सागको उद्घाटन आज

काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद सागको औपचारिक उद्घाटन आज हुँदैछ । भब्य समारोहका बीच आज अपराह्न सागको उद्घाटन हुने भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोह ३ घन्टा १४ मिनेटको हुनेछ । उद्घाटन समारोहमा सहभागी हुनेहरू ४ बजे रगंशालामा प्रवेश गरिसक्नुपर्ने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । सागमा २८ खेल समावेश छन । सागअन्तर्गत काठमाडौंमा १२, ललितपुरमा नौ, पोखरामा आठ तथा जनकपुरको एक स्थानमा खेल हुनेछ ।

यसपटक सागमा भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, बक्सिङ, तेक्वान्दो, लनटेनिस, ह्यान्डबल, गल्फ, जुडो, कराँते, कबड्डी, खोखो, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, ट्रायथलन, भारोत्तोलन, कुस्ती, उसु, आर्चरी, एथलेटिक्स, बास्केटबल, साइक्लिङ र फेन्सिङ समावेश गरिएको छ । खेलमा नेपाली ६४८ सहित तीन हजार २२८ खेलाडी सहभागी हुने बताइएको छ । सागका नौ खेल पोखरा, एक खेल जनकपुर र बाँकी खेल काठमाडौं तथा ललितपुरमा हुनेछन् । नेपालले सबै खेलमा सहभागिता जनाउने छ ।

खेलमा आयोजक प्रतिनिधि, निर्णायक मण्डल, अतिथिसहित दुई हजार २०९ जना तथा स्वयंसेवक करिब दुई हजार खटिनेछन् । सागमा कूल ३२४ स्वर्ण, ३२४ रजत तथा ४८७ कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । खेलमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्स र भुटान सहभागी छ । सागकै लागि आज काठमाडौंमा जोर विजोर प्रणाली अपनाइएको छ । आजको दिन विजोर नम्बर भएका सवारी साधनमात्र चल्न पाउने ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया