अवधी कला कार्यशाला

कपिलवस्तु । अवधी लोककलाको संरक्षण, प्रवद्र्धन तथा संवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको छ । तौलिहवामा तीन दिनसम्म चलेको ‘अवधी कला प्रवद्र्धन कार्यक्रम’ को आयोजना शिवाता लभ फाउन्डेसनले गरेको थियो ।

विपी कोइराला भारत नेपाल फाउन्डेसन र भारतीय राजदूतावासको सहकार्यमा भएको उक्त कार्यक्रमको उद्घाटन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा फाउन्डेसनकी अध्यक्ष रागिनी उपाध्याय र भारतीय राजदूतावासका सांस्कृतिक सहचारी अभिशेक दुवेले संयुक्तरूपमा गरेका थिए । देश तथा विदेशका कलाकारमार्फत कार्यशाला चलाएर स्थानीय विद्यार्थीलाई उनीहरूको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको फाउन्डेसनले जनाएको छ ।

कार्यक्रममा फाउन्डेसनकी अध्यक्ष रागिनीले शिवाताले २० वर्षको कलिलो उमेरमा हामी सबैको बीचमा जुन प्रेम छोडिन् त्यसलाई पूरा गर्न फाउन्डेसनमार्फत काम गरिरहेको सुनाइन् । उनले शिवाताको असामयिक निधनको प्रसंग कोट्याउँदै भनिन्, ‘शिवाताको सपना पूरा गर्न फाउन्डेसनले देशका विभिन्न भूभागमा छरिएर रहेका युवतीहरूलाई छात्रवृत्तिमार्फत सहयोग गरिरहेको छ । मैले जब ती बच्चाहरूलाई जतिखेर हेर्छु । उनीहरू हाँसिरहेको देख्छु मलाई यस्तो लाग्छ शिवाता हाँसिरहेकी छन् । उनको सपना पूरा भइरहेको छ ।’

त्यस्तै, भारतीय राजदूतावासका सांस्कृतिक सहचारी अभिषेक दुवेले कला र संस्कृतिको प्रवद्र्धन गर्न फाउन्डेसनले गरेको काम निकै सराहनीय रहेको बताए । उनले भने, ‘म यहाँ तपाईंहरूको कार्यक्रममा आभार व्यक्त गर्न आएको हुँ । यस कार्यक्रम आयोजना गरेकोमा म शिवाता लभ फाउन्डेसनलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।’ उनले यस कार्यक्रमले जनस्तरमा रहेको भारत र नेपाल बीचको रोटी र बेटीको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाउने विचार व्यक्त गरे ।

फाउन्डेसन जस्तो संस्थाले गर्दा नै दुई देशको सम्बन्धलाई थप मजबुत बनाएको उनले जिकिर गरे । कार्यक्रममा भारतको अयोध्याबाट कामता प्रसाद सुन्दरलाल साकेत स्नात्तकोत्तर महाविद्यालयकी चित्रकला विभाग प्रमुख डा. कुमुद सिंह पनि प्रशिक्षकका रूपमा सहभागी थिइन् । कार्यक्रममा सहभागिता जनाउन पाउँदा निकै खुसी लागेको बताउँदै उनले भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने जोड दिइन् ।

कार्यक्रमको समापन समारोहमा भने पूर्वमन्त्री तथा भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्याय प्रमुख अतिथिको रूपमा सहभागी थिए । कार्यक्रममा उत्कृष्ट स्थानीय विद्यार्थीलाई पुरस्कार प्रदान गरिसकेपछि उपाध्यायले भने, ‘रागिनी जस्तो एउटा छोरीको दुर्घटना पर्दा उहाँले यसलाई रिकभर गर्नुहुन्छ कि हुन्न भन्ने चिन्ता लागेकोे थियो तर उहाँले त्यसलाई विस्तारै रिकभर गरेर आफूलाई अगाडि बढाउनुभयो । मलाई धेरै खुसी लागेको छ ।’ उनले सबै बालबालिकामा कुनै न कुनै प्रतिभा भएको बताउँदै यस्ता कार्यक्रमले उनीहरूलाई थप हौसला प्रदान गर्ने बताए ।

‘यो कार्यशालाको उद्देश्य यहाँका कलाकारहरूलाई अवधी कलाको बारेमा जागरुक गराउनु र आर्टको टेक्निकल भाषालाई सिकाउनु र लुकेका प्रतिभाहरूलाई अगाडि ल्याउनु नै हो,’ रागिनीले भनिन् । उनले अवधी कलाको तुलनामा मिथिला कला निकैमाथि पुगेको बताउँदै भविष्यमा अवधी कलाले पनि एउटा राम्रो स्थान बनाउने आशा व्यक्त गरिन् । उनले कार्यशालामा कलाकार तथा विद्यार्थीले बनाएका कलाकृतिलाई नारी दिवसको सन्दर्भ पारेर नेपाल कला परिषद्मा प्रदर्शनी गर्ने कार्यक्रम पनि रहेको जानकारी दिइन् ।

प्रतिक्रिया