कोभिड–१९,बढ्दो छ संक्रमणको गति

काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ संक्रमणको गति मुलुकमा क्रमशः बढ्दै गएको छ । संक्रमण दर बढेसँग जोखिमको चुनौती पनि उत्तिकै छ ।

शनिवार अपरान्हसम्म कूल एक हजार ४०१ संक्रमितमध्ये पछिल्लो एक सातामा मात्रै ८०४ जनामा संक्रमण देखियो । जेठ १४ पछि चार दिनमा दैनिक सय भन्दामाथि संक्रमित भेटिए । उक्त चार दिनमा मात्रै ६२९ संक्रमित फेला परे । शुक्रबार १७० जनामा देखिएको कोभिड–१९ बढेर शनिवार सबैभन्दा बढी १८९ जनामा देखियो ।

गत माघदेखि शुरु भएको संक्रमण चैतमा फाट्टफुट्ट थियो । वैशाखको अन्तिमबाट बढ्न थालेको संक्रमण जेठको दोस्रो सातापछि ह्वात्तै देखियो । पछिल्लो जेठ १२ पछि भने संक्रमणको गति झन् बढ्दो छ । शुक्रबार पाँच महिलासहित १७० जनामा कोभिड–१९ पुष्टि भएको थियो । जेठ १५ गते १५६ जनामा संक्रमण देखिएको थियो । जेठ १४ गते ११४, जेठ १३ मा ८४, १२ गते ७२, ११ गते १९ तथा १० गते ३२ जना संक्रमित भेटिएका थिए ।

मन्त्रालयले दिएको विवरणअनुसार शनिवार दिउसोसम्म कोभिड–१९ का कारण छ जनाले ज्यान गुमाएका छन् । अन्य मुलुकभन्दा नेपालमा मृत्युदर न्यून छ । मृतकको नजिक रहेका व्यक्तिको कन्ट्र्याक्ट टे«ेसिङको काम भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । संक्रमणको जोखिम बढेपछि मुलुकमा चैत १० बाट हवाई उडान बन्द गरिए पनि भारतीय खुला सीमाका कारण संक्रमित व्यक्ति सहजरुपमा नेपाल भित्रिँदा कोभिड–१९ संक्रमण फैलिनमा सहयोग गरेको विज्ञहरु बताउछन् ।

सरकारले परीक्षणको दायरा फराकिलो बनाएकाले पनि संक्रमणदरको सख्या बढोत्तरी देखिएको प्रवक्ता डा देवकोटा बताउछन् । तर, विगतमा भन्दा विस्तारै संक्रमण फैलिनेक्रम भने बढ्दो गतिमा छ । मन्त्रालयद्वारा सार्वजनिक शनिवारसम्मको अभिलेखअनुसार मुलुकका ५३ जिल्लामा संक्रमण देखिएको छ । सबैभन्दा बढी २१–३० वर्ष उमेर समूहका रहेका छन् ।

कोरोना भाइरसले रुघाखोकीदेखि गम्भीर प्रकारको स्वाशप्रश्वाशको समस्या निम्त्याउन सक्छ । नयाँ भाइरस भएकाले खास उपचार विधि पत्ता लागिसकेको छैन । विश्वका वैज्ञानिक औषधिको खोजीमा लागिरहेका छन् । शुरुमा जनावरबाट मान्छेमा आएको यो भाइरस पछिल्लो समयमा मान्छेबाट मान्छेमा सरेको विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले पुष्टि गरिसकेको छ ।

यसको मुख्य लक्षण भनेको ज्वरो आउनु, सास फेर्न अफ्ठ्यारो हुनु र छातीमा संक्रमण हुनु हो । रुघाखोकी जस्तै लक्षण देखिने भाइरस श्वासप्रश्वास, एक जनाले प्रयोग गरेको सामान वा रुमाल प्रयोग गर्दा, हात मिलाउँदा सर्नसक्छ । यसको नियन्त्रणका लागि तत्कालै पहिचान गर्ने, त्यसलाई व्यवस्थापन र निदानात्मक उपाय अपनाउने, संक्रमित व्यक्तिको नजिकका मान्छे खोजेर उनीहरुको निगरानी गर्ने जस्ता उपाय अपनाउनुपर्नेमा चिकित्सकको जोड छ । नेपालले पनि यही विधि अपनाउँदै आएको छ ।

धेरै भीडमा नजाने, व्यक्तिगत सुरक्षा र सरसफाइमा ध्यान दिने, साबुन पानीले राम्ररी हात धुने, नियमित मास्क लगाउने, एक मिटर टाढाको सामाजिक दूरी कायम गर्दा रोगबाट बच्न सकिने मन्त्रालयका प्रवक्ता डा देवकोटा बताउछन् । नेपालमा हालसम्म पिसिआर ६६ हजार ७२९ जनाको र एक लाख सात हजार ५५ जनाको आरडिटीबाट परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा २ हजार ५ सय बढीको परीक्षण भएको मन्त्रालयले जनाएको छ । कूल एक हजार ४०१ पुगेकामा २१९ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया