प्रणय दिवसः भ्यालेन्टाइन्स डे ?

पति–पत्नीका बीचमा सुमधुर सम्बन्ध भई एकले अर्काको भावना बुझ्ने हो भने त्यही हो प्रणय दिवस । दुवै जनाले सम्बन्धमा त्यसोे गर्न सक्ने हो भने मान्छेका जीवनमा तीन सय ६५ दिन नै हुन्छ प्रणय दिवस । तर, पछिल्ला पति पत्नी बीचका सम्बन्ध त्यस्तो देखिँदैन । माया, प्रेम र भावना पनि समाजलाई देखाउनका लागि बन्दै छ । त्यसो हुन भनेको आडम्बरबाहेक केही होइन । देखाएको सम्बन्धभन्दा बनेको सम्बन्ध टिक्छ, दरिलो हुन्छ । देखाउने चिज त किन्न पनि पाइन्छ । तर, माया प्रेम वा भावनात्मक सम्बन्धको कुनै मूल्य नै हुँदैन । त्यसका अघि रातो गुलाबको फूल केबल फूलमा नै सीमित हुन्छ । अर्को कुरा माया प्रेम निश्चित समयपछि ओइलिने वा सुक्ने हुन हुँदैन ।

आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे । फेब्रुअरी १४ का दिन विश्वभरका मान्छेले यो दिवस मनाउँछन् । पछिल्ला केही वर्षयता भने यसलाई पनि सप्ताव्यापी मनाउन थालिएको छ । कुनै पर्व वा उत्सवजस्तै । प्रणय दिवसका अवसरमा आफूले मन पराएको मान्छे वा प्रेम, प्रेमीलाई रातो गुलाबको फूल, चकलेट र मनपर्ने वस्तु उपहार दिने गरेको पाइन्छ ।

यो हाम्रो संस्कृति होइन, पश्चिमा संस्कृति हो । तर, नेपालमा पनि यसले अहिले ठूलै आकार लिँदै छ । अहिले केही नेपाली यो आफ्नै संस्कृति भएजस्तै ठान्न थालेका छन् । केही वर्ष पहिलासम्म युवा पुस्तामा मात्रै सीमित यो दिवस अहिले सबै उमेर समूहका मान्छेको साझा बनेको छ । भ्यालेन्टाइन डे भनेर उच्चारण गर्न हिचकिचाउनेहरूले अहिले यसलाई सहज रूपमा मनाइरहेको सामाजिक सञ्जालमा पोस्ट भएका तस्बिर र स्टाटसले देखाउँछ ।

यो रोमबाट आयतित संस्कृति हो । पछिल्ला केही वर्षमा यसले नेपालमा व्यापकता पाएको छ । तर, प्रेमका पक्षपातीहरू भने प्रेमको कुनै भूगोल र सीमा नहुने तर्क गर्दछन् । अर्काथरी भने दिन हेरेर र बनाएको सम्बन्ध र गरेको प्रस्ताव अर्को दिन टिक्छ कि टिक्दैन भन्ने शंका गर्नेहरू पनि छन् । हुन पनि प्रेम साइत हेरेर पक्कै हुँदैन वा तोकिएकै दिन हुन्छ भन्नेहरू पनि पाइँदैन ।

आदर्श प्रेम हिजोआज दन्त्य कथा जस्तै भएको छ । बदलिँदो समाजले प्रेमलाई फरक ढंगले परिभाषित गर्न थालेको छ । अहिले प्रेम कति वेला हुन्छ कति वेला बिछोड मान्छेले पत्तै पाउन छोडेका छन् । प्रेम पनि घण्टा, दिन र रातका लागि निश्चित समयका लागि जस्तै बनेको छ

पछिल्ला दिनमा प्रेम, सम्बन्ध मात्रै होइन मान्छेका वैवाहिक सम्बन्ध पनि बाहिर देखिने एउटा, भित्र अर्कै हुन थालेको आभाष हुन थालेको छ । बाहिर समाजका अघि देखिएको सम्बन्ध घरका चौघेराभित्र छिरेपछि फेरिने गरेको दृष्टान्त छरप्रष्ट हुन थालेको छन् । तर, पनि समाजमा देखाउनका लागि भने रातो गुलाबको फूल वा चकलेट दिएर मिठो शब्दमा माया दर्शउनेहरूको भने कमी छैन । एक दिनको रातो फूल वा उपहार चकलेटले मान्छेको जीवन सुन्दर हुने होइन । सधैँ सुमधर र सुन्दर बनाउने दुवै पक्षको उत्तिकै भूमिका भयो भने जीवन सधैँ प्रणय बन्छ र त्यसका लागि दुवै इमानदार हुनपर्छ । सम्वन्ध भनेको देखाउनका लागि वा जवर्जस्त बनाउने होइन, भावनात्मक रूपमा बनेको हुनुपर्छ ।

दुई आत्माका बीचमा हुने आदर्श प्रेम हिजोआज दन्त्य कथा जस्तै भएको छ । बदलिँदो समाजले प्रेमलाई फरक ढंगले परिभाषित गर्न थालेको छ । अहिले प्रेम कति वेला हुन्छ कति वेला बिछोड मान्छेले पत्तै पाउन छोडेका छन् । प्रेम पनि घण्टा, दिन र रातका लागि निश्चित समयका लागि जस्तै बनेको छ । यही समाजमा प्रेमलाई दुई आत्माको मिलन भनियो । तर, आज प्रेमलाई शारीरिक आवश्यकता ठानिन थालिएको छ । प्रेम एक अर्काको अनुभूतिभन्दा भोग्नका लागि जस्तै बनेको छ ।अरूको नक्कल वा सिकोले कुनै पनि चिज दीर्घकालीन बन्न सक्दैन ।

यो प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे पनि हामीले अरूको नक्कल गरिरहेका हौँ । कसैले कसैप्रति प्रेम गर्नु नराम्रो होइन, मात्रै बुझाइको कुरो हो । प्रेम भनेको माया गर्नु एकले अर्कोको भावना बुझ्नु र सुख दुःखमा साथ दिनु पनि प्रेम हो । तर, हिजो आज प्रेमको भाषा फेरिएको छ । एकले अर्कोलाई प्राप्त गर्नु, भोग्नु वा क्षणिक समयका लागि उपभोग गर्नुलाई पनि केहीले प्रेम भनेर बुझ्न थालेका छन् ।

प्रेम गर्नाका लागि, प्रेम प्रस्ताव राख्नका लागि वा प्रेमभाव देखाउनका लागि कुनै विशेष दिन चाहिन्छ भन्ने होइन । प्रेम त एक प्रकारको भावना हो समाजलाई देखाउनका लागि वा सामाजिक सञ्जालमामा प्रचार गर्नका लागि हुनु हुँदैन । प्रणय भन्नेबित्तिकै पति पत्नी बीचको सुमधुर सम्बन्ध स्थापित हुनु पनि मानिन्छ । तर, पछिल्ला दिनमा यसलाई दुरुपयोग गरेको पाइन्छ । कतिले यही समयमा आफूलाई मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्ने र जीवनसाथी रोज्ने गरेको पनि सुनिन्छ । अरूको संस्कृतिमा आधारित भएर गरेको प्रेम प्रस्ताव वा रोजेको जीवन साथी जीवनका लागि हुन्छ कि क्षणिक त्यो पनि पेचिलो विषय छ ।

पति पत्नीका बीचमा राम्रो सम्बन्ध स्थापित भएर एकले अर्काको भावना बुझ्ने हो भने त्यही होइन र प्रणय दिवस ? त्यो गर्न सक्ने हो भने मान्छेका जीवनमा ३ सय ६५ दिन नै हुन्छ प्रणय दिवस । तर, पछिल्ला दिनमा यस्तो देखिँदैन । माया, प्रेम र भावना पनि समाजलाई देखाउनका लागि बन्दै छ । त्यसो हुन भनेको आडम्बरबाहेक केही होइन । देखाएको सम्बन्धभन्दा बनेको सम्बन्ध टिक्छ । देखाउने चिज त किन्न पनि पाइन्छ । तर, माया प्रेम वा भावनात्मक सम्बन्धको कुनै मूल्य नै हुँदैन । त्यसका अघि रातो गुलाबको फूल केबल फूल मात्रै सीमित हुन्छ । अर्को कुरा माया प्रेम निश्चित समयपछि ओइलिने वा सुक्ने हुन हुँदैन । गुलाबको फूलजस्तै । त्यो हरेक कठिन अवस्थामा पनि टिक्ने र एकले अर्काको अनुभूति गर्ने हुनपर्छ ।

प्रणय दिवसमा नाममा फूल वा उपहारको बजारसमेत बढ्ने गरेको छ । पतिले पत्नीलाई वा पत्नीले पतिलाई वा प्रेमीले पे्रमीलाई उपहार दिन यही दिन कुर्न पर्छ र ? उपहार आवश्यकतामा वा आफूसँग पैसा हुँदा पनि दिन सकिन्छ । अरू दिनसँगै भएको पत्नी पति वा साथीलाई वास्तै नगर्ने यो दिन ऋण गरेर उपहार दिने र फोटो सामाजिक सञ्जालमा पोस्ट गर्नु कत्तिको व्यवहारिक होला त्यसमा पनि बहस गर्नुपर्छ । यसको मतलब कसैले कसैलाई माया प्रेम नै नगर्नु वा उपहार नै नदिनु होइन ।

तर, यही दिन कुरेर ३ सय ६४ दिन एक अर्कासँग बेखर रहनु उचित होइन । पत्नी, पति वा साथीलाई अरूवेला आवश्यक परेको वस्तु आफ्नो हैसियतअनुसार उपहार दिनु पनि प्रेम नै हुन्छ । त्यसले एकातिर प्रेमभाव देखाउन भने अर्कोतर्फ आवश्यकता पूरा गर्छ । एउटाले अर्कोको समस्यालाई नजिकबाट बुझेको अनुभूति पनि गराउँछ । त्योभन्दा ठूलो प्रेम अरू के हुन सक्छ ?

हाम्रो आफ्नै संस्कृतिमा पनि प्रेम दिवस छ । कृष्ण अष्टमी, तिज, विवाह पञ्चमीजस्ता महत्वपूर्ण पर्व पनि छन् जुन एक प्रकारको प्रेम दिवस नै हो । यी पर्वहरू एकले अर्कालाई प्राप्ति गरेको र एकले अर्काको दीर्घायुको कामना गरेर उपवास बसेको पाइन्छ । यसमा एकले अर्कालाई रातो गुलाबको फूल वा उपहार नदिए पनि भावनात्मक सम्बन्ध भने गाँसिएको पाइन्छ ।

भ्यालेन्टाइन्स डेको सुरुवात
भ्यालेन्टाइन्स डे आयतित संस्कृति भएको र यसका बारेमा हेर्ने हो को यसको एउटा दुःखद् इतिहास पाइन्छ । खासमा तेस्रो शताब्दीमा रोममा क्लोडियस नामका एक शासक थिए । उनको मान्यता थियो, जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ । त्यही कारण उनले राज्यमा उर्दी जारी गरे, ‘आजदेखि कुनै पनि अधिकारी वा सैनिकले बिहे गर्न पाउने छैन ।’

केहीलाई क्लोडियसको उक्त कुरा पटक्कै मन परेन । उनीहरूले फरमानको विरोध गरे । बिहे गर्न चाहेकाहरूले बिहे गर्नका लागि अरूलाई उक्साए । यही क्रममा केही अधिकारी र सैनिकले विवाह गरे । जब क्लोडियसलाई आफ्नो मान्यता विपरीत प्रेम र विवाहका लागि अरुलाई प्रेरित गरको थाहा पाए उनलाई बन्दी बनाउने आदेश जारी भयो । उनलाई कालकोठरीमा बन्दी बनाइयो ।

बिहेका लागि उक्साउने ती सैनिकलाई फाँसी दिने भयो । फाँसीको आदेश सुनेर उनले जेलरकी दृष्टिविहीन छोरीको नाममा एक प्रेम पत्र लेखे र त्यसको मुनि लेखे, ‘फ्रेम योर भ्यालेनटाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईंकी दृष्टिविहीन छोरीलाई दिनू ।’ राजाले सन् २६९ को १४ फ्ब्रुअरीमा ती सैनीकलाई फाँसी दिए ।यही दिनलाई तिनै सैनिकको समर्पणमा मानिसहरूले भ्यालेनटाइन डे मनाउन सुरु गरेको मानिन्छ ।

केही वर्ष अघिसम्म भ्यालेनटाइन डे का दिन प्रेमी प्रेमिकाको हातले बनाइएको मुटु आकारको कार्ड आदानप्रदान गरिन्थ्यो । त्यसमा आफ्नो भावना व्यक्त गरिएको हुन्थ्यो । अहिले त्यस स्थानमा रेडिमेड कार्ड छाएको छ । पश्चिमा देशमा क्रिसमसपछि सबैभन्दा एक आपसमा कार्ड आदानप्रदान गर्ने भनेकै भ्यालेनटाइन डेका अवसरमा हो ।

प्रेम भावनासँग सम्बन्धी कुरा हो । यसलाई अनेक प्रतीक र विम्बमा अभिव्यक्त गरिन्छ, गरिएका छन् । धेरै पहिलेदेखि रातो गुलाफलाई प्रेमको प्रतीक मानिन्छ । भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै प्रयोग हुने वस्तु गुलाफको फूल हो । गुलाफ आदानप्रदान गरेर युवा युवतीहरूले आपसमा प्रेम प्रकट गर्ने दिन । आफूले मन पराएको केटा वा केटीलाई गुलाफको पूmल दिएर नै प्रस्ताव राख्ने गर्दछन् । ‘भ्यालेन्टाइन डे’ को अवसरमा गुलाफको फूलको रङ र यसका अर्थहरूलाई बुझ्नुपर्ने हुन्छ ।

नेपाली समाज र संस्कृतिअनुसार पति, पत्नी वा आफूले मन पराएको मान्छेलाई माया गरौँ, आदर गरौँ, एकले अर्कोको भावना बुझेर सम्मान गरौँ । त्यतिवेला रातो गुलाबको फूल, चकलेट वा उपहार नभए पनि हुन्छ । सम्बन्ध राम्रो रह्यो भने त्यही हुन्छ, भ्यालेन्टाइन्स डे फेब्रुअरी १४ कुर्नै पर्दैन ।

प्रतिक्रिया