बार्जुकोट दरबारमा गजल गुञ्जन

बाजुरा । कला तथा साहित्यमार्फत पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ गजल गुञ्जन गरिएको छ । बार्जुकोट दरबारमा करिब एक दर्जन स्रष्टाले आफ्ना रचना वाचन गरेको उक्त कार्यक्रमको आयोजना सुदूर साहित्य प्रतिष्ठान बाजुरा शाखा र बूढीगंगा नगरपालिकाले संयुक्तरूपमा गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख दीपकविक्रम शाहले ऐतिहासिक तथा पुरातात्विक महत्वका रूपमा रहेको बार्जुकोट दरबारलाई संग्रहालय बनाइने बताए । बूढीगंगा नगरपालिका–४ कोटमा अवस्थित भग्नावशेषका रूपमा रहेको उक्त दरबारलाई नगरपालिकाले संग्रहालय बनाउन लागेको हो । नगरप्रमुख शाहले नगरपालिका क्षेत्रको ऐतिहासिक तथा पुरातत्वका रूपमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन तथा संरक्षण गरिने बताए ।

गजल गुञ्जन कार्यक्रममा नगरप्रमुख शाहले दरबार क्षेत्रमा विभिन्न अलौकिक वस्तुको जगेर्ना गर्दै उक्त संग्रहालय बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे । नगर क्षेत्रभित्रका दशवटै वडामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको सम्भावनालाई प्रवद्र्धन तथा प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि संग्रहालयका रूपमा स्थापना गर्न जरुरी रहेको नगर प्रमुख शाहले बताए ।

उनले नगरपालिकाका बाजुकोट दरबार र कुँडीकोट दरबारलाई संग्रहालयका रूपमा स्थापित गर्दै ती क्षेत्रको प्रचारप्रसार गर्नुपर्ने जोड दिए । उनले भने, ‘पुरातात्विक सम्पदाका रूपमा दरबार रहेकाले संरक्षणको जिम्मेवारी नगरपालिकाको हो । यसको प्रवद्र्धन, संरक्षण तथा विकासका लागि नगरपालिकाले काम गर्ने लक्ष्य राखेको छ ।’ बार्जुकोट दरबार राज्यको भन्दा पनि कुनै एक व्यक्तिका नाममा रहेकाले सो क्षेत्रमा संरचना बनाउनका लागि व्यक्तिसँग अनुमति लिएर मात्र निर्माण गर्नुपर्ने बाध्यता छ । बाइसे चौबिसे राज्य हुँदा बार्जुकोट दरबारका राजाले राज्य सञ्चालन गरेको किंवदन्ती रहेकाले सो जग्गा राज्यको नाममा नरहेको पाइएको छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्रमा रूपमा रहेका सम्पदाको उजागर गर्न नगरपालिका तयार रहेको प्रमुख प्रशासकीय अधिकृत तिलक थापाको भनाइ छ । कला साहित्यको संरक्षण तथा सम्वद्र्धन गर्न नगरपालिकाले साहित्य संग्रह प्रकाशन गर्ने भएको छ । नगर क्षेत्रका साहित्यकारका रचनालाई परिस्कृत गरेर उनीहरूका गजल, मुक्तकलगायतका प्रकाशन गर्ने र संग्रहका रूपमा राखिने भएको छ । हरेक वर्ष हुने प्रयण दिवसका अवसरमा वा प्रत्येक महिनामा नगर क्षेत्रभित्र कथा, कविता, गजल, मुक्तकलगायतका साहित्य कार्यक्रम गरिँदै आएको छ ।

बूढीगङ्गा नगरपालिका–४ कोटमा रहेको बार्जुकोट दरबारमा गजल गुञ्जन कार्यक्रम सम्पन्न भएको छ । दरबारको ऐतिहासिक प्रचारप्रसार गर्न र आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने गरी सुदूर साहित्य प्रतिष्ठान बाजुराले उक्त ठाउँमा गजल गुञ्जनको आयोजना गरेको सुदूर साहित्य प्रतिष्ठान बाजुराका अध्यक्ष हर्कबहादुर खडायतले बताए ।

स्रष्टाको सम्मान बार्जुकोट दरबारको पहिचानसहित उक्त कार्यक्रम गरिएको अध्यक्ष खडायतले जनाए । नगरपालिकाको संयोजन र प्रतिष्ठानको आयोजनामा जिल्लाका एक दर्जन साहित्यकारले आफ्ना रचना प्रस्तुत गरेका थिए । अधिकांश गजलकारले देशमा भएका व्यथितिको अन्त्य र नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न प्रचारप्रसार गर्नुपर्ने सन्देशसहितका गजल प्रस्तुत गरेको प्रतिष्ठान बाजुराका सचिव कृष्ण ओलीले जानकारी दिए ।

उनले बार्जुकोट दरबारमा महेश जोशी, प्रमिला थापा, नरेन्द्र थापा, मीनप्रसाद जैशीलगायतका स्रष्टाले गजल वाचन गरेको बताए । गजल गुञ्जन कार्यक्रममा सोही नगरपालिकाको थुमा माध्यमिक विद्यालयका विद्यार्थीले समेत गजल वाचनमा सहभागी भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया