बुद्ध जन्मभूमि नेपाल र पर्यटन

नन्दनप्रसाद सापकोटा

प्राकृतिक हिसाबले मात्र नभई नेपाल पुरातात्विक, ऐतिहासिक सांस्कृतिक तथा धार्मिक दृष्टिले विश्वकै एक प्रमुख पर्यटकीय गन्तव्यमा पर्दछ । नेपाललाई पर्यटन उद्योगको रूपमा स्थापित गराउन सकेमा यसले राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधार स्तम्भको रूप लिन सक्छ । विश्वलाई आकर्षित गर्नेमा विश्वकै अग्लो ठाउँ सगरमाथादेखि शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल मूख्य रहेका छन् । अझ २९ मे १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथाको सफल आरोहणपश्चात विश्वले नेपालले हेर्ने दृष्टिकोण नै परिवर्तन भयो र पर्यटकको गन्तव्यमा नेपाल पनि पर्न गयो ।

पर्यटकलाई नेपालप्रति आकर्षित र बसाइँ लम्ब्याउनका लागि विभिन्न उद्देश्य र लक्षका साथ नेपाल सरकारले बेलाबेलामा पर्यटन वर्षको घोषणा गर्दै आएको छ । यही क्रममा २०७४ साउन २९ गते सन् २०२० लाई पनि २० लाख पर्यटन भित्र्याउने लक्षका साथ सरकारले नेपाल भ्रमण वर्ष–२०२० मनाउने घोषणा गरेको थियो । त्यही घोषणा अनुरुप गत १ जनवरीबाट भ्रमण सुरु भएको छ र यसलाई सफल बनाउन सरकारले सबैलाई आग्रहसमेत गरेको छ । नेपाल भ्रमण वर्षको इतिहास हेर्दा सन् १९९८ मा पनि पाँच लाख पर्यटक भित्र्याउने उद्देश्यले नेपाल भ्रमण वर्ष मनाएको थियो । त्यसैगरी सन् २०११ मा १० लाख विदेशी पर्यटक ल्याउने गरी नेपाल पर्यटन वर्ष मनाएको थियो । त्यसैगरी सन् २०१२ मा लुम्बिनी भ्रमण वर्ष, सन् २०१३ मा कर्णाली पर्यटन वर्ष, सन् २०१४ लाई विदेह मिथिला र सहलेस पर्यटन वर्ष, सन् २०१५ लाई विराट मेची पहाडी पर्यटन वर्ष, सन् २०१६ लाई रेसुंगा पोखरा अन्नपूर्ण वर्ष, सन् २०१७ लाई सिम्रौनगढ पर्यटन वर्ष, सन् २०१८ लाई अरुण सगरमाथा पर्यटन वर्ष र सन् २०१९ लाई चिसापानी खप्तड पर्यटन वर्ष मनाइसकेको छ । यी सबै भ्रमण वर्षमा नेपाल सरकाले विभिन्न उद्देश्य र लक्ष लिएको थियो । सरकारले लिएका उद्देश्य र लक्ष यी भ्रमण वर्षमा कति सफल भए भएनन् त्यसको लोखाजोखा सरकारले गर्दै आएको छ ।

नेपाल भ्रमण वर्ष २०१८ मा पाँच लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष लिइएकोमा ४ लाख ६३ हजार ६ सय ८४ जना आँकडामा देखिएको थियो । प्रत्येक पर्यटकबाट यसबेलाको समयमा दैनिक ४९ डलर खर्च गराउने सरकारको उद्देश्य भए पनि पर्यटकले ४१ डलर मात्र खर्च गरेका थिए । त्यसैगरी सन् २०११ मा १० लाख पर्यटकको टार्गेट राखेको सरकारले ७ लाख ३६ हजार २ सय १५ जना मात्र नेपाल आए । २०१२ मा ८ लाख ३ हजार ९२ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरे । त्यसैगरी २०१५ मा ११ लाख पर्यटकको लक्ष लिएको सरकारले ५ लाख ३८ हजार ९ सय ७० मा मात्र चित्त बुझायो । पर्यटन कम आउनुमा यस वर्ष आएको भूकम्प र भारतले लगाएको अघोषित नाकाबन्दीलाई कारण देखाएर सरकार जोगियो । सन् २०१७ मा ९ लाख ४० हजार २ सय १८ जना पर्यटन नेपाल आएर यसभन्दा अगाडिका रेकर्ड सबै तोडिएको थियो । यो रेकर्ड तोडिनुमा नेपालमा भएका सुधार, राजनीतिक स्थायीत्व, विभिन्न देशसँग भएका हवाइसम्झौता मुख्य रूपमा रहेका छन् ।


नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ०७५ कात्तिक १५ मा प्रेस विज्ञप्ति निकाली नेपालमा पर्यटन पवद्र्धनका लागि नयाँ गन्तव्य पहिचान तथा विकास गर्नका लागि मन्त्रिस्तरीय बैठकले सय वटा नयाँ पर्यटकीय गन्तव्यको नाम सार्वजनिकसमेत गरिसकेको अवस्था छ । यसले सरकारले घोषण गरेको ‘भिजिट नेपाल २०२०’ लाई अझ टेवा पुग्ने देखिन्छ । तै पनि पर्यटकलाई आकर्षित गर्ने कतिपय गन्तव्यस्थलको कामले भने अभैm पूर्णता पाउन सकेको छैन ।

पर्यटन वर्षको सुरुआत हुनु अगाडि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको हेलीकोप्टर दुर्घटनामा मृत्यु हुनु, २०७२ सालमा आएको भूकम्पले भत्काएका पुरातात्विक भवनहरूको जीर्णाेद्वार हुन नसक्नु जस्ता कारणले भ्रमण वर्ष कम्ती चुनौतिपूर्ण भने छैन । नेपालमा सांस्कृतिक तथा ऐतिहासिक धरोहर मात्र नभई प्राकृतिक सौन्दर्य पनि भएकाले हाम्रा लागि खुसीको कुरा छ । यिनैलाई हामीसँगै भएका स्रोत र साधन परिचालन गर्ने हो भने हाम्रो उद्देश्य पूरा नहोला भन्न सकिन्न । विश्वको पर्यटन विकास दर ६ प्रतिशत हुँदा नेपालको २० प्रतिशतभन्दा बढी भएकाले हामी त्यति निराश हुनुपर्ने स्थिति देखिँदैन ।


पर्यटकलाई आकर्षित गर्नेमा साहसिक खेललाई पनि लिन सकिन्छ । विभिन्न समयमा सुनिँदै आएको एभरेष्ट म्याराथन र लुम्बिनी साइक्लिङले पनि यसलाई टेवा पुग्न सक्छ । त्यस्तै पर्यटकका आकर्षण पर्वतारोहण, ट्रेकिङ, हाइकिङ, राफ्टिङ, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, जिपलाइनलाई पनि आधार बनाउन सकिन्छ । अझ हिउँमा खेलिने स्केटिङलाई प्रभावकारी रूपमा ल्याउन सकेमा पर्यटक आपैmँ आकर्षित हुने देखिन्छ ।

पर्यटन वर्षको शुभारम्भमै चीनमा आएको कोरोना भाइरसको महामारीको असर नेपालमा पनि देखिएको छ । विश्व नै यसबाट तरंगित भएका बेला छिमेकी देश भएकाले नेपाल अछुतो रहने कुरै भएन । त्यसमाथि नेपालमा आउने पर्यटकहरूमा छिमेकी देश चीन र भारतका पर्यटकको हिस्सा बढी छ । त्यसमाथि यी देश भएर आउने पर्यटक पनि भएकाले असर बढी देखिएको हो । भाइरसको डरले नेपाल घुम्नका लागि गरिएका होटेलको बुकिङ क्यान्सिलले पनि पहिलो गाँसमै ढुंगा भएको छ ।

नेपालमा संख्यात्मक पर्यटकभन्दा पनि खर्च गर्न सक्ने खालका पर्यटक भित्र्याउने लक्ष लिनुपर्दछ । यति पर्यटक आए भनेर संख्यामा मात्र हेर्ने हो भने सोचेको उपलव्धि र उद्देश्य हासिल नहुन पनि सक्छ । पर्यटकको नाममा सुन तस्करी, एटिएम फोर र चोर, लागुऔषध तस्कर र मानव तस्करका रुपमा आउने पर्यटकलाई नेपाल सरकारले बेलैमा चिन्नु पर्दछ । यस्ता पर्यटकले देशलाई फाइदा हुनुको साटो घाटा हुने निश्चित छ । साँच्चिकै देश घुम्न आएका विदेशी पर्यटकको सहजताका लागि भौतिक पूर्वाधारदेखि पर्यटक मैत्री वातावरण र असल संस्कारको विकास हुनुपर्छ । जे भए पनि हाम्रो उद्देश्य २० लाख पर्यटक भित्र्याउनुमै रहेको प्रष्ट छ । विगतमा राखिएको जस्तै यसवर्ष राखिएको नारा ‘नेपाल ः लाइफटाइम एक्सपिरियन्स (जीवनकाल अनुभव)’ ले सबैको मन जितोस् सबैलाई शुभकामना ।

प्रतिक्रिया