अस्पतालमा फिबर क्लिनिक चलाउन निर्देशन

काठमाडौं । सरकारले अस्पतालमा अत्यावश्यक बाहेकका सेवाहरू नगर्न निर्देशन दिएको छ । तत्काल नगरी नहुने भनेर ठम्याइएका बाहेकका अपरेसनहरू चैत मसान्तसम्म नगर्न अस्पतालहरूलाई निर्देशन दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणसँग जुध्नका लागि अस्पतालहरूलाई शुक्रबार निर्देशन दिँदै राजधानीका ५० श्ययाभन्दा बढी क्षमता भएका अस्पतालहरूलाई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण पनि चैत मसान्तसम्म स्थगित गर्न निर्देशन दिएको स्वास्थ्य मन्त्रालयको आपतकालीन तथा विपद् व्यवस्थापन एकाई प्रमुख सागर दाहालले बताए । मन्त्रालयले १५ बुँदे निर्देशन जारी गर्दै सो निर्देशन दिएको हो ।

मन्त्रालयले कोभिड १९ को उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू घर जाँदा उनीहरूको परिवारमा रहेका वृद्धवृद्धा र बालबालिकामा जोखिम बढी हुने हुँदा उनीहरूले चाहे अस्पतालले छुट्टै आवास उपलब्ध गराउनु पर्ने पनि निर्देशन दिएको छ । यस्तै मन्त्रालयले कोभिड १९ को नमूना परीक्षण गर्न योग्य ठहरिएका वीर, धुलिखेल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई तत्काल परीक्षण सुरु गर्न पनि निर्देशन दिएको छ । यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सहजीकरण गर्न पनि निर्देशन दिइएको छ ।

यस्तै मन्त्रालयले समुदायमा कोभिड १९ कोफैलावटको अवस्था पत्ता लगाउनलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाई कम्तिमा २० हजार नमूना परीक्षणका लागि तयार अवस्थामा राख्ने पनि निर्णय गरेको छ । मन्त्रालयले अस्पताललाई अनिवार्य रूपमा ज्वरो (फिबर) क्लिनिक सञ्चालन गर्न निर्देशन दिएको छ । फिबर क्लिनिक चलाउँदा अन्य बिरामीसँग सम्पर्क नहुने र भीडभाड कम हुने भएकाले छुट्टै क्लिनिक चलाउन भनिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले क्लिनिकमा आएका मानिसमा ज्वरो देखिए उनीहरूलाई तुरुन्त आइसोलेसनमा राखि कोरोना परीक्षणका लागि नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन पनि निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने,‘ज्वरोको बिरामीलाई प्रयोगशाला होइन, परीक्षणका लागि नमुना पठाउने हो । बिरामीलाई भने आइसोलेसन राख्न निर्देशन दिइएको छ ।’

मन्त्रालयले नियमित फलोअपका लागि अस्पताल आउने बिरामी वा यो महिना फलोअपको समय पाएका बिरामी जो तत्काल नआएमा समस्या हुँदैन उनीहरूलाई पनि सकेसम्म केही समयपछि मात्र अस्पताल आउन अनुरोध गरेको छ । औषधि गराइरहेका बिरामी संक्रमण उच्च जोखिममा हुन्छन् । उनीहरू अस्पताल आउँदा भीडभाड बढ्ने भएकाले यस्तो अनुरोध गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अस्पतालले नियमित ओपिडि पछि सञ्चलन गर्दै आएको पेइङ ओपिडी बन्द गर्न, नियमित होलबडी चेकअप रोक्न पनि अस्पताल, स्वास्थ्य संस्था र सर्वसाधारणलाई सुचित गराएको छ । त्यसैगरी, बाहिरी देशबाट आएका नागरिकलाई अनिवार्य रूपमा १४ दिन घरमा क्वारेन्टाइन बस्न पनि अनुरोध गरेको छ । प्रवक्ता देवकोटाले भने,‘बाहिरी देशबाट आएको व्यक्तिले घरमा १४ क्वारेन्टाइन बस्नुपर्छ । उसलाई संक्रमण भएको भए अन्यमा फैलन नपाउओस भने त्यसो गर्नु उसको जिम्मेवारी हो । त्यसो नगरी बाहिर निस्कनु भनेको अपराध जस्तै हो ।’

प्रतिक्रिया