कोरोनाबाट मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो

विश्वभरी । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २१ हजार नाघेको छ । वर्ल्डोमिटर तथा जोन होप्किन्स युनिभर्सिटीले तयार गरेको डाटा अनुसार मृतकको संख्या २१ हजार १ सय ९८ पुगेको छ । यस्तै ४ लाख ६८ हजार ८ सय ७ मा कोरोनाको संक्रमण देखिएको छ ।

चीनबाट गत वर्ष नोभेम्बरदेखि सुरु भएको कोरोनाको संक्रमण संसारभरी फैलिसकेको छ । संक्रमण फैलने डरले एक तिहाई जनसंख्या घरभित्रै बस्न बाध्य छन् । जनसंख्याको हिसावले विश्वकै दोस्रो स्थानमा रहेको भारत कोरोना भाइरस तिब्र गतिमा फैलन थालेपछी २१ दिनका लागि लकडाउनको घोषणा गरिएको छ ।

दक्षिणी युरोपलाई कोरोना भाइरसले सबैभन्दा धेरै क्षती पु–याएको छ । तर, कारोना भाइरसको सुरुवात भएको चीनमा भने यसको नियन्त्रण भै सकेको छ । सुरुवात भएको चीनमा भन्दा मृत्यु हुनेको संख्या इटली र स्पेनमा बढी छ । इटलीमा पछिल्लो २४ घण्टामा ६ सय ८३ जनाको मृत्यु भएको छ भने स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको छ ।

यस्तै फ्रान्समा पनि बुधबार कोरोना भाइरसको संक्रमणका कारण २ सय ३१ को मृत्यु भयो । यसका साथै फ्रान्समा अहिलेसम्म मृतकको संख्या १ हजार ३ सय ३१ पुगेको छ ।

 

 

प्रतिक्रिया