छिमेकी मुलुकसँग स्वास्थ्य सामग्री माग

काठमाडौं । सरकारले दुवै छिमेकी मुलुकसँग कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्य सामग्री सहयोग माग गरेको छ । उत्तरी छिमेकी मुलुक चीन र दक्षिणी छिमेकी मुलुक भारतसँग स्वास्थ्य सामग्री सहयोग माग गरेको हो ।

उच्चस्तरिय समितिको निर्णयअनुसार कोरोना भाइरसको सम्भावित संकटसँग जुध्न सरकारले अत्यावाश्यकीय सामग्री छिमेकी मुलुकबाट तीन दिनभित्र ल्याउने गरी माग गरेको छ । स्वास्थ्य मन्त्रालयले परराष्ट्र मन्त्रालयको समन्वयमा चीनसँग १९ प्रकार र भारतसँग १६ प्रकारका सामग्री माग गरिएको छ ।

चीनसँग १९ र भारतसँग १६ प्रकारका सामग्री माग, विमान चर्टर गरेर ल्याइने

चीनसँग तीन लेभलको गरी २ लाख पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई), पीसीआर टेस्ट किट एक लाख, भीटीएम एक लाख, एन९५ मास्क डेढ लाख थान, इन्फ्रा रेड थर्मोमिटर १० हजार थान माग्ने मन्त्रीस्तरिय निर्णय भएको छ । त्यस्तै ल्याबसहितको एम्बुलेन्स १० थान, मेडिकल सेवा उपलब्ध भएको मोबाइल एम्बुलेन्स ५ थान, अक्सिजन प्लान्ट ५ थान, सिआरआरटी मेसिन २० थान, सर्जिकल ग्लोब २ लाख थानसमेत माग्ने निर्णय भएको छ ।

त्यस्तै भारतसँग पीपीई तीनै लेभलका एक लाख ६० हजार थान, पीसीआर टेस्ट किट ५ लाख, भीटीएम १ लाख र ए९५ मास्क डेढ लाख माग गरेको छ । अन्य सामग्री पनि चीनसँग मागिएका जस्तै रहेका छन् । अधिकारीहरुका अनुसार स्वास्थ्य मन्त्रालयले आइतबार यो प्रस्ताव तयार पारी परराष्ट्र मन्त्रालयलाई बुझाइसकेको छ । परराष्ट्रले सम्बन्धित मुलुकसँग यसबारे छलफल तथा संयोजन सुरु गरिसकेको छ । परराष्ट्रले सम्बन्धित देशका दुतावासमार्फत पत्र बुझाएका छन् ।

चीन र भारत जुन देशले छिटो ती सामान दिन्छन्, त्यहीँबाट ल्याउने तयारीमा सरकार लागेको छ । डिसेम्बारबाट फैलिएको कोरोना भाइरससँग जुधेर चीन करिब बाहिरिइसकेको छ । अर्कातिर भारतमा कोरोना भाइरसको संकट चुलिँदै गएको छ । यो अवस्थामा जुन देशले छिटो सामान दिन्छन्, त्यहाँबाट जहाज चार्टर्ड गरेर ल्याउने तयारीमा सरकार लागेको हो ।

‘दुवै छिमेकीलाई पत्र लेखेका छौँ । यी सामान जुन देशले छिटो दिन्छन्, त्यहीँबाट तीन दिनभित्र ल्याउने गरी जुटेका छौँ’, स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘कोरोनाको जोखिम विश्वभर बढिरहेका बेला सबै पूर्वतयारी गर्नुपर्ने भएको छ । त्यसकै लागि मेडिकल सामग्री अभाव हुन नदिन यो निर्णय लिइएको हो ।’ चीनले यसअघि नै कोरोनाको सम्भावित जोखिमसँग जुध्न आवश्यक सहयोग सामग्री र स्वास्थ्यकर्मीसमेत उपलब्ध गराउन तयार रहेको जनाएको थियो ।

प्रतिक्रिया