गच्छदारको बचाउ नगर्न नेतृत्वलाई दबाब

                                                ललितपुरको सानेपामा सोमबार बसेको पार्टी केन्द्रिय कार्यसमितिकोे बैठक बस्दै ।

काठमाडौं । ललिता निवास प्रकरणमा मुद्दा चलेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार बचाउ नगर्न केन्द्रीय सदस्यले नेतृत्वलाई दबाब दिएका छन् । उनीहरूले कानुनी उपचारका लागि मुद्दा अदालत प्रवेश गरिसकेकाले त्यसलाई त्यहीँबाट निरुपण हुन दिनुपर्ने बताएका हुन् ।

सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सदस्यहरूले गच्छदारको विषय अदालतले नै निरुपण गर्नुपर्ने भनाइ राखेका हुन् । सदस्यको जोडपछि यसविषयमा थप निर्णय गर्ने अधिकार संसदीय दललाई दिइएको छ । दलको बैठक मंगलबार बिहान बोलाइएको छ । गच्छदारको बचाउमा उत्रिएको कांग्रेसले लगातार तीन पटक संसद बैठक अवरुद्ध गरिरहेको छ । उसले कुनै माग नराखेपनि अन्यायपूर्ण तरिकाले गच्छदारलाई फसाउन खोजिएको भन्दै आएको छ ।

यद्यपि गच्छदारविरुद्ध दायर मुद्दाको कानुनी र राजनीतिक रूपमा सामना गर्ने निर्णय भने गरेको छ । प्रवक्ता विश्वप्रकास शर्माका अनुसार कानुनी र राजनीतिक रुपमा सो मुद्दा लड्ने निर्णय बैठकबाट लिएको जानकारी दिए । उनले बलुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा अख्तियार सरकारको छाया बनेको निष्कर्ष कांग्रेसको रहेको समेत बताए । भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मन्त्रिपरिषद्बाट भएको नीतिगत निर्णयमा मन्त्रीलाई तान्न नमिल्ने भएकाले कांग्रेसले राजनीतिक रूपमा समेत सामना गर्ने उनले बताए ।

संसदको अवरोध जारी राख्ने कि खोल्ने भन्नेबारेको निर्णय संसदीय दलले नै लिने पनि शर्माले बताए । संसदीय दलले आवश्यकताअनुसार मंगलबार निर्णय गर्नेसमेत उनले जानकारी दिए । केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा हुने र यो अवधिमा सरकारले ल्याएका विधेयक, गरेका प्रतिशोधपूर्ण व्यवहार, शान्ति सुरक्षाको स्थिति र भ्रष्टाचारको विषय कारबाही गर्ने नाउँमा उन्मुक्ति दिँदै संस्थागत ढंगले संरक्षण गरेको निष्कर्ष निकालेको प्रवक्ता शर्माले बताए ।

बैठकमा उपसभापति गच्छदारले आफूमाथि लगाइएको मुद्दाबारे जानकारी गराएका थिए । उनीमाथि लागेको मुद्दालाई लिएर भ्रातृ संगठन तथा शुभेच्छुक संस्थाले गरिरहेको आन्दोलनलाई केन्द्रीय समिति बैठकले समर्थन गरेको छ । बैठकमा बोल्दै गच्छेदारले आफूमाथि लागिएको ललिता निवासको जग्गा भ्रष्टाचार आधारहीन भएको दोहो¥याए । उनले भने, ‘ललिता निवास जग्गा प्रकरणमा मैले भ्रष्टाचार गरेको झुट्टा मुद्दामा फसाइयो ।’ यस्तै, सदस्यतासम्बन्धी विधानको महत्वपूर्ण धारा निलम्बको विषयमा पार्टीले अर्को बैठकमा छलफल हुने प्रवक्ता शर्माले जानकारी दिए ।

प्रतिक्रिया