मानिसको बानी आह्रिसे

कृष्ण बोहोरा

मानिसको बानी अलि आह्रिसे हुँदो रहेछ । थोरैले चित्त नबुझ्ने । आफूलाई आवश्यक पर्नेभन्दा धेरै संग्रह गर्न मन लाग्ने स्वभाव । हुन त यो स्वभाव मानिसमा श्रृष्टीकालदेखिनै थियो वा थिएन यसै भन्न सक्दिन । तर, पनि यो आह्रिस गर्ने स्वभाव संग्रह गर्न नजाने पनि पशुपंक्षीहरूमा पनि उतीकै देखिन्छ । एकै हलगोरु किसानले पालेकोमा दुबैलाई दानापानी र घाँसकुडोको व्यवस्था गरेको हुन्छ । दुबै तन्दुरुस्त र बलिया होउन् भन्ने किसानलाई लागेकै हुन्छ । तैपनि अर्कोले छिटो खाइसक्ला भनेर हान्नेदेखि लिएर अरुले भन्दा छिटो–छिटो खानेसम्म गर्दछ ।

आह्रिस र डाह गर्ने बानी गोरुमा हुन्छ । यो बानी अरु पशुहरूमा पनि उतिकै पाईन्छ । यसैले यस्तो स्वभावको सम्बन्धमा बिचार गर्दा मानिसले पशुबाट सिक्यो की पशुले माजिसबाट सिक्यो भन्न गाह्रो छ । मलाई यस्तै तर्कना दिमागमा खेलीरहेकाले निकै लामो समयदेखि हैरान भएको छु । सायद यो हैरानी मेरो ती दशक अगाडिदेखिकै हो । पशुमा भएको यो स्वभावले त खासै सामाजमा असर पारेको छैन । तर मानिसमा भएको यो आह्रिसे स्वभावले चाहीँ समाजमा निकै ठूलो असर पर्ने गरेको छ ।

हुन त पढ्ने लेख्ने, बिचार गर्ने, नयाँ कुरा पत्ता लगाउने काम गर्ने उन्नती प्रगती गर्ने कुरामा आह्रिस गर्नु प्रतिस्प्रधा गर्नु त राम्रै पनि हो । किनकी यसले समाजलाई नयाँ कुरा दिन्छ । समाजमा उत्पादन बढाउँछ । देश सुखी सम्पन्न गर्न मद्दत पनि गर्ला यो खुसीको कुरा हो । तर, राम्रो गर्नेको खुट्टा तान्ने उसलाई अगाडि बढ्नबाट बाधा खडा गरेर आफू अस्तित्वमा आउने चलनले समाजलाई के देला र ? नदिए पनि यसो गर्न मानिसहरू दिन रात तल्लिन छन् । नभए त मदन भण्डारीको अकालको मृत्यु किन हुन्थ्यो ।

बिरेन्द्रको वंस नास किन हुन्थ्यो । समाजकाे लागि काम गर्छु भनेर अघि बढेका कुलमान, माहाबीर पून र रबि लामिछानेले सजिलै आफ्नो कार्य सञ्चालन गर्दै अगाडि जान्थे होला । कुनै बाधा नआउन पर्ने । तर, परिस्थिती यस्तो छैन । कती गाह्रो छ, राम्रै काम गर्न पनि । रबीलाई मुद्दै लागेको कुरा तपाइँ  हामी सबैलाई जानकारी नै छ । किन यस्तो हुन्छ त ? कारण एउटै छ, आह्रिसे स्वभाव । कुलमानका कारणले कतीका व्यक्तिगत बै‌क ब्यालेन्स आजसम्म कती थपिँदै जान्थ्यो । त्यसमा ब्रेक लागेको धेरै भइसकेको छ । कती रीस उठ्दो हो संग्रहकर्तालाई ।

यसैले मानिसमा यो चाहिनेभन्दा बढी संग्रह गर्ने र अरुको आह्रिस गर्ने स्वभाव कहिलेबाट विकसित हुन सुरु गर्यो ? यसको हिष्ट्री पत्ता लगाउने हुटहुटी चलेको छ मलाई । तर, के गर्नेु आफू त सोसिओलोजी पढेको कुनै समाजसम्बन्धी विज्ञ पनि परिन । यस कारणले गर्दा आफूसँग भएको सीमित ज्ञान र थोरै अनुभव भए पनि यसैलाई प्रयोग गरेर यो कुराको उत्तर खोज्न लागेको छु । सामान्यतया मानिसले ६ पूस्ताबाट उकालो लागेपछि आफ्नै एउटै सन्तान पनि चिन्न छाड्रदै जाँदो रहेछ । यो कुरा मैले आफ्नो वंसावली खोज्ने क्रममा अनुभव गरेको कुरा हो ।

यस्तै गरी पुरानो शिक्षामा एसएलसीका पुस्तकमा ‘नेहरुज लेटर’ भन्ने एउटा पूस्तक पढ्नु पथ्र्यो । यो बुवाले छोरीलाई लेखेको चिठ्ठी हो । जुवाहारीलाल नेहरुले आफू जेलमा हुँदा इन्दिरागान्धीलाई लेखेको । जसमा नदीको बगरमा त्यसै देखा परेका चिल्ला गुडुला ढुंगादेखि बालुवाको कर्णसम्मको आफ्नै इतिहास भएको कुरा वर्णन गरीएको छ । त्यो चिल्ला गुडुला ढुंगाले भन्छ, म कुनै बेला पहाडको कुनै कन्दरामा ठूलो घर जत्रै ठूलो दरफरिएको खस्रो ढुंगो थिएँ । मलाई पहाडी ठाडो खोल्साले लछार्दै पछार्दै टुक्य्राउँदै सानो खोलामा ल्याएर मिसायो ।

सानो खोलाले बगाउँदै वर्षाको भेलसँगै खोलाको पीँदमा रोलिाङ गर्दैै अलि ठूलो नदीमा ल्याइ पुर्यायो । त्यसले पनि आफ्नो पिँधमा घोट्दै यहाँसम्म ल्याईपुर्यायो । यसरी घोटिँदै घोटिँदै अहिले म यो चिल्लो राम्रो रूपमा देखापरेको छु । मानिसहरू कती राम्रो चिल्लो भन्ने गर्छन, । तर, म कसरी यती चम्किलो चिप्लो रूपमा देखापरे । यसको खोजनीति कसैले गर्दैनन् । ठिकै छ तैपनि मलाई देखेर मानिसहरू खुशी हुन्छन् । म यसैमा सन्तुष्ट छु । यसैले मलाई लाग्छ मानिसको यो आह्रिसे स्वभावको पनि एउटा छुट्टै छ र हुनुपर्छ ।

कुनै जमाना थियो प्रकृतीमा मानिस र जीवजन्तुको संख्या ज्यादै न्यून थियो । जङ्गगलको रूप घना थियो । जताततै जंगल, खोला, पानीका मुहान प्रशस्त थिए । जंगली जडीबुटी र फलफूल तथा कन्दमूल प्रशसस्त पाइन्थ्यो । यसैले मानिस तथा जीवजन्तु प्रफुल्ल र सन्तुष्ट थिए । त्याहाँ आह्रिस, डाहा घृणा भन्ने कुनै चिज थिएन । कसैले कुनै वस्तु संग्रह गर्नुपर्ने आवश्यकता पनि थिएन । जङ्गली ओडारबाट निस्कने बित्तिकै खानेकुरा पाइन्थ्यो । यसैले लामो समयसम्म मानिस प्रकृतीमा रमाई नै रह्यो ।

तर, यो अवस्था सधैँ रहन सकेन । जनसंख्या वृद्धीसँगै चरण र खाद्य वस्तुको कमी महसुस हुन थाल्यो । तैपनि मानिस टाढा–टाढासम्म भौतारिँदै कन्दमूल फलफूल खोज्दै आफ्नो जीविका धान्दै गए । त्यतिखेर समूह–समूहमा हिँड्ने चलन थियो । उक्र समूह केहि पुस्ताको एउटै समूह हुन्थ्यो । आखिर जनसंख्याको वृद्धीको कारण प्रकृतीले धान्न सकेन । खाद्य संकटका कारण भोकमरी लाग्यो । समूहका धेरै सदस्यले खाना नपाएर ज्यान गुमाए । बचेकाले पाएका कुरा संग्रह गर्ने र खेतीपाती गर्ने कुरा धेरै समयको अभ्यासले सिक्दै गए । आफ्नो ज्यानभन्दा ठूलो मानिसले केहि पनि देखेन । अब प्राणको रक्षा गर्न मानिसले संघर्ष गर्न थाले ।

मानिसले संग्रह गर्न र आह्रिस गर्न पनि सिके । बिस्तारै मानिसमा संग्रह गर्ने बानीको विकास हुँदै गयो । डार्बिनको सिद्धान्तअनुसार कुनै पनि बानी सन्तान दरसन्तान हुँदै चार पाँच पुस्तासम्म विकास हुँदै गएमा यो बंसाणुगत रुपमा जीनमा देखापर्ने कुरा जगजाहेर गरेकै छन । यसरी यो पनि वंसाणुगत रूपमा मानिसको स्वभावमा झन् पछि झन् बढी देखा पर्दै गयो । मूद्राको आविष्कार र पूँजीवादी यूगमा समाज प्रवेश गरेपछि यसले बिकराल रूप लिएको देखिन्छ । वास्तवमा मानिसलाई बढी धनको आवश्यकता छैन ।

कसैले आफूलाई पुग्नेभन्दा बढी जम्मा गर्नु भनेको समाजमा कोही भोकै पर्नु पनि हो । वास्तवमा सुरुमा मानिसको जोखिममा रहेको ज्यान जोगाउँन संग्रह गर्ने बानीको विकास भएको हो । यही बानीको विकास हुँदै गएर मानिसको तत्कालको समस्याहरू त टर्दै गयो । अहिले आएर बिस्तारै मानिसको यीि बानी समाजको लागि घाँडो साबित हुन थालेको छ । जायज नाजायजको मानिसले बिचार गर्न छाड्यो । सिर्फ सङ्गग्रह गर्न पाए पुग्यो । सात पूस्ताले खाए पनि नसकिने किसिमले संग्रह गर्ने रूपमा आह्रिसे बानीको विकास हुन थाल्यो मानिसमा ।

यसले समाजलाई विकृत बनाएको छ । धनी झन् पछि झन् धनी बन्दै जाने र गरीव सुकुम्बासी बन्दै जाने अवस्थाको श्रृजना भइरहेको छ । अब समाज विज्ञान प्रविधीको यूगमा प्रवेश गरेकाले काम गर्न सजिलो भएको छ । हर क्षेत्रमा मसिनिकरण छ । यो हुनु राम्रो हो तर, विज्ञान र प्रविधीको स्वमित्व थोरै व्यक्तिको हातमा भएकाले उत्पादन पनि मुठ्ठीभर व्यक्तिको खल्तीमा जान थाल्यो । यसले गर्दा बहुसंख्यक मानिस बेरोजगार हुने दिन पनि नजिक आउँदै छ ।

छोटो मोटो रूपमा भए पनि मानिसको आह्रिसे बानीको एउटा गम्भीर इतिहासबारे हामीले केलाउँने जमर्को गर्यौं । यसको इतिहासलाई हेर्दा तपाई हामी सबैमा यो बानी धेर वा थोर सबैमा पाइने गुण पो रहेछ । पहिले मलाई लाग्थ्यो ठूला क्रान्ती गरेर आएका पार्टी सत्तामा आएपछि समाजको सबै समस्या हल हुनेछ । धेर थोर केहि सुधार भएता पनि उल्लेख्य प्रगती केहि भएको देखिएन ।

ठूला नेता मोटाउँने र गरी खानेको तिघ्रा र मुख सूक्दै जाने अवस्थामा कुनै सुधार आएन । यसैलै ठूला क्रान्तीप्रती पनि मेरो विश्वास हराएर जान थाल्यो । बरु मानिसको यो आह्रिसे बानीलाई कसरी तह लागाउँने सबैले सोच्ने जरुरी छ । सोच्ने मात्र नभइ तह लगाउने उपाए मात्र फेला पारे अझै पार्टीभित्रै पनि बहुसंख्यक नेता तथा कार्यकर्ता देशको भाग्यमा तगारो बनेको यो आह्रिसे बानीलाई नछोड्ने अवस्थामा छन् भन्ने लाग्छ ।

समाजलाई सन्तुलनमा राख्न पनि यो आह्रिसे बानीलाई काबुमा राख्न आवश्यक छ । आजकल देखा परेको यो नोबेल कोरोना भाइरसका कारण हामी संघर्ष गरिरहेका छाैँ । यसले आजसम्मको विज्ञानलाई पनि चुनौती दिइरहेको छ । हुन त पहिले पनि विश्वमा बेला बेला नयाँ प्रकोप देखा नपरेका होइनन् । कुनै बेला प्लेगको माहामारी थियो । आठदिने र हैजाबाट पनि मानिस सोत्रान हुन्थे कुनै बेला । यसलाई ठूलो रुपमा लिँदैनौ । तर, पनि कोरोना यतिखेर हाम्रो लागि धेरैनै डरलाग्दो रूपमा देखा परेको छ । मर्याैँ भने त ठिकै छ बाचियो भने कोरोना भन्दा खतरनाक हाम्रो आह्रिसे बानी छ ।

प्रतिक्रिया