माल्दिभ्समाथि नेपाल ‘ए’ को फराकिलो जित

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद(साग) अघि तीन अभ्यास खेलअन्तर्गत दोस्रो खेलमा नेपाल ‘ए’ ले माल्दिभ्सलाई १ सय ७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय १७ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९ रन बनायो । पहिलो ओभरको पाँचौँ बलमा ओपनर मोहम्मद इभान अलीलाई बिक्रम शोबले विकेटकिपर दिलिप नाथबाट शून्यमा क्याच आउट गराए । बिक्रमले नै तेस्रो ओभरको पाँचौँ बलमा प्रमुख ब्याट्सम्यान मोहम्मद रिजवानलाई ७ रनमा एलबी डब्लु आउट गराउँदै पेभिलियनको बाटो देखाए ।

ओपनर अहमिद हसनलाई स्पिनर सेर मल्लले विकेटकिपर दिलिप नाथबाट ४ रनमा क्याच आउट गराए । तिलकराज भण्डारीले युसुफलाई १९ रनमा क्याच आउट गराए । युसुफले २८ बलमा २ चौका प्रहार गरे । मध्यगतिका बलर मञ्जित श्रेष्ठले सेर मल्लबाट मोहम्मद आजमलाई २६ रनमा क्याच आउट गराएपछि नेपालको फराकिलो जिततर्फ अघि बढेको थियो । आजमले २५ बलमा ३ चौका प्रहार गरे । मञ्जितले १४ ओभरको दोस्रो बलमा इबराम रिजवानलाई शून्यमा पेभिलियन फर्काए । १७ ओभरको पाँचाँै बलमा तिलकले मोहम्मद अमिर लाथिफलाई १५ रनमा बोल्ड आउट गरे ।

तीव्र गतिका बलर बिक्रम सोबले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । मध्यगतिका बलर मञ्जित श्रेष्ठले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । स्पिनर तलिक राज भण्डारीले ४ ओभरमा १५ रन खर्चेर २ विकेट हात पारे । स्पिनर सेर मल्लको नाममा १ विकेट रह्यो । त्यसअघि शुक्रबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १६ रन बनाएको थियो । कप्तान तथा ओपनर शरद भेषावाकरले ४२ बलमा ४ चौका र ८ छक्कासहित ८४ रनमा एलबीडब्लु आउट भए ।

प्रदीप ऐरीले ३६ बलमा ४ चौका र ६ छक्का ६९ रनमा क्याच आउट भए । दोस्रो विकेटका लागि प्रदीप ऐरी र शरदले १ सय २ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै नेपाललाई विशाल योगफलसम्म पु¥याए । आठौँ ओभरको अन्तिम बलमा कप्तान मोहम्मद महफुजलाई छक्का प्रहार गर्दै शरदले मात्र २२ बलमा अर्धशतक पूरा गरेका थिए ।

शरदले आठौँ ओभरमा कप्तान महपूmजलाई पहिलो, दोस्रो, तेस्रो र अन्तिम बलमा छक्का प्रहार गरेका थिए । अमित श्रेष्ठ २५ रनमा अविजित रहे । विकेटकिपर दिलिपनाथ १९ बलमा ३ चौका र १ छक्कासहित २७ रनमा आउट भए । माल्दिभ्सका लिम सफिकले ३ विकेट लिए । पहिलो अभ्यास खेलमा नेपाल ए ४९ विजयी भएको थियो । अन्तिम तथा तेस्रो अभ्यास खेल शनिबार हुने छ ।

प्रतिक्रिया