रघुनाथलाई लोकप्रिय मत

काठमाडौं । राजधानीमा यसै साता सम्पन्न चलचित्र पत्रकार संघ नेपालको आठौँ केन्द्रीय महाधिवेशनमा पत्रकार रघुनाथ सापकोटा सचिव पदमा सर्वाधिक १ सय ५ मत प्राप्त गर्दै विजयी भएका छन् ।

लामो समयदेखि सेलिब्रेटी नेपाल डटकम नामक मनोरञ्जनसम्बन्धी अनलाइन पोर्टल सञ्चालन गरिरहेका पत्रकार सापकोटाले मतदाताबाट लोकप्रिय मत प्राप्त गरेका हुन् । सचिवका प्रत्यासी राम खड्का (आकाश) ले ३१ मत प्राप्त गरे । कुल १ सय ३८ मत खसेकोमा सापकोटाले १ सय ५ मत प्राप्त गरेका थिए ।

चलचित्र पत्रकारितामा सक्रिय रघुले आफूलाई मतदाताले दिएको विश्वासिलो मतलाई खेर जान नदिने बताए । ‘मतदाताले ममा जुन विश्वासका साथ मत दिनुभएको छ । त्यो विश्वासलाई म टुट्न दिन्नँ । खास गरी नयाँ र अग्रज पत्रकारको हकहितका लागि प्रतिबद्ध रहनेछु,’ उनले भने ।

निर्वाचनमा अध्यक्ष पदमा दिनेश सिटौला ७० मत ल्याउँदै निर्वाचित भए । उनका प्रतिद्वन्द्वी डब्बु क्षेत्रीले ३९, गीता अधिकारी र अनिल यादवले समान १४ मत प्राप्त गरेका थिए । यस्तै, उपाध्यक्षमा ७४ मतका साथ जीवन पराजुली निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी कुवेर गिरीले ६३ मत प्राप्त गरे । संघको संगठन उपाध्यक्षमा कुवेर डंगोल र महिला उपाध्यक्षमा दीपज्योति थापा निर्विरोध निर्वाचित भए । संघको महासचिवमा ८८ मतका साथ समिर बलामी निर्वाचित हुँदा उनका प्रत्याशी वैकुण्ठराज पराजुलीले ५० मत पाए ।

समावेशी सचिव र कोषाध्यक्षमा क्रमशः विशाल राई प्रदीप कार्की निर्विरोध भए । संघको सह–कोषाध्यक्षमा विनोद पोखरेल निर्वाचित भए । ७२ मतका साथ पोखरेल निर्वाचित हुँदा उनका प्रत्यासी लेखबहादुर आचार्य (कुमार) ले ६० मत प्राप्त गरे ।

यसैगरी, संघको कार्यसमितिमा नविन गिरी १०५ मत, अञ्जान दाहाल (मनिष) ८२ मत, मिलन ढुंगाना ७६ मत, गोपिकृष्ण चापागाईं ७५ मत, गणेश वली ६९ मत र सृष्टि पोख्रेल ६६ मतका साथ निर्वाचित भएका थिए । महिला सदस्यमा सुरक्षा भट्टराई र समावेशी सदस्यमा दीपक गुरूङ निर्विरोध भए ।

प्रतिक्रिया