भन्दै आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गरे । भरतपुर अस्पतालमा यसअघि पूर्वी चितवनको राप्ती नगरपालिकाका आमा छोरा पनि कोरोना जितेर फर्किसकेका छन् । अहिले भरतपुर अस्पतालमा दुई जना र भरतपुर कोरोना विशेष अस्पतालमा चार जना संक्रमित राखी उपचार गराइराखिएको सूचना अधिकारी पौडेलले जानकारी दिए । – रासस

प्रतिक्रिया