लकडाउनको अवज्ञा गर्ने २३ जना प्रहरी नियन्त्रणमा

मुगु । जिल्ला प्रहरी कार्यालय मुगुले लकडाउनको अवज्ञा गर्ने २३ जनालाई पक्राउ गरेको छ । गत मंगलबारबाट देशमा लकडाउन भएको जानकारी हुदाँहुँदै पटक–पटक लकडाउनको अवज्ञा गर्ने २३ जनालाई बिहीबार गमगढी बजारबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

विश्वमा कोराना भाइरसको संकमणले विकारलरूप लिएकाले नेपाल पनि त्यसबाट प्रभावित भइ बच्नका लागि सरकारले लकडाउन गरेको हो । त्यस्तो अवस्थामा थाहा पाएर पनि लकडाउनको अवज्ञा गर्ने २३ जनालाई नियन्त्रणमा लिएकोे जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी भुवनेश्वरप्रसाद शाहाले बताए ।

उनका अनुसार लकडाउनको अवज्ञा गर्नेहरूलाई नियमअनुसार कारबाही गरिने छ । नेपाल सरकारले गरेको लकडाउन सफल पार्न सबैको सहयोग आवश्यक भएकाले प्रहरीलाई सहयोग गर्ने ठाउँमा लकडाउनको अवज्ञा गर्ने गरेको भन्दै त्यस्ता व्यक्तिलाई प्रहरीले पक्राउ गर्दै कानूनबमोजीम कारबाही गरिने शाहाले बताए । लकडाउनको समयमा बाहिर जथाभावी नहिँडी लकडाउनको पालना गरी सहयोग गर्न प्रहरीले सबैमा आग्रह गरेको छ ।

कोरानाको हरेक दिन छलफल, कमाण्ड पोष्ट गठन

कोराना भाइरसको संक्रमण नियन्त्रण गर्न संघीय,प्रदेश सरकारहरूका निर्देशन कार्यान्वयन गर्न र जिल्लामा निर्देशन, आदेश दिने, समन्वय, सहजीकरण र अनुगमन गर्न मुगु जिल्लामा कमाण्ड पोष्ट गठन गरिएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद निरौलाको अध्यक्षतामा जिल्लाका सरोकारवालाहरूको बैठकले प्रजिअ निरौलाको संयोजकत्वमा ११ सदस्य कमाण्ड पोष्ट गठन गरिएको हो ।

कमाण्ड पोष्टको समितिले दैनिक ११ बजे बैठक बस्ने छ । बैठकले कोराना भाइरसबारे चाल्नु पर्ने कदम, दिनुपर्ने निर्देशन, आदेश र माग्नु पर्ने सहयोगबारे तत्काल निर्णय गर्ने छ भने प्रत्येक दिनको कार्यप्रगतीबारे समिक्षा पनि गर्ने छ । जिल्लाका स्थानिय सरकारहरूसँग समन्वय गर्न र जिल्लामा कोभिड १९ बारे निर्देशन, समन्वय, सहजीकरण र अनुगमन गर्न कमाण्ड पोष्ट गठन गरिएको पोष्टका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए ।

गठित पोष्टमा समन्वय प्रमुख पुर्णबहादुर रोकाया, नगर प्रमुख हरिजंग शाही, मेजर चन्द्रबहादुर कार्की, प्रनाउ भुवनेश्वरप्रसाद शाह, प्रनाउ शसस्त्र रमेशकान्त पोखरेल, अनुशन्धान अधिकृत केशवप्रसाद न्यौपाने, चिकित्सक निर्मल नगरकोटी, अस्पताल अध्यक्ष पारसमणी मल्ल, रेडक्रस सभापति जयबहादुर मल्ल सदस्य र सहायक प्रजिअ केशव ज्ञवाली सदस्यसचिव रहेका छन् । आजसम्म कोरानाबाट बच्न मुगु जिल्लाका १२ स्थानमा डेल्थ डेक्स र जिल्ला अस्पतालमा ६० बेडको आइशुलेसन कक्ष तयार पारिएको छ ।

प्रतिक्रिया