अर्गानिक महोत्सवको तयारी पूरा

कालिकोट । कर्णाली प्रदेशकै पहिलो अर्गानिक महोत्सवको तयारी पूरा भएको छ । उक्त महोत्सव शुभकालिका गाउँपालिकाको राराकाटियामा हुने भएको छ । होम–स्टेलाई प्रमोट गर्न, गाउँपालिका भित्रका स्थानीय कलाको संरक्षण गर्न, स्थानीयलाई अर्गानिक कृषि खेतीमा अग्रसर गराउन, पुराना संकृतिलाई जगेर्ना गराउने उद्देश्यले यो महोत्सवको उद्देश्य रहेको छ ।

नेपाल पर्यटन वर्ष २०२० प्रति लक्षित कर्णाली पर्यटन वर्ष २०७६ लाई सफल पार्न महोत्सवको आयोजना गरिएको हो । ‘कृषि, खानी पर्यटन र पूर्वाधार, समृद्ध शुभकालिकाको आधार’ भन्ने मूलनारालाई सार्थक बनाउन जिल्लाकै पहिलो अर्गानिक महोत्सवको सुरुआत गरिएको महोत्सव मूल समारोह समिति संयोजक खडानन्द अधिकारीले बताए ।

महोत्सवमा स्थानीय खाना, सिस्नोको तरकारी, अल्लाको कपडा, माटाका भाँडाहरु, चइचच्चु तथा रोटेपिङ, चित्रकला प्रदर्शनी लगायतका स्थानीय अर्गानिक सामानहरूको प्रदर्शनी गरिने सहयोगी संस्था हुरुन्डेक नेपालका अध्यक्ष जजराज शाहीले बताएका छन् ।

महोत्सवको उद्घाटन गर्न कर्णाली प्रदेश सरकारका उद्योग, वन तथा पर्यटन मन्त्री नन्दसिंह बुढाको उपस्थित रहनेछ । कर्णाली प्रदेशका स्थानीय तहबाट पनि अर्गानिक महोत्सव हेर्न आउनेको घुइँचो लागिरहेको कर्णाली प्रदेश सरकारका माननीय कुर्मराज शाहीले बताए । कार्यक्रममा मारुनी नाँच, हुड्के नाच, तरबार नाच, घोडा नाच, विशेष देउडा खेल, झोडा मागल, हास्यब्यंग्य प्रस्तुति लगायतका स्थानीय स्तरमा पाइने अन्य कलाहरू देखाइने महोत्सव मूल समारोह समिति संयोजक खडानन्द अधिकारीले जानकारी दिए ।

महोत्सवमा चर्चित हास्यकलाकार हस्त चौलागार्इं (त्रिकाल) र किरण अधिकारी (एचके जोडी) को बेजोड प्रस्तुति रहने पनि आयोजक समितिले जनाएको छ । महोत्सव २० देखि २२ मंसिरसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया