खोजखबर

सात वर्षदेखि साङ्लोमै सिङबहादुर

सौर्य अनलाइन २०७६ मंसिर ९ गते १२:२५ मा प्रकाशित

काठमाडौँ । दुई बित्ता लामो दाह्री जुङ्गा, उत्तिकै लामो कपाल । हात र खुट्टामा लामालामा नङ छन् । शरीरमा फोहरैफोहर देखिन्छ । कैदीलाई जस्तै उनको दुवै हातमा फलामको साङ्लो बाँधिएको छ । त्यहीँ दिसा पिसाब गर्छन् ।

यस्तै जीवन बिताइरहेका छन् भुमे गाउँपालिका– काँक्रीका ४४ वर्षीय सिङबहादुर दमाई । उनी विगत १३ वर्षदेखि नारकीय जीवन ब्यतित गर्दै आएका छन् । सात वर्षदेखि उनको दुवै हातमा साङ्लो बाँधिएको छ । दमाई बन्द कोठामा जीवन बिताइरहेका छन् । विसं २०६३ माघमा उनका भाइ रुपचन्द्रको घरमा लुकाई राखेको बम विष्फोट भएको थियो । सो घटनामा उनका भाइ र बुहारीको मृत्यु भयो । सिङबहादुर भने त्यति बेलादेखि अचेत अवस्थामा छन् ।

भाइको घरमा विष्फोट हुँदा सिङबहादुर आफ्नो घरको बारदलीनमा कपडा सिलाउँदै थिए । उनी भुईँमा खसे । ‘त्यति बेलादेखि उ अचेत अवस्थामा छ’, सिङबहादुरकी ६४ वर्षीया आमा देमुले भनिन् । बेसुरमै गाउँमा मान्छेलाई कुट्ने, जथाभावी बोल्ने तथा ढुङ्गाले हान्न थालेपछि उनको दुवै हात साङ्लोले बाँधिएकोे स्थानीयवासीले बताए । उनको अवस्था देखेर विहा गरेको एक वर्षमै श्रीमती अन्तै पोइल गइन् । ‘आँशु नझरेको, भरी पेट खाना खाएको र मनमा पीर नभएको कुनै दिन छैन’, आमा देमुले भनिन् । दिनभरि अर्काको घरमा काम गरी छिमेकीबाट ऐचोपैचो गरेर आफू भोकै रहेर भए पनि छोराको पेट भर्ने गरेको उनले सुनाइन् ।

भएको सबै सम्पत्ति बेचेर भैरहवा र बुटवल अस्पतालमा लगेर उपचार गरेको आमा देमुले सुनाइन् । ‘नौ लाख रुपैयाँ खर्च भयो, छोरालाई निको भएन्’, उनले भनिन् । सबै सम्पत्ति छोराको उपचारमा सकिएपछि अहिले सम्पत्तिको नाममा देमुसँग भत्केको घर र सानो खेत मात्र बाँकी छ । बूढेशकालमा देमुलाई छोराले स्याहारसुसार गर्ने उल्टै उनले छोराको पालनपोषण गर्नुपरेको छ ।

देमुले भनिन्, ‘छोरा सधैँ भत्केको घरमा एक्लै नाङ्गै सुत्छ, ओढ्ने, ओछ्याउने र लगाउने लुगा छैन ।’ उनी घरमा बस्न खान समस्या भएपछि गाउँलेकहाँ शरण लिएर बसेकी छन् । सरकारबाट द्वन्द्वपीडितले पाउने राहतसमेत नपाएको उनले बताइन् । सिङबहादुर देमुको हाल जिवित एक्लो छोरा हुन् । उनका श्रीमानको मृत्यु भइसकेको छ । जनयुद्धको घाउले केवल आँशु र पीडा मात्र दिएको देमुको दुःखेसो छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय