भेडा प्रजनन केन्द्र बनाउने योजना

रुकुमपूर्व । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा भेडा प्रजनन केन्द्र स्थापना गरिने भएको छ । कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको प्रदेश सरकारले यसै आर्थिक वर्षमा गाउँपालिकाको तकसेरालाई भेडा प्रजनन केन्द्र बनाउने योजना बनाएको हो । तकसेरामा आधुनिक जातका भेडाको उत्पादन गरी किसानलाई वितरण गर्ने र भेडापालन व्यवसायतिर यहाँका युवालाई आकर्षित गर्ने लक्ष्यसाथ सो केन्द्र स्थापना गर्न लागिएको प्रदेश सरकारले जानकारी दिएको छ ।

केन्द्र स्थापना भएपछि जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाको सबै ठाउँमा भेडापालन व्यवसाय गरिरहेका मानिसहरूलाई ठूलो राहत पुग्ने भएको छ । प्रजनन केन्द्रमा पहिलो चरणमा एक हजार स्थानीय भेडाको पाठी संकलन गर्ने र उन्नत जातको सार ल्याएर पाठा उत्पादन गरी किसानलाई बाँडिने प्रदेशसभा सदस्य तेजबहादुर ओलीले जानकारी दिए । ‘केन्द्रमा लामो र मसिनो ऊन भएको, अरूभन्दा सजिलै हुर्काउन सक्ने र मासु राम्रो हुने प्रजातिको भेडा उत्पादन गरिने छ’, प्रदेशसभा सदस्य ओलीले भने, ‘आधुनिक गोठ निर्माण, दाना र प्राविधिकको व्यवस्था गरी युवालाई भेडापालनमा आकर्षण गरेपछि आयआर्जनमा वृद्धि हुनुका साथै जिल्लाबाट वैदेशिक रोजगारमा जानेको संख्या घट्ने विश्वास छ ।’

गाउँपालिकाका प्रत्येक घरमा अहिले पनि भेडा पालिरहेको पाइन्छ । भेडापालनका लागि सम्भाव्यता अध्ययन भइसकेको प्रदेश सरकारले जनाएको छ । भेडापालन व्यवसायका लागि पुथाउत्तरगंगा गाउँपालिका उपयुक्त रहेकाले स्वीकृत भइसकेको प्रदेशसभा सदस्य ओलीको भनाइ थियो । अध्ययनअनुसार हाल गाउँपालिकाभरि २० देखि २५ हजार भेडा रहेको बताइएको छ । केन्द्र बनाइने भएपछि स्थानीयवासी निकै खुसी भएका छन् ।

आफूले पहिलेदेखि नै भेडापालन व्यवसाय गर्दै आइरहेको अवस्थामा अब सरकारको सहयोग थपिने भएपछि आफू निकै उत्साहित भएको गाउँपालिका–११ का शिव बुढामगरले बताए । केन्द्र पुथा उत्तरगंगा गाउँपालिका–१० मा बनाउने की ११ मा बनाउने भन्ने टुंगो भने लागिसकेको छैन । यी दुईमध्ये एक वडामा केन्द्र स्थापना गर्ने कुराको टुंगो लगाएर पुसबाट काम सुरु गरिने प्रदेशसभा सदस्य ओलीले जानकारी दिए । उनका अनुसार अहिले पूर्वाधार निर्माण लगायतको कामका लागि जग्गा व्यवस्थापन र ‘स्टिमेट’को काम भइरहेको छ ।

प्रतिक्रिया