फुटबल खेल तालिकाप्रति सबै टिमको आपत्ति

काठमाडौं । नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको पुरुष फुटबलको खेलतालिकाप्रति सहभागी देशका प्रशिक्षकहरूले आपत्ति जनाएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले सार्वजनिक गरेको खेल तालिकामा सहभागी देशको खेल २४ घण्टाको फरकमा नभएकाले उनीहरूले तालिकाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

माल्दिभ्सका प्रशिक्षक पेटर सेग्रेटले भने, ‘हामीलाई यो तरिकाले खेल तालिका सार्वजनिक गरेकोमा चित्त बुझेको छैन । हामी फुटबल कमिटीसँग छलफल गर्नेछौँ । त्यसपछि आएको सल्लाहअनुसार खेल खेल्ने छौँ । तर, खेलाडीको स्वास्थ्यको हिसाबले यो खालको खेल तालिका राम्रो भने होइन ।’

उनले आयोजकले आफ्नो अनुसार तालिका सार्वजनिक गरेको हुनाले आफूहरूले सहमति जनाउन गाह्रो पर्ने बताए । यता श्रीलंकाका प्रशिक्षक मोहन अलीले पनि तालिकाबारे असन्तुष्टि भएपनि आफूहरू खेल्न तयार भएको बताए ।  ‘खेल तालिकाप्रति हामी असन्तुष्ट छौँ । एउटा खेलाडीले २४ घण्टाभित्र खेल खेल्न भने सक्दैन । खेलाडीको स्वास्थ्य स्थिति खराब हुने र खेलाडीहरू घाइते हुने सम्भावना हन्छ,’ अलीले भने । खेल तालिकाप्रति भुटानी टोलीले पनि असन्तुष्टि जनाएको छ । फुटबल खेलअन्तर्गत पहिलो खेलमा बंगलादेश र भुटानले सोमबार १ बजे प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया