कोरोनाबाट बेलायतमा नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) बाट बेलायतमा एकजना नेपालीको मृत्यु भएको छ । कोरोना भाइरसको महामारीबाट बेलायतमा पूर्वगोरखा सैनिकको मृत्यु भएको हो ।

संखुवासभाको खाँदबारी नगरपालिका–१० स्थायी घर भई हाल लन्डनको साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मंगलबार मृत्यु भएको पुष्टि भएको छ । मधुमेह र उच्च रक्तचापबाट पीडित उनको दुई वर्ष अघि मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

केही दिन अघि मात्र अस्पतालबाट फर्किएका राई मंगलबार अपराह्न चार बजेतिर अचानक सिकिस्त भएका थिए । त्यसपछि छोरा विकास र बुहारी रश्नाले अस्पताल पु¥याएका उनलाई चिकित्सकहरूले साँझ आठ बजे मृत घोषणा गरेका थिए । मृत्युको कारण कोभिड(१९ भएको जानकारी भने अस्पतालले शुक्रबार मात्र गराएको थियो ।

राईको निधनको तीन दिनपछि मात्रै अस्पतालले उनमा कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका थिए । कोरोना भाइरस संक्रमण भएको रिपोर्ट आउन २४ घण्टादेखि ४८ घण्टासम्म लाग्न सक्छ । संखुवासभाबाट बसाइँ सरेर सुनसरीको इटहरी उपमहानगरपालिकामा पनि बसोबास गरिरहेका उनी सन् २००८ मा बेलायत गएका थिए ।

आर्मी नम्बर २११६०५८१ का राई सेकेन्ड गोरखा राइफल्समा १७ वर्षसम्म कार्यरत थिए । राई बेलायतमा श्रीमती र छोराबुहारीसहित बस्दै आएका थिए । कोरोना संक्रमित भएर निधन भएपछि अहिले उनको परिवारलाई नै ‘आइसोलेसन’ मा राखेर निगरानी गरिएको छ । परिवार नै आइसोलेसनमा रहेकाले आफन्तहरूलाई भेट्न दिइएको छैन ।

बेलायतको नर्थ वीकमा ६ जनाको मृत्यु लन्डनस्थित नर्थ वीक अस्पतालमा उपचारका क्रममा ६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । जसमा एकजना पूर्वगोरखा सैनिक राई पनि हुन् । अस्पतालका अनुसार गम्भीर अवस्थामा ती ६ जनाको उपचारका क्रममा मृत्यु भएको हो । ती ६ जना बिरामीको मृत्युको पुष्टि अस्पतालले शुक्रबार गरेको हो ।

यो अस्पताललाई लन्डन नर्थ वेस्ट युनिभर्सिटी हेल्थ केयर ट्रस्टले सञ्चालन गरिरहेको छ । यो अस्पतालमा कोरोनाका बिरामी थपिँदै गएका छन् । कोरोनाका थप बिरामीको उपचारका लागि क्षमताले धान्न नसक्ने अस्पतालले शुक्रबारै जनाइसकेको छ ।

प्रतिक्रिया