महांकाल पालिकाका असल अभ्यासहरू

सरकारले २०७३ फागुन २२ गते ललितपुर जिल्लामा महांकाल गाउँपालिका कायम भएको हो । पालिकाको तेस्रो स्थापना दिवसमा प्रमुख अतिथि भै यस पंक्तिकार गोटीखेलमा पुग्दा हासिल भएका सूचनाका आधारमा उक्त पालिकाका असल अभ्यासहरू अन्य पालिकाका लागि अनुकरणयोग्य हुने ठानेको छु ।

साबिकको बुखेल, मानिखेल, गोटीखेल, कालेश्वर, चन्दनपुर र ठुलादुर्लुङ्ग गाउँपालिका एकीकृत भै महांकाल गाउँपालिका बनेको हो । पालिकाभित्र ६ ओटा छन्, जो साविकका एउटा एउटा गाउँपालिका थिए । नेपालकै धार्मिक पर्यटकीय एवं ऐतिहासिकरूपमा बैतरणी धामको काखमा पालिकाको मुख्यालय छ । कालेश्वर एवं महांकालको संरक्षण र टुंगुन नदीको किनारामा प्राकृतिकरूपमा मनोरम पालिकाको नेतृत्व राजनैतिक सुझबुझ भएका रामचन्द्र दाहालले गर्नु भएको छ । पालिकाका अध्यक्ष दाहाल आफ्नो नेतृत्व अवधिमा पालिकाले थुप्रै असल अभ्यास गरेको तर उचित प्रचार प्रसार गर्न नसकिएको गुनासो गर्नुहुन्छ ।

यथार्थमा पालिकाका अध्यक्ष दाहालको भनाई अनुसार महांकाल गाउँपालिका राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभाग मार्फत गाउँपालिकामा हालसम्म भएका व्यक्तिगत घटना दर्ता जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्धविच्छेदलाई डिजिटाइज्ड गरिएको र नेपालको सम्पूर्ण व्यक्तिगत घटना दर्ता विवरण डिजिटल भएको पहिलो गाउँपालिका घोषणाको संघारमा छ ।

‘महांकालको प्रतिबद्धताः सुशासन, समृद्ध हाम्रो गाउँपालिका’ भन्ने मूल नाराका साथ अघि बढेको पालिकाले थुप्रै उपलब्धी हात पारेको देखिन्छ । पालिकाले विद्यालयहरूमा नेटवर्किङ्ग र विद्युतीय हाजिरी जडान गरेको छ । यो प्रक्रिया अन्य आधारभूत विद्यालयमा पनि अघि बढाईएको छ । पालिकामा २१ ओटा आधारभूत विद्यालय, ७ ओटा माध्यमिक विद्यालय र एउटा क्याम्पस रहेको छ । शिक्षा नै नागरिक सशक्तिकरणको ज्योति हो भन्ने भावना बोकी पालिका शिक्षा क्षेत्रको गुणस्तर सुधारमा जुटेको छ ।

गाउँपालिकाबाट आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन गरिएको छ । विद्यार्थीलाई विद्यालय छाड्ने प्रबृत्ति अन्त्य गर्न यस पालिकाले बाल पोषण कार्यक्रम सञ्चालन गरेको छ । यसैगरी यस पालिकाले इसिडीका बालबालिकालाई शैक्षिक सामाग्री उपलब्ध गराएको छ । विद्यालयका छात्राहरूलाई स्यानिटरी प्याड वितरण गरेको छ । गाउँ शिक्षा योजना निर्माणका लागि गठीत कार्यदल सक्रिय रहेको छ ।

काठमाडौं उपत्यकाभित्र रहेका ३ ओटा जिल्लामध्ये ललितपुरमा पर्ने महांकाल पालिका झट्ट विचार गर्दा निकै सुगम होलाजस्तो बुझिन्छ । तर, यथार्थमा ललितपुर शहरबाट पालिकाको मुख्यालय पुग्न मोटर बाटोबाट करिब ३ देखि ४ घण्टा समय लाग्छ । एक पटक कालोपत्रे गरिएको सडक उप्किएर जिर्ण छ पुनः मर्मत गर्न सकिएको छैन । हाल पालिकाको पहलमा मध्यमार्गी जोड्ने सडक निर्माण भएपछि सडक मार्ग केही छोट्टिएको छ

महांकाल गाउँपालिका पालिकाबासीको स्वास्थ्य सेवालाई चुस्त र दुरूस्त तुल्याउन विशेष क्रियाशील रहेको पाईन्छ । पालिकाले आँखा शिविर सञ्चालन गरी मोतीबिन्दु अपरेसन सम्पन्न गरेको छ । यस्तै स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहित गर्न अग्रसर रहेको छ । आम नागरिकको हितमा एम्बुलेन्स सेवा सञ्चालन गरेको र पूर्ण खोप, पूर्ण साक्षर र खुल्ला दिशामुक्त क्षेत्र घोषणा भैसकेको पालिका हो यो । यस्को पूर्ण प्रत्याभूतिका लागि पालिका प्रतिबद्ध देखिएको छ । आफूसँग भएका स्वास्थ्य संस्थामा ल्याब स्थापना गर्दैछ ।

यस्ले सुत्केरी पोषण भत्ता बापत एक हजार रूपैयाँ वितरण गर्ने घोषणा गरेको छ । पालिका निरन्तररूपमा स्वास्थ्य शिविर सञ्चालन गर्न र योगा प्रशिक्षणमार्फत स्वस्थ नागरिक उत्पादन गर्न पनि लागीपरेको छ । मानिखेलमा रहेको स्वास्थ्य चौकीलाई अस्पतालमा रूपान्तरण गर्न पालिका सक्रिय छ । यस्का निमित्त भवन निर्माण गर्नु र जनशक्ति जुटाउनु पालिकाका लागि चुनौतिपूर्ण छ । हाल यस पालिकामा ६ ओटा स्वास्थ्य चौकी रहेका छन् ।

नेपाल कृषि प्रधान देश हो । महांकाल गाउँपालिका पनि पूर्णतः कृषि र पशुपालनमा आबद्ध छ । यस पालिकाले कृषि उत्पादन वृद्धि गर्न किसानलाई बिउ बिजन वितरण गरेको छ । यसैगरी, किसानलाई प्लाष्टिक पोखरी निर्माणमा सघाएको छ । खोरेत रोगको महामारी नियन्त्रण गरेको छ र ६९५ वटा गाई भैँसीको कृत्रिम गर्भाधान गरेको छ भने गोबर परीक्षण, मेडिकल उपचार, आकष्मिक उपचार, खोरेत रोग उपचार, खोरेतको खोप, गाईनोलोजिकल उपचार, इपिडिमियोलोजिकल रिपोर्टिङ्ग, वाह्य तथा आन्तरिक परजीबी नियन्त्रण र पिपिआर गरी कुल ९ हजारका संख्या हाराहारीमा पशुलाई सेवा प्रदान गरेको छ ।

यस्तै निर्वाहमुखी कृषिलाई यान्त्रिकीकरणको माध्यमद्वारा व्यवसायिक कृषिमा रूपान्तरिक गर्न दृढ छ । उन्नत जातको पशुपालनका लागि प्रोत्साहित गर्ने नीति लिएको छ । अग्र्यानिक तरकारी खेतीमा जोड दिएको छ । माछा पालन, बाख्रापालन, च्याउखेती, चिया र कफी खेतीमा पालिका अग्रसर छ । साथै फलफूल, अदुवा, अम्रिसोको उत्पादनमा बढावा दिईएको छ । पालिका प्राङ्गारिक मल उत्पादन र जैविक विषादी उत्पादनमा पनि अग्रसर छ । यी असल अभ्यासहरू मुलुकका अन्य पालिकाहरूका लागि अनुशरणयोग्य छन् ।

काठमाडौं उपत्यकाभित्र रहेका ३ ओटा जिल्लामध्ये ललितपुरमा पर्ने महांकाल पालिका झट्ट विचार गर्दा निकै सुगम होलाजस्तो बुझिन्छ । तर, यथार्थमा ललितपुर शहरबाट पालिकाको मुख्यालय पुग्न मोटर बाटोबाट करिब ३ देखि ४ घण्टा समय लाग्छ । एक पटक कालोपत्रे गरिएको सडक उप्किएर जिर्ण छ पुनः मर्मत गर्न सकिएको छैन । हाल पालिकाको पहलमा मध्यमार्गी जोड्ने सडक निर्माण भएपछि सडक मार्ग केही छोट्टिएको छ ।

यो पालिका कच्ची सडकको गुणस्तर सुधारमा जुटेको छ । अधुरा सडकलाई पूरा गर्ने ध्येय लिइएको छ । पालिकाले सबै ६ ओटा वडालाई जोड्ने चक्रपथ निर्माणको काम आरम्भ गरको छ । साथै सबै टोलमा मोटर बाटो पु¥याउने पालिकाको नीतिमा ८० प्रतिशत प्रगति हासिल भएको छ । यसैगरी पालिकाले लिएको एक घर एक धाराको नीतिमा ७५ प्रतिशत घरमा खानेपानीको सेवा पुगेको छ । पर्यटन प्रबद्र्धन तर्फ पालिकाको सहयोगमा कतवनस्थित बौद्ध संरक्षण भवन निर्माण भएको छ । वैतरर्णीधाममा शिवपुराण महायज्ञ सम्पन्न गरिएको छ ।

पिकनिक स्पट, चिया तथा कफी बगान, भ्यू प्वाइन्ट, चौर तथा चौतारा, अग्ला डाँडा तथा भन्ज्याङ्गहरू निकै मनोरमरूपमा रहेका छन् । यहाँ मनकामना मन्दिर, कालेश्वर मन्दिर, वैतरर्णी धाम, भैरवगुफा, महांकाल स्थान, छोरतन, तामाङ लोकतोङ गुम्बा, स्तुपा लगायतका धार्मिक पर्यटकीय स्थलहरू छन् । विशेषगरी पालिकाभित्र रहेका विमिरे चौर, खोर भन्ज्याङ्ग, बुर्जा डाँडा, गढी भन्ज्याङ्ग, भैरवथुम डाँडा निकै मनमोहक छन् । जस्को कारण यस पालिकामा पर्यटन प्रबद्र्धनको प्रशस्त संभावना रहेको प्रष्टै छ ।

गाउँपालिकाले स्थानीय जनताको सन्तुष्टी सम्बोधन गर्न न्याय, सुशासन, समानता र पहुँचको सुनिश्चित गर्ने ध्येय लिएको उपाध्यक्ष कमला तामाङ्ग लामाले चालू आ. ब. २०७६÷७७ को बजेट वक्तव्यमा व्यक्त गर्नु भएको छ । उहाँले पालिकालाई अग्र्यानिक खेतीतर्फ उन्मुख, विषादीमुक्त गाउँपालिका घोषणा गर्ने उद्देश्य रहेको कुरा बताउनु भयो । यसैगरी उहाँ पालिकालाई हरित ग्रामीण शहरको रूपमा विकास गरिने, कुहिने र नकुहिने फोहोरको व्यवस्थापन हुने, पालिकालाई अपाङ्ग, लैङ्गिक र बालमैत्री ग्रामीण शहरमा रूपान्तरिक गरिने कुरामा प्रतिबद्ध हुनुहुन्छ ।

प्रस्तुत सन्दर्भमा पालिकाले महिलालाई आफ्नै खुट्टामा उभिन सक्षम तुल्याउन केक, बाँसका सामाग्री निर्माण र मखमलको जुत्ता तयार गर्ने तालीम दिएको छ । पालिकाले विपतमा परेका स्थानीयलाई सघाउँदै आएको छ । यस्ले आफ्नो गाउँ पाश्र्वचित्र तयार गरेको छ भने गाउँपालिकाको गुरूयोजना निर्माण गर्दैछ । पालिकाले एनफो र अक्स्फामको सहयोगमा खानेपानी योजना सञ्चालन गरेको छ भने पालिका कार्यालय परिसरमा सिसी क्यामरा जडान गर्ने र डिजिटल बोर्ड राख्ने काम गरेको छ । साथै विद्युतीय हाजिरी समेत जडान गरेको छ ।

पालिकाले सरकारी संस्थाबीच हाजिरी जवाफ प्रतियोगिता गराएको छ । महिलालाई कानूनी साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । एक प्रकारको सूचनामूलक ‘महांकाल डायरी’ मुद्रण गरेको छ । पालिकाले सबै वडा कार्यालयमा सूचना पाटी, नागरिक बडापत्र र सुझाव पेटीकाको व्यवस्था गरेको छ । सुशासनकै माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य प्राप्तिमा अग्रसर छ पालिका ।

गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणमा जनसहभागिता जुटाउन उपभोक्ता समूहलाई क्रियाशील गर्ने नीति अबलम्बन गरेको छ । सबै बस्ती र टोलमा सडक पु¥याउने नीति अन्तर्गत आवश्यक स्थानमा पूल निर्माण गर्नेछ । कृषि उत्पादनलाई बजारसम्म पु¥याउन कृषि सडकको निर्माण गर्नेछ । खेतीयोग्य जमिनमा सिँचाईको प्रबन्ध गर्नेछ । साथै ज्येष्ठ नागरिक मैत्री पार्क निर्माण गर्ने, एक वडा एक सामुदायिक भवन निर्माण गर्ने लगायतका कार्यमा बजेट विनियोजन सहित अघि बढेको छ ।

चालू आ. ब. का लागि २९ करोड ६५ लाख १२ हजार रूपैयाँ बजेट जारी गरेको पालिकाको आन्तरिक राजश्व असुलीको लक्ष्य भने केबल ३७ लाख रहेको छ, जुन निकै न्यून देखिन्छ । यस सन्दर्भमा पालिकाले समतामूलक, प्रगतिशील र न्यायपूर्ण कर प्रणाली लागू गरी राजश्व वृद्धि गर्ने लक्ष्य लिएको छ । यस पालिकाभित्र व्यवसाय कर र बहाल कर असुलीका दायरा वृद्धि गर्न सकिने संभावना देखिन्छ ।

कृषि उत्पादनमा आधारित संकलन केन्द्र, प्रशोधन कारखाना, ग्रेडिङ्ग र प्याकेजिङ्ग उद्योग स्थापनामा प्रोत्साहन गरी राजश्व स्रोत वृद्धि गर्न सकिन्छ । यसैगरी, स्वरोजगारका स्किमहरू लागू गरी नागरिकलाई राजश्वको दायरामा ल्याउन सकिन्छ । यी कुरामा पालिकाले अतिरिक्त मिहेनत गर्नुपर्छ । पालिकाले प्रत्येक वर्ष उत्कृष्ट करदाता पहिचान गरी सम्मान गर्ने लक्ष्य लिएको छ ।

सुशासन अभिवृद्धि र संगठन विकासमा पालिका अग्रस्थानमा छ । १४ सदस्यीय गाउँपालिका र ३४ सदस्यीय गाउँसभा भएको पालिकाको हालसम्म ७३ ओटा बैठक बसेका छन् । यसैगरी ५ ओटा गाउँसभा भएका छन् । एउटा विशेष गाउँसभा समेत बसेको छ । यस पालिकाले सहकारी बजार, विपद व्यवस्थापन, शिक्षा, आर्थिक कार्यविधि, बैठक सञ्चालन, प्रशासकीय कार्यविधि, सहकारी, व्यवसायी इजाजपत्र, उपभोक्ता समिति गठन, आर्थिक ऐन, आयोजना व्यवस्थापन, कर्मचारी व्यवस्थापन, कृषि, आमा सुरक्षा र अपांग परिचय विवरण समेत गरी १५ ओटा ऐन, नियम, कार्यविधि र निर्देशिका जारी गरेको छ । अन्य पालिकासँग तुलना गर्दा अझै थप कार्यविधि र निर्देशिका जारी हुनुपर्ने अनुभूत हुन्छ । पालिका श्रव्य दृष्यसहितको नागरिक बडापत्र जारी गर्ने क्रममा छ । यस्ले पारदर्शिता र सुशासनलाई जोड दिँदै दण्ड र पुरस्कारको नीतिलाई वैज्ञानिक तुल्याउँदै छ ।

पालिकाले विद्यालय र स्वास्थ्य चौकीहरूमा विद्युतीय हाजिरी जडान गर्दै छ । यसैगरी, विद्युतीय बोलकबोल प्रणालीमा जाने, सामाजिक परीक्षण गर्ने, सार्वजनिक सुनुवाई गर्ने र सार्वजनिक परीक्षणलाई अनिवार्य तुल्याउने पालिकाको ध्येय छ । सबै वडा कार्यालयमा सिसीटिभी जडान गर्ने र डिजिटल डिस्प्ले स्थापनामा अघि बढेको छ ।

पालिकाभित्र बालमैत्री एवं किशोर किशोरी मैत्री सूचना केन्द्र स्थापना गरिनेछ । जेष्ठनागरिकको मासिक भत्ता बैंकमार्फत प्रदान गरिने र कर्मचारीलाई आवास सुविधा प्रदान गरिनेछ । एकीकृत घुम्ती सेवा सञ्चालन गरिने र प्रत्येक वडामा सार्वजनिक सुनुवाई गरिनेछ । लैङ्गिक हिंसा, बाल विवाह, बहु विवाह, मानव बेच बिखन र जबरजस्ती चन्दा असुलीलाई नियन्त्रण गर्ने पालिकाको प्रतिबद्धता छ । यी लक्ष्यहरूलाई नियाल्दा पालिका केही गरौँ भन्ने जोश र उमंगका साथ अघि बढेको देखिन्छ ।

पालिकाले कार्यदल गठन गरी शिक्षाको दरबन्दी मिलान र प्रधानाध्यापकको व्यवस्थापन गरेको छ । विद्यालयको परीक्षा तथा मूल्याकंन प्रणाली गाउँपालिका मार्फत सञ्चालन गरिएको छ । पालिकाले इसिडीका सहयोगी कार्यकर्ताहरूलाई प्रोत्साहित गरेको छ । विद्यालयहरूमा विद्युतीय हाजिरी र निःशुल्क वाईफाई सेवा प्रदान गरेको छ । यसैगरी स्वास्थ्य चौकी र खोप केन्द्रको समुचित व्यवस्थापन गरेको छ । स्वास्थ्य सेवालाई सहज तुल्याउन उपाध्यक्षको संयोजकत्वमा कार्यदल गठन गरेको छ । सबै स्वास्थ्य चौकीले औषधिको अभावको महसुस गरेका छैनन् । मानिखेल स्वास्थ्य चौकीलाई १५ शैय्याको अस्पतालमा स्तरोन्नति गर्न पहल गरेको छ । ४ ओटा स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर सञ्चालन भैरहेको छ ।

व्यवसायिक कृषिका लागि किसानलाई उत्प्रेरित गर्न उन्नत जातका बिउ बिरूवा, तरकारी र फलफूलका बेर्ना वितरण गरेको छ भने पशु स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सहकारी संस्थाको अनुगमनको कार्य आरम्भ गरेको छ । अनलाईन पंजीकरणलाई अघि बढाएको छ । पालिका न्यायिक कार्यसम्पादनलाई प्रभावकारी तुल्याउन छिट्टै इजलास खडा गर्न प्रतिबद्ध छ । पालिकाले उत्कृष्ट काम गर्ने कर्मचारी, उपभोक्ता समिति र टोल विकास संस्थालाई पुरस्कृत गर्ने कामको थालनी गरेको छ ।

पालिका खानेपानीको मुहान संरक्षणमा जुटेको छ । हरेक विकास निर्माणको काममा महिलाको सहभागिता सुनिश्चित गर्नु पर्ने पक्षमा छ । यसैगरी ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्ने पालिकाको ध्येय छ । जातिय विभेद पूर्णरूपमा अन्त्य गर्ने र कला, धर्म एवं संस्कृतिको प्रबद्र्धनमा पालिका कटिबद्ध छ । यसैगरी बाल बिबाहमुक्त प्रदेशको लक्ष्यलाई सफल तुल्याउन कम्मर कसेर लागेको छ । युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न स्वरोजगार कार्यक्रम सञ्चालन गर्दैछ । एक सहकारी एक नमूना उत्पादन पालिकाले लिएको अर्को लक्ष्य हो ।

एक नेपाली एक फलफूलको विरूवा रोपण राष्ट्रिय अभियानलाई पनि सफल तुल्याउन क्रियाशील छ । वातावरण र विपद् व्यवस्थापनमा पालिका सक्रिय छ । पालिकामा दुर्लुङ खोला, ठोस्ने खोला, टुगुन खोला, मसान खोला, बागमती नदी, खैरे खोला र देउता खोला रहेका छन् । यी खोलामा आउने बाढीले निकै नोक्सानी गरेकाले तटबन्ध र जलविद्युत उत्पादन गर्न पालिका अग्रसर हुनुपर्ने देखिन्छ । पालिकामा धान, गहुँ, मकै, जौ, तोरी, आलु, केराउ, चना, भटमास उत्पादन हुन्छ । दूध उत्पादनमा पालिका निकै चर्चित छ । च्याउ उत्पादन र ट्राउट माछा उत्पादनमा अग्रपंक्तिमाछ । दशैँ, तिहार, होली, कृष्णजन्माष्टमी, बुद्धजयन्ती, क्रिशमस आदि पर्व मनाईन्छ यहाँ । ब्राह्मण, तामाङ्ग र क्षेत्रीको मुख्य बसोबास रहेको यहाँ विशेषगरी हिन्दू, बौद्ध, इसाई धर्म मान्नेहरूको बाहुल्यता छ ।

पालिकामा ११,९०० जनसंख्या छ । ६००९ पुरूष र ५८९१ महिलाको संख्या छ, भने २३०५ घरधुरी छ । जस्मा ६८१ घरधुरीमा कुनै एक सदस्य नोकरीमा, १३८० घरधुरीका एक सदस्य स्वरोजगारमा, ३९८ घरधुरीका सबै सदस्य बेरोजगार र अन्य घरधुरीका सदस्यहरू वैदेशिक रोजगार र निजी पेशामा संलग्न छन् । मूलकुरो, यहाँ पनि गाउँ छाड्ने प्रबृत्ति बढ्दो छ । स्थानीय युवाहरू मलेशिया, गल्फ मुलुक, भारत, अमेरिका, कोरिया, जापान, अष्ट्रेलिया पुगेका छन्

। इन्धनको रूपमा दाउराको खपत अत्याधिक छ यसबाट वन विनाश हुने भएको खाना पकाउने ग्याँसको उपयोगमा जोड दिनुपर्ने देखिन्छ । पालिकाले गरेको एक सर्भेका अनुसार यहाँ कृषिबाट बार्षिक आम्दानी ९ करोड १८ लाखको हुने गरेको छ । यसबाट औषत घरधुरीको आम्दानी ३९,८२२ रूपैयाँ पर्न आउँछ । यसलाई वृद्धि नगरी गरिबी निवारण गर्न सकिदैन । यहाँ दर्ता भएका ७९ ओटा सहकारी संस्थालाई आर्थिक उत्पादन वृद्धिमा संलग्न गराउनु पर्छ ।

पालिकाभित्र उद्योग वाणिज्य संघ दर्ता गर्नुपर्छ । अबको मुख्य एजेन्डा भनेकै सुखी नेपाली समृद्ध नेपाल भएकाले पालिका पनि आर्थिकरूपमा सम्पन्न हुने दिशामा अग्रसर हुनुपर्छ । यस्का लागि मानव संसाधनको विकासमा जोड दिनुपर्छ । हालसम्मको कार्यलाई नियाल्दा पालिका मुलुकमा रहेका ७५३ पालिका मध्ये असल अभ्यास गर्ने पहिलो समूहका पालिकाभित्र परेको देखिन्छ । पालिकाका जनप्रतिनिधि, कर्मचारी र आम पालिकावासीलाई थप सफलता मिलोस् यही शुभकामना छ ।

प्रतिक्रिया