भारतमा झोलुङ्गे पूलबाट खसेर एक नेपालीको मृत्यु

दार्चुला । भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो ।

लकडाउनका कारण घर फर्किन लागेका ठगुन्ना मदकोट झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको परिवारले जनाएको छ । गत कात्तिकमा मजदुरीको लागि मदकोट गएका ठगुन्ना झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको जानकारी आएको उनका आफन्त प्रमानन्द ठगुन्नाले जानकारी दिए ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय दार्चुलालाई भने हालसम्म जानकारी प्राप्त नभएको जिल्लाका प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाहीले जनाएका छन् । नेपाल भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा शव ल्याउन समस्या भएको भन्दै पहल गरिदिन मृतकका आफन्तले आग्रह गरेका छन् ।

प्रतिक्रिया