कोम्यानका लागि बार्सिलोनाले एक वर्ष कुर्नुपर्ने

एजेन्सी, लन्डन । क्याटलान क्लब बार्सिलोनाले प्रशिक्षक रोनाल्ड कोम्यानलाई क्लबमा अनुबन्ध गर्न अझै एक वर्ष कुर्नुपर्ने भएको छ । नेदरल्यान्ड्सको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक रहेका कोम्यान युरो कप सकिएलगत्तै बार्सिलोना आउने तयारी रहेको थियो । बार्सिलोनाले यसअघि टोलीको प्रशिक्षकका रूपमा रहेका एर्नेस्टो भालभेर्डेको सम्झौता सकिएपछि कोम्यानलाई प्रशिक्षकको रूपमा भित्र्याउने तयारी गरेको थियो । कोम्यान र बार्सिलोनाबीच पटक पटक यस विषयमा छलफल पनि भएको थियो । नेदरल्यान्ड्सको फुटबल संघले पनि युरो सकिएपश्चात कोम्यानलाई बार्सिलोना जान दिने बताएको थियो । कोम्यानले आफ्नो खेलाडी जीवनको स्वर्णकाल बार्सिलोनामा बिताउँदै थुप्रै सफलता हासिल गरेका थिए ।

विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसका कारण सन् २०२० को युरो एक वर्ष पछि सरेसँगै कोम्यानले पनि आफू एक वर्ष अझै कुर्नपर्ने भएको बताएका छन् । त्यसो त बार्सिलोनाले पनि भालभेर्डेलाई बर्खास्त गर्दै सिजनको बिचमा नै किके सेटिनलाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ । जनवरीमा मात्र क्लबमा आबद्ध भएका सेटिनको प्रशिक्षणमा टोलीको औसत प्रदर्शन रहँदै आएको छ ।

कोम्यानले आफ्नो बार्सिलोनासँगको सम्बन्ध सुमधुर रहेको र युरोपछि मात्र टोलीमा जान सक्ने बताए । ‘ मेरो सम्झौताअनुसार युरोपछि मात्र बार्सिलोना जान पाउने प्रावधान रहेको छ । कुनै मिति उल्लेख गरिएको छैन । त्यसैले अब युरो सकिएपछि मात्र त्यसतर्फ सोच्नेछु । हाललाई मेरो ध्यान त्यसतर्फ खासै छैन पनि,’ कोम्यानले स्पेनिस सञ्चारमध्यम मार्सालाई बताए ।

युरो एक वर्षलाई स्थगित भएसँगै नेदरल्यान्ड्सलाई भने संयोगवश एक खुसीको खबर आएको छ । टोलीका मुख्य खेलाडीमध्यका विंगर मेम्फिस डीपाएले चोटका कारण यसवर्ष हुने युरो गुमाउने पक्का भएको थियो । तर, प्रतियोगिता अर्को वर्षका लागि सरेसँगै उनी उपलब्ध हुनेछन् ।

प्रतिक्रिया