केभीन ओ ब्रायनले काठमाडौंबाटै इपिएल खेल्ने

काठमाडौं । टेष्ट टोली आयरल्यान्डका स्टार अलराउन्डर केभीन ओ ब्रायनले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ९इपिएल० काठमाडौं किंग्स ११ बाट खेल्ने भएका छन् । यसअघि तेस्रो संस्करणमा ब्रायनले काठमाडौंबाट खेलेका थिए । जसमा ७ खेलमा १ सय ८४ रन बनाउनुको साथै उनले ९ विकेट लिएका थिए । केभीनले ३ टेष्ट, १ सय ४५ ओडीआई र ९३ टि ट्वान्टी आई खेलेका छन् । केभीन आयरल्यान्डबाट टेष्टमा शतक प्रहार गर्ने पहिलो र एक्लो खेलाडी हुन् । उनले गत मे मा पाकिस्तानसँगको एक मात्र टेष्टमा १ सय १८ रनको शतकीय इनिङ खेलेका थिए ।

उनले १ सय ३३ ओडीआई इनिङमा २ शतक र १८ अर्ध शतक सहित कुल ३५ सय ४६ रन बनाएका छन् । उत्कृष्ट प्रर्दशन १ सय ४२ रन छ । ओडीआईमा १ सय १३ विकेट लिएका छन् । केभीन ओ ब्रायन एकदिवसिय विश्वकपमा सर्वा्धिक छिटो बलमा शतक पुरा गर्ने ब्याट्सम्यान हुन् । उनले सन् २०११ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध ५० बलमा शतक पुरा गर्दै कीर्तिमान रचेका थिए ।

टि ट्वान्टीमा उनले १ शतक र ३ अर्ध शतक सहित १५ सय ९२ रन बनाएका छन् । ओपनर समेत रहेका केभीन ठूला सटका लागि प्रख्यात छन् । केभीनले गत अक्टोबरमा हङकङविरुद्ध ६२ बलमा १२ चौका र ७ छक्का सहित १ सय २४ रनको इनिङ खेलेका थिए । टि ट्वान्टीमा ५८ विकेट लिएका छन् । काठमाडौंले अन्य दुई खेलाडी पनि टेष्ट टोलीबाटैन भित्र्याउने तयारी गरि रहेको छ ।

यस पटक काठमाडौंले लेग स्पिनर सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीलाई टोलीमा भित्र्याएको छ भने कप्तान सोमपाल कामीलाई चितवन टाइगर्सलाई बेचेको छ । यसैवर्ष देखी लागु भएको खेलाडी किनबेच नियम अनुसार सन्दीपलाई ललितपुर र दीपेन्द्रलाई चितवनबाट टोलीमा भित्र्याएको हो । काठमाडौंमा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन र दीपेन्द्र रावत छन् ।

प्रतिक्रिया