सागको टिकट ई–सेवामार्फत

काठमाडौं । दुई दशकपछि नेपालमा आयोजना भइरहेको १३औँ दक्षिण एसियाली खेलकुद (साग) को टिकट अनलाइनबाट बिक्री गर्नका लागि टिकेटिङ पार्टनरमा इसेवालाई नियुक्त गरिएको छ । यससँगै राजधानी काठमाडांैमा हुने भलिबल, फुटबल, बास्केटबल र क्रिकेटको टिकट दर्शकले ई–सेवामार्फत सहजै खरिद गर्न सकिनेछ । दर्शकले साग डट ई–सेवा डटकम डट एनपीमा गई आफूले हेर्न चाहेको खेलको टिकट खरिद गर्न सक्नेछन् ।

टिकट खरिद गर्दा खेल हेर्ने दर्शकले आफ्नो नाम र मोबाइल नम्बर राखेर आफ्नै मोबाइलमा टिकटको इलेक्ट्रोनिक कपी डाउनलोड गर्न सकिनेछ । हरेक टिकटमा दर्शकको नाम, मोबाइल नम्बर र युनिक क्युआर कोड रहनेछ ।दर्शकले प्रवेशद्वारमा आफ्नो टिकट र परिचयपत्र अनिवार्य देखाउनुपर्नेछ । उक्त टिकट रियल टाइममै भेरिफाई हुने र आइडी कार्ड देखाएपछि दर्शकले प्रवेश पाउनेछन् । यो टिकटिङ प्रणालीले टिकटमा हुने कालोबजारी र फर्जी टिकटको समस्याको समाधान गर्नेछ ।

यस्तै यसपटक फुटबल म्याचमा सिट नम्बरसहितको टिकट उपलब्ध रहेकाले आफ्नो टिकटमा उल्लेखित सिट नम्बरमा बसेर खेल हेर्न सकिनेछ । ई–सेवा एकाउन्ट भएका व्यक्तिले सीधै मोबाइलबाट टिकट खरिद गर्न सक्नेछन् । ई–सेवा एकाउन्ट नभएका व्यक्तिहरूले नजिकैको साइबर, स्टेसनरी, कम्युनिकेसन (ई–सेवा जोन तथा पोइन्ट) मा गई अनलाइन टिकट खरिद गर्न सकिनेछ । उपत्यकालगायत नेपालभर ई–सेवाका ६५ हजारभन्दा बढी जोन पोइन्ट रहेका छन् ।

प्रतिक्रिया