ओली–नेपाल समूहबीच वार्ता, भोलि सचिवालय बैठक

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्‍वरस्थित निवासमा नेपाल कम्युनिष्ट पार्टीका दुई समूहबीच वार्ता भएकोछ । स्रोतका अनुसार तीन घण्टा भन्दा बढी समय चलेको उक्त वार्तामा दुई समूहबीच केही बुँदामा सहमति भएको थियो ।

सोमबार भएको उक्त वार्तासँगै भोलि (मंगलबार) का लागि नेकपा सचिवालयको बैठक डाकिएको छ। सो वार्तामा स्थायी समिति बस्‍नेबारे खुलाइएको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित दुई अध्यादेश ल्याएपछि नेकपाका २० स्थायी कमिटी सदस्यले बैठक बोलाउन माग गरेका थिए।

आजको वार्ता अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र वरिष्ठ नेता नेपाल समूहबीच चार बुँदे सहमति समेत भएको बताइएको छ। सहमति अनुसार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सच्चिएर जाने, केही मुख्यमन्त्री र मन्त्री हेरफेर र एकता महाधिवेशनको रणनीति तय गरिएको छ। वार्तामा सहभागी एक नेताले भने, ‘आजको छलफलबाट सहमति जुटेको छ, सरकारलाई सघाएर अघि बढ्ने वातावरण बनाउने भन्‍ने भएको छ। अन्य कुरामा पनि सहमति भएको छ।’

वार्तामा नेपाल समूहका नेताहरुले ओली समूहले एकलौटी गरेर पेलेको भन्दै दुखेसो गरेका थिए। त्यसपछि ओलीपक्षका वार्ता टोलीका सदस्यहरुले अबका दिनमा यसलाई सुधारेर अघि बढ्ने बताएका थिए। उक्त वार्तामा ओली समूहबाट ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु पौडेल सहभागी थिए।

यस्तै नेपाल समूहबाट सुरेन्द्र पाण्डे, रघुजी पन्त र भीम रावलसहितका नेता वार्तामा जुटेका थिए। प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टीसँग सल्लाह नै नगरी दुई अध्यादेश जारी गरेपछि उत्पन्‍न जटिलताले नेकपामा तीव्र विवाद पैदा भएको थियो। त्यसपछि दुई समूहका नेताहरु वार्तामा बसेका थिए।

सोमबारै खुमलटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र वामदेव गौतमबीच भेटवार्ता भएको छ। स्रोतका अनुसार प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएपछि उपाध्यक्ष वामदेव गौतमसँग सम्वाद भएको छ। प्रचण्ड निवास खुमलटारमा तीन नेताबीच स्थायी समिति बैठक बोलाउने विषयमा छलफल भएको बताइएको छ।

प्रतिक्रिया