‘म स्वस्थ हुँदै छु’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक अस्पतालबाट भिडियो सन्देशमार्फत स्वास्थ्यका बारेमा जानकारी दिएका छन् । उनले आफू मेजर अप्रेसनपछि पनि बोल्न र हिँड्न सक्ने अवस्थामा आएको जानकारी गराएका हुन् ।

मंसिर १० गते स्वास्थ्यमा समस्या आएपछि मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा भर्ना गरिएको थियो । भर्ना भएलगत्तै एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । त्यसपछि प्रधानमन्त्रीको स्वास्थ्यका विषयलाई लिएर विभिन्न टिकाटिप्पणी हुन सुरु गरेका थिए । केही दिनअघि उपचारमा संलग्न चिकित्सकहरूले पनि पत्रकार सम्मेलन नै गरेर स्वास्थ्यका विषयमा जानकारी गराएका थिए । भर्ना भएको सातौँ दिनका दिन प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका बारेमा आफँै उपस्थित भएर जानकारी गराएका हुन् ।

‘मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अपरेसनपछि तपाईंहरूले देखिरहनुभएको छ, मेजर अपरेसनपछि पनि म उठेर बोल्न सक्ने र साथीहरूसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरू हेर्न सक्ने अवस्थामा छु

निलो ज्याकेट, कालो पेन्ट र चप्पल लगाएर प्लास्टिकको कुर्सीमा बसेर प्रधानमन्त्रीले भिडियो सन्देशमा आफू स्वस्थ्य हुँदै गएको जानकारी गराएका छन् । ‘मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अपरेसनपछि तपाईंहरूले देखिरहनुभएको छ, मेजर अपरेसनपछि पनि म उठेर बोल्न सक्ने र साथीहरूसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरू हेर्न सक्ने अवस्थामा छु’, प्रधानमन्त्रीले सन्देशमा भनेका छन् ।

प्रधानमन्त्रीले आफूलाई लागेको एपेन्डिसाइटको बारेमा समेत केही जानकारी दिएका छन् । उनले आफूलाई निको हुन हप्ता दश दिन लाग्नेसमेत उल्लेख गरेका छन् । ‘एपेन्डिसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्यासित रूपमा त्यसैगरी आइलाग्यो’, स्वास्थ्यमा सुरुवातमा देखिएका समस्यालाई उल्लेख गर्दै प्रधानमन्त्रीले अगाडि भनेका छन्, ‘त्यसमा इन्फेक्सन भएछ । र, त्यो बाहिर पनि फैलिएछ । त्यसमा मात्रै इन्फेक्सन सीमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनुप¥यो । त्यसकारण उपचारका क्रममा हप्ता दश दिन लाग्ने भयो ।’

प्रधानमन्त्री ओलीले साग खेलकुदका विषयमा पनि कुरा उठाएका छन् । साग खेलकुद हुन सक्छ कि सक्दैन भन्ने दुविधा समाप्त भएकामा खुसी लागेको पनि भिडियो सन्देशमा उल्लेख छ । ‘हिजो मैले १३औँ ‘साग’को उद्घाटन समारोह पनि पूरै हेरेँ । हुन सक्छ कि सक्दैन भन्ने दुविधा समाप्त भएकामा खुसी लाग्या छ । म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनुभएकोमा, अरू सबैलाई सहभागी हुनुभएकोमा धन्यवाद भन्न चाहन्छु’, निकै हसिलो मुद्रामा देखिएका प्रधानमन्त्रीले अगाडि भने, ‘मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरू र सार्क क्षेत्रका खेलाडीहरू, सबैलाई आग्रह गर्दछु ।’

प्रतिक्रिया