संविधान संशोधन रोकियो

काठमाडौं । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन संसदमा दर्ता भएको संविधान संशोधन विधेयक केही दिन रोकिने भएको छ । सरकारले तत्कालै सो विधेयक अगाडी बढाउने चाहेपनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समय माग गरेपछि केही दिन रोकिने भएको हो ।

सरकारले बुधबार बस्ने संसद बैठकमा सो विधेयक प्रस्तुत गर्ने तयारी गरेर प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सर्वदलिय बैठक बोलाएको थियो । संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शिर्ष नेतालाई बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको विषयमा एक भएर अघि बढ्न सबै दल र दलका नेतासँग आग्रह गरे । उनले सरकारले संसदमा विधेयक दर्ता गरिसकेकाले सर्वसम्मत पारित गराउन आग्रह गरेका थिए । सरकारले बुधबारको बैठकमा पेश गर्ने तयारी गरेको जानकारी दिएपछि कांग्रेसले केही दिन समय दिन आग्रह गरेको थियो ।

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्तावको पक्षमा एक ठाउँमा हुने तर त्यसका लागि केन्द्रीय समिति बैठकबाट निर्णय कुर्न माग गरेका छन् । ‘संविधान संशोधन प्रस्तावको पक्षमा हामी छौँ । राष्ट्रियताको विषयमा हामी एक ठाउँमा छौँ’, देउवाले बैठकमा भने, ‘हामीलाई समय दिनुहोस् केन्द्रीय समिति बैठक बसेर निर्णय गर्छौँ ।’ कांग्रेसको पदाधिकारी बैठकले सरकारलाई सहयोग गर्ने निर्णय गरेपनि केन्द्रीय समिति बैठकबाट निर्णय अनुमोदन गराउने निष्कर्ष निकालेको थियो । देउवाको आग्रहपछि बैठकमा प्रधानमन्त्री ओलीले कोभिड–१९ को संकट भएकाले तत्काल निर्णय लिन आग्रह गरेका छन् ।

सर्वदलीय बैठकमा मधेशवादी दलका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई लगायतले भने संविधान संशोधन गर्दा मधेस र आदिवासी जनजातिका माग पनि सम्बोधन पनि समेट्न सरकारलाई सुझाव दिएका छन् । प्रधानमन्त्री ओलीले भने संविधान संशोधनका अरु विषयमा छलफल गर्दै जान सकिने भएकाले राष्ट्रिय अखण्डताको विषयसँग सम्बन्धित संशाोधनमा नमिसाउन आग्रह गरे । राष्ट्रिय हितका विषयमा निःशर्त राष्ट्रिय एकता कायम गर्न आफूले चाहेको उनले बैठकमा बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो । भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा (राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ । सो नक्सा अहिले संघीय संसदको लोगोमा समेत प्रयोग भईसकेको छ ।

सोही अनुरुप निशान छापभित्र रहेको नेपालको नक्सा सीमा अनुरुप मिलाउने तयारी स्वरुपम सरकारले संविधान संशोधनको प्रस्ताव जेठ ९ गते संसद्मा दर्ता गरेको छ । संविधान संशोधन प्रस्ताव संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्रको नक्सा परिवर्तनका निम्ति मात्र संसदमा दर्ता भएको हो । संसदमा सविधान संशोधन गर्न नेकपाको मात्र दुई तिहाई नपुग्ने भएकाले कांग्रेस वा मधेशवादी दलको सहयोग आवश्यक पर्नेछ ।

प्रतिक्रिया