‘तीन वर्षभित्र चीनबाट पाईपलाईनमा तेल ल्याउछौं’

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकमा औद्योगिक वातावरण बनाउँदै कुल ग्राहस्थ उत्पादनमा अहिलेको भन्दा दोब्बर योगदान पुर्याउनेगरि आफूले काम गर्ने बताएका छन् । आगामी तीन वर्षभित्र चीनबाट पाईपलाईनमा नेपालमा तेल ल्याउने दाबी गरेका छन । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई पूरा गर्नको लागि आफू सक्रिय भएर लाग्ने बताउँदै उनले भने, ‘यो नारामा ठूलो कुरा लुकेको छ, हामी यसलाई साकार पार्नको लागि दत्तचित्त भएर लागिरहेका छौं । जबसम्म जनता सुखी हुँदैनन्, तबसम्म मुलुक समृद्ध हुँदैनन । मुलुक समृद्ध नभएसम्म फेरी जनता सुखी हुँदैनन् । यसमा द्वन्द्वात्मक सम्बन्ध छ ।’ मुलुक औद्योगीकरणको बाटोमा गईसकेको उनको भनाई छ ।

त्यस्तै, निजी क्षेत्रको लागि पनि औद्योगीकरणको वातावरण बनाउनको लागि आफूले आवश्यक पहल गरिरहेको मन्त्री भट्टले सुनाए । उनले भने, ‘औद्योगीकरणको लागि वातावरण बनाउनको लागि आवश्यक पहल भैरहेको छु । कतिपय ऐन, कानूनहरु बनिसकेका छन् । कतिपय कार्यविधिहरु बन्ने प्रक्रियामा छन् ।’ आफू भर्खरै मन्त्रालयमा आएकोले अहिले छलफलको क्रममा नै रहेको पनि उनले सुनाए । उनले भने,‘अब सुस्त गतिमा हिँडेर काम छैन्, हामी गतिमा काम गर्नेगरि अघि बढ्छौं ।’

त्यस्तै, उनले केही नयाँ औद्योगिक क्षेत्रपनि घोषणा भएका र केही घोषणा हुने क्रममा रहेको सुनाए । उनले भने,‘केही क्षेत्रहरु घोषणा भैसकेका छन् । कतिपयहरु घोषणा हुने क्रममा छन् । कतिपयको डिपिआर र आईईए भैरहेको छ ।’ उनले जनताका चाहना पूरा गर्नतर्फ आफ्नो मन्त्रालय दत्तचित्त भएर अघि बढ्ने बताए । उनले भने, ‘सरकारले लिएको लक्ष्य पूरा गर्न हामी गम्भिर छौं । प्रधानमन्त्रीज्यूको उद्देश्यअनुसार नै हामी अघि बढ्छौं । जनताका सबै आकांक्षा र सपना पूरा गर्नेतर्फ हाम्रो सक्रिय सहभागिता र प्रभावकारी काम हुनेछ ।’

उनले निजी क्षेत्रका उद्योगहरु नाफामा गएका तर सरकारी उद्योगहरु घाटामा जानुको कारणबारेपनि आफूहरुले अध्ययन तथा अनुशन्धान गरिरहेको बताए । उनले भने, ‘निजी क्षेत्रको व्यवस्थापन चुस्तदुरुस्त छ । सरकारी उद्योगहरु हाम्रो हो भन्ने भावना नै भएन् । व्यवस्थापनमा बसेकाहरुको व्यक्तिगत स्वार्थ लुकेको देखियो । अब त्यस्तो हुँदैन् । व्यवस्थापनमा बसेकाहरुले सरकारी उद्योगपनि हाम्रो हो भन्ने भावनासहित अघि बढ्नुपर्छ । यसको लागि योग्य व्यवस्थापक दिनुपर्छ । काम गर्ने कार्यशैली र सोचन बदल्नुपर्छ । सरकारले त्यसतर्फ पर्याप्त ध्यान पुर्याउँछ ।’
नेपालमा केहीपनि हुँदैन् भन्ने मनोविज्ञान अब बदल्न जरुरी रहेको उनको टिप्पणी छ । उनले भने,‘त्यो चिन्तन बदल्नुपर्छ । देशलाई आत्मनिर्भर बनाउनेगरि काम गर्नुपर्छ । सबैले आ–आफ्नो ठाउँबाट योगदान पुरयाउनुपर्छ ।’ यद्धपी कतिपयले विदेशमा सिकेका सपी र अनुभवलाई स्वदेशमा लगाई देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याइरहेको पनि उनले सुनाए ।

उनका अनुसार नेपाल अहिलेपनि सिमेन्ट, विजुली, माछा, मासु र छडमा आत्मनिर्भर भैसकेको छ । नेपालमै फलामी खानी रहेको कुरामा अनुशन्धान भैरहेको र यसको गुणस्तर परीक्षणको लागि चीन पठाईएको पनि उनले सुनाए । उनले भने,‘हामी फलामी खानीको उत्खननकोल ागि संयन्त्र बनाउनेतर्फ छलफल गरिरहेका छौं ।’ केही वस्तुमा आत्मनिर्भर हुनासाथ मुलुकको अर्थतन्त्रमा ठूलो र सकारात्मक योगदान पुग्ने उनको विश्वास छ ।

उनले भने, ‘म त निमित्त मात्रै हुँ, सबैले सकारात्मक भएर आफ्नो ठाउँबाट योगदान दिनुपर्छ । मुलुकलाई समृद्ध बनाउन सकिन्छ ।’ उनले बजार अनुगमनको लागि पनि आफूले कडा कदम चाल्ने विश्वास दिलाए । उनले भने,‘बजार अनुगमन गर्ने हो । तर, अनुशासन स्थापित गर्ने कुरामा सबैले ईमानदारीपूर्वक लाग्नुपर्छ । स्व–अनुशासनको पनि कुरा हुन्छ । राज्यले सधैं अनुगमन गरेरमात्रै पुग्दैन् । हामी व्यवसायीहरुलाई जनता र देशप्रति उत्तरदायी बनाउने दिशामा लाग्नेछौं ।’ आफूले समस्या समाधानको लागि कडा कानून ल्याउने तयारी गर्न लागेको पनि उनको भनाई छ ।

अहिलेको अर्थतन्त्र खुल्ला भएकोले खुल्ला बजारलाई अनुगमन र नियमनको लागि के–कसरी अघि बढ्ने भन्नेबारे आफू अहिले छलफलमा केन्द्रित रहेको पनि उनले सुनाए । उनले भने,‘बजारमा हुने अनियमितता, कालोबजारी र महँगी रोक्ने काममा हामी सफल हुनेछौं । तर, कमिकमजोरी सच्याउनको लागि हामी आग्रह गर्दछौं ।’ उनले आफ्नो कार्यकालमा उद्योगको क्षेत्रबाट मुलुकको कुल ग्राहस्थ उत्पादनमा अहिलेको भन्दा बढि र ठूलो योगदान पुर्याउने पनि दाबी गरे ।

प्रतिक्रिया