निर्मला पन्तको हत्यामा दिलीप विष्ट नै दोषी

काठमाडौँ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा दिलीप विष्ट नै दोषी देखिएका छन् । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कार र हत्या प्रकरणमा एआईजी धिरु बस्न्यात नेतृत्व समितिले बुझाएको प्रतिवेदन खारेज गरेको छ । डीआईजी सुरज केसी नेतृत्वमा गठित पुनरावलोकन समितिको पछिल्लो प्रतिवेदन स्वीकार गर्दै अघिल्लो प्रतिवेदन खारेज गरेको हो ।

पछिल्लो प्रतिवेदनअनुसार बलात्कार र हत्या आरोपमा पक्राउ परेर छुटेका दिलीपसिंह विष्ट नै मुख्य अभियुक्त रहेकोले उनीमाथि थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागमार्फत कञ्चनपुर प्रहरीलाई आइतबार निर्देशन दिएको छ । भीमदत्त नगरपालिका–२ कञ्चनपुरस्थित खोल्टीकी बालिका पन्तको शव २०७५ साउन ११ गते त्यही नगरपालिकाको वडा नम्बर १८ स्थित निम्बुखेडा खोला किनारको उखुबारीमा फेला परेको थियो ।

त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र कञ्चनपुर प्रहरीले घटना अनुसन्धान गर्ने क्रममा भदौ ३ गते विष्ट पक्राउ परेका थिए । तर, स्थानीय भीड र विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिवेदनले विष्ट निर्दोष रहेको दाबी गर्दै फसाउन खोजेको आरोप लगाएका थिए । प्रहरी अनुसन्धानले भने विष्ट नै दोषी भएको निष्कर्ष निकालेको थियो । तर, गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समिति र एआईजी बस्न्यातको आन्तरिक समितिका प्रतिवेदनले बिष्टलाई निर्दोष भनेका थिए ।

प्रतिक्रिया