साग खेलकुदको टिकट इसेवा मार्फत

काठमाडौं । दुई दशकपछि नेपालमा आयोजना भइरहेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को टिकट अनलाईबाट विक्री गर्नका लागि टिकटिङ पार्टनरमा इसेवालाई नियुक्त गरिएको छ । यससँगै राजधानी काठमाडौमा हुने भलिबल, फुटबल, बास्केटबल र क्रिकेटको टिकट दर्शकले इसेवा मार्फत सहजै खरिद गर्न सकिनेछ । दर्शकले साग डट इसेवा डटकम डट एनपीमा गइ आफुले हेर्न चाहेको खेलको टिकट खरिद गर्न सक्नेछन् । टिकट खरिद गर्दा खेल हेर्ने दर्शकले आफ्नो नाम र मोबाईल नम्बर राखेर आफ्नै मोबाईलमा टिकटको इलेक्ट्रोनिक कपी डाउनलोड गर्न सकिनेछ । हरेक टिकटमा दर्शकको नाम, मोबाईल नम्बर र युनिक क्यूआर कोड रहनेछ ।

दर्शकले प्रवेशद्धारमा आफ्नो टिकट र परिचयपत्र अनिवार्य देखाउनु पर्नेछ । उक्त टिकट रियल टाइममै भेरिफाई हुने र आइडी कार्ड देखाएपछि दर्शकले प्रवेश पाउनेछन् । यो टिकटिङ प्रणालीले टिकटमा हुने कालोबजारी र फर्जी टिकटको समस्याको समाधान गर्नेछ । यस्तै यसपटक फुटबल म्याचमा सिट नम्बर सहितको टिकट उपलब्ध रहेकाले आफ्नो टिकटमा उल्लेखित सिट नम्बरमा बसेर खेल हेर्न सकिनेछ । इसेवा एकाउण्ट भएका व्यक्तिले सिधै मोबाईलबाट टिकट खरिद गर्न सक्नेछन् ।

इसेवा एकाउण्ट नभएका व्यक्तिहरूले नजिकैको साईबर, स्टेसनरी, कम्युनिकेशन (इसेवा जोन तथा पोइन्ट) मा गइ अनलाइन टिकट खरिद गर्न सकिनेछ । उपत्यका लगायत नेपालभर इसेवाका ६५ हजार भन्दा बढी जोन पोइन्ट रहेका छन् । यसअघि पनि इसेवाले आइसीसी, एन्फा अन्तरगत विभिन्न अन्तर्रा्ष्ट्रिय खेलहरूको सफल टिकटिङ र प्रवेश व्यवस्थापन गरिसकेको छ । इसेवा नेपाल राष्ट्रबैंकबाट लाइसेन्स् प्राप्त भुक्तानी सेवा प्रदायक हो । सन् २००९ बाट सञ्चालन रहेको इसेवामा २५ लाख ग्राहक रहेका छन् । इसेवामा ५५ बैंक तथा वित्तिय संस्था र ६० हजार भन्दा धेरै सेवाहरू रहेका छन ।

प्रतिक्रिया