प्लास्टिक सोहोरेर समाज सेवा (पहिलो)

आफू बसोवास गर्ने शहरभरि प्लास्टिकको फोहर बढेपछि चिन्तित बनेका झापाको अर्जुनधारा नगरपालिका–११ निवासी पूर्व माओवादी लडाकू गणेश ढुंगाना सरसफाइमा एक्लै कस्सिएर लागेका छन् । असल कामको सुरुआत एक व्यक्तिबाटै हुन्छ भनेझैं उनको दुई साताको प्रयासबाट नै झापाको बुट्टाबारी बजार प्लास्टिकको फोहरमुक्त भएको छ । झापाको सबैभन्दा ठूलो व्यापारिक सहर हो विर्तामोड । सहरको पूर्वी किनारामा छ बुट्टाबारी बजार । विर्तामोडको वडा नं ६ र अर्जुनधाराको वडा नं ११ को आधाआधा भाग समेटिएको १० हजारभन्दा बढी जनघनत्व भएको बुट्टाबारी बजारले आधुनिक सहरको स्वरूप लिएको छ । ढुंगाना यही बुट्टाबारीलाई सफा बनाउने अठोट लिएर एक्लै सरसफाइमा होमिएका हुन् ।

हरेक बिहान ६ बजे दुईवटा ठूलो बोरा काँधमा बोकेर ढुंगाना घरबाट निस्कन्छन् र बुट्टाबारी बजारको तीन किलोमिटर वृत्त दुई घण्टा चहारेर बाटो वरपर भेटिएका जति प्लास्टिकका फोहर संकलन गर्छन् । उनी एउटा बोरामा प्लास्टिकका बोतल, बट्टा र भाँडाहरू संकलन गर्छन भने अर्कोमा प्लास्टिकका झोला र टुक्राहरू बटुल्छन् । उनले विगत दुई सातायता एकसय बोरा प्लास्टिकका विभिन्न प्रकारका बोतल र बट्टाहरू बटुलेर आफ्नै घरको आँगनमा थुपारेका छन् ।

एक्लै हरेक दिन प्लास्टिक खोज्दै आफ्नो घर र दोकान सामुन्ने फोहर ढलमा हात घुसारेर प्लास्टिक बटुलेको देख्दा सुरुसुरुमा स्थानीय बासिन्दाले उनलाई पागल भएको समेत ठानेका थिए । तर, उनलाई भने कसैको प्रवाह थिएन ।  बजारमा तीन तला पक्की घर र चल्तीको पसल भएको खानलाउन मनग्ये पुग्ने व्यक्ति यसरी फोहर नालीहरूमा प्लास्टिक बटुल्दै हिँडेको देख्दा ढुंगानाका नातागोता र साथीसंगी समेत परिवारको बेइज्जत गरेको भन्दै झस्किएका थिए । उनलाई राँची लैजानुपर्ने सल्लाह समेत आउन थालेको थियो तर, उनी कसैका कुराले हतोत्साही भएनन् । निरन्तर आफूले थालेको काममा लागि रहे ।

जतिसुकै अप्ठेरो अवस्थामा पनि अभियानमा दृढतापूर्वक लागिरहे उनी । आफ्नो उद्देश्य र अभियानबारेमा विस्तारै सबैलाई बुझाएपछि अहिले सबै सहरवासी उनको प्रशंसक मात्र बनेका छैनन्, उनीसँगै उनको अभियानमा साथ दिन तयार भइसकेका छन् । परिवर्तन आफैँबाट सुरु गर्नुपर्छ भन्ने सोच बोकेर एक्लै सहर सफा बनाउन कस्सिएका गणेश ढुंगानामा सानैदेखि क्रान्तिकारी भावना थियो । विसं ०५९ साउन १९ गतेदेखि तत्कालीन नेकपा माओवादीको पूर्णकालीन कार्यकर्ता भएका उनी झापाको चुलाचुलीमा रहेको तत्कालीन जनमुक्ति सेना नेपालको प्रथम डिभिजनको एक कम्पनीमा लडाकू भएका थिए ।

पार्टीमा रहेका वेला उनको भूमिगत नाम मौसम थियो । शान्ति प्रक्रियाअनुसार सेना समायोजनका क्रममा आफूले पाउने सुविधा सबै शहीद परिवारको कोषमा जम्मा गरेर उनी रित्तो हात घर फर्किएका थिए । जुन अवस्थामा उनी क्रान्तिमा गएका थिए तयही अवस्थामा खाली हात घर आए ।

पूर्वपश्चिम राजमार्गको छेउमै उनको घर छ । बसमा यात्रा गर्नेहरूले बान्ता गरेको थैलो र पानी पिएको बोतल झ्यालबाट फुत्त फुत्त फालेको दृश्य हरेक दिन घर अगाडि देखेपछि उनमा बेचैनीको झड्का लागेको उनी बताउँछन् ।  ‘त्यो दृश्यदेखे पछि मैले आफ्नै घर अगाडिको नाली हेरेँ, त्यहाँ प्लास्टिकका बोतलले जाम भएको पाएँ,’ सरसफाइ अभियानकर्मी ढुंगाना भन्छन्, ‘बजार डुलेर हेरेँ । व्यापारी र घरधनीहरू प्रयोग भइसकेको प्लास्टिकको बोतल र बट्टालाई सडक र नालीतिर जथाभावी फ्याँकिदिँदा रहेछन् ।’ सहरको यस्तो कुरूप दृश्य देखिसकेपछि मलाई मन भित्रैबाट अब केही गर्नै पर्ने भयो भनेर एक्लै भए पनि सरसफाइमा लाग्ने जोस पैदा भएको थियो ।’

माटोमुनि गाड्दा सयौँ वर्षसम्म नकुहिने, डढाउँदा विषाक्त ग्यास निस्कने र चुपचाप बस्दा सहरलाई नै फोहरले ढाक्ने भएपछि असल नागरिकको जिम्मेवारी बोध गरेर आफू अभियानमा होमिएको ढुंगानाले बताए । उनले भने, ‘मेरो दुईवटा प्रष्ट उद्देश्य छन् । एउटा सरसफाइका लागि जुट्न नगरवासीलाई ब्युँझाउने र अर्को भनेको प्लास्टिकलाई रिसाइकल गरेर उपयोगी सामग्री बनाउने उद्योग खोल्न प्रेरित गर्ने ।’ उनले अहिले संकलन भइसकेको एकसय बोरा प्लास्टिकका बोतल र बट्टा बिक्री गरेर अनाथ बालबालिकाहरूलाई सहयोग स्वरूप प्रदान गर्ने बताए ।

विर्तामोड–६ का वडाध्यक्ष सूर्य कन्दंवा एक व्यक्तिको सोचले सिंगो समाजमा परिवर्तन ल्याउन सकिँदोरहेछ भन्ने एउटा बलियो उदाहरण प्रस्तुत गर्न अभियानकर्मी गणेश ढुंगाना सफल भएको बताउँछन् । सफा नगर बनाउने ढुंगानाको अभियानमा साथ दिन आफू पनि तयार रहेको बताउँदै वडाध्यक्ष कन्दंवाले भने, ‘सधैँ एक व्यक्तिले सफा गरिरहने र हजारौँ नगरवासी फोहर गरिरहने कुरा राम्रो भएन । अब सबैले सफा अभियानमा जुट्नुपर्छ भन्ने जागरण ल्याउन ढुंगानाजी सफल हुनुभयो ।’ ढुंगानाको कामको उनले प्रशंसा गरे ।

बिर्तामोड र अर्जुनधारा नगरपालिकाको हिस्साको रूपमा रहेको बुट्टाबारीमा ढुंगानाले पागलको आरोप खेपेर ल्याएको सरसफाइ जागरणको सकारात्मक प्रभाव वरपरका सहरमा समेत फैलिन थालेको जुनकिरी सार्वजनिक आधारभूत विद्यालयका प्रधानाध्यापक रञ्जित परियार बताउँछन् ।  ‘दुर्गन्धित ढलको नाली र बाटोमा प्लास्टिकका फोहर टिप्दै हिँड्नु सामान्य कुरा होइन,’ प्रअ परियारले भने, ‘उहाँको जस्तो सामाजिक सोच थोरैमा मात्र हुन्छ । धेरैजसो मानिस आफ्नो घरभित्रको फोहर सफा गर्न समेत नगरपालिका आइदिनुपर्छ भन्ने सोच्छन् । उहाँ पूरै सहरभरिको फोहर आफैँ सफा गर्दै हिँड्नुहुन्छ ।’

अर्जुनधारा नगरपालिका–११ का वडासदस्य मोहनकुमार योगीले नगरपालिकाले ल्याउन नसकेको जागरण अभियानकर्मी गणेश ढुंगानाले बोरामा प्लास्टिक बटुलेर ल्याउनुभएको बताए । ‘फोहरको मुख्य कारण नै प्लास्टिक बनिसक्यो, अभियानकर्मी ढुंगानाको कामबाट मैले पनि प्रेरणा प्राप्त गरेको छु,’ उनले भने, ‘अब नगरको सबै भागमा सरसफाइ अभियान चलाउने बारेमा नगरपालिकामा छलफल चलाइरहेका छौँ ।’
सिंहदरबार गाउँगाउँमा आइपुगेको अवस्थामा एक नागरिकले हरेक दिन सहरभरि प्लास्टिकका बोतल बटुल्दै हिँड्नुपर्ने अवस्था आउनु बिडम्वना भएको धारणा व्यक्त गर्दै अर्जुनधारा मेलमिलाप समितिका सदस्य गंगा खरेल नगरपालिकाहरूले सरसफाइ अभियानको अगुवाइ गर्नुपर्ने बताउँछन् । उनले भने, ‘क्रान्तिकारी विचार मात्र होइन, व्यवहारसमेत क्रान्तिकारी भएको व्यक्ति हुन् गणेश ढुंगाना । उहाँको अभियानलाई सम्मान गर्ने हो भने सबैले बोरा बोकेर निस्कनुपर्छ ।’ उनको कामले यति वेला सबै प्रभावित भएका छन् ।

बुट्टाबारी बजार व्यवस्थापन समितिका सदस्य समेत रहेका गौतम हार्डवेयरका सञ्चालक विष्णु गौतम विर्तामोड र अर्जुनधारा नगरपालिका दुवैले सहर बजारको सरसफाइमा ध्यान नदिएको गुनासो सुनाउँछन् । चार वर्षअघि स्थानीय व्यवसायीहरूले बुट्टाबारीमा फोहर जम्मा गर्न सिमेन्टको रिङ राखेका तर, त्यसबाट राम्रो नतिजा नआएको उनले स्मरण गरे ।  ‘गणेशजी जब बोरा बोकेर प्लास्टिक बटुल्न थाले, अनि मात्र नगरपालिकाले डस्टबिन किनिदिने र फोहर उठाउन ट्याक्टर पठाउने आश्वासन दिएको छ,’ गौतमले भने ।

स्थानीयवासी निकिता किराना पसलका सञ्चालक सुनिल जैनले नगरपालिकाको फोहर बोक्ने गाडी नआउने भएकाले आफूले पसलको प्लास्टिकजन्य फोहर थुपारेर राखिदिने गरेको र बिहानै आएर गणेशजीले लैजाने गरेको बताए । उनी भन्छन्, ‘नगरपालिकाले फोहर लिन गाडी पठाइदिए हुने थियो । दिनैपिच्छे गणेशजी बोरा बोकेर आउनुहुँदा मलाई नै लाज भइसक्यो ।’

माओवादी लडाकूबाट फर्केर घर आएपछि अभियानकर्मी ढुंगानाले केही रचनात्मक र नौला कामहरू सम्पन्न गरिसकेका छन् । पर्यटन प्रवद्र्धनका लागि उनले झापादेखि ताप्लेजुङको पाथिभरा देवीको मन्दिरसम्म पैदल यात्रा गरेका छन । यस्तै गरी उनले आफ्नै स्वर, संगीत र शब्दमा भूकम्पले बासै उठायो र पाउँपाथिभरा उत्तरगंगा बोलका दुई गीति एल्बम बाहिर ल्याइसकेका छन् ।

अर्जुनधारा–६ मा चन्दा मागेर दुर्गा मन्दिर निर्माण गरेका छन् । अर्जुनधारा–६ मै रहेको अपांग बाल शिक्षा सरोकार केन्द्रमा आश्रित अशक्त र असहाय बालबालिकाका लागि भरणपोषणका सामग्री जुटाइरहेका छन् । उनको समय यतिवेला पूर्णरूपमा समाज सेवामा लागेको छ । समाजका लागि केही गरुँ भनेर बित्छ उनका समय ।

ढुंगाना अहिले सरसफाइ अभियानकै कारण सर्वत्र प्रशंसित छन् । उनी सञ्चारमाध्यमको नजरमा पनि परिसकेका छन् । घरको मूली मान्छे एकाबिहानै चोकबजारको नालीतिर बोरा बोकेर प्लास्टिक बटुल्दै गरेको खबर पहिलोपल्ट सुन्दा अभियानकर्मी ढुंगानाकी पत्नी सवितालाई पनि ‘पागल भए कि क्या हो’ भन्ने ठूलो डर लागेको रहेछ । यतिवेला पतिको सामाजिक कार्यलाई भरपुर हौसला दिँदै आएको बताउँदै सविता भन्छिन्, ‘घरकै मान्छे, मैले त अभियानलाई सुरुमा बझ्न सकिनँ । समाजमा चेतना आउन त सजिलो कहाँ हुँदोरहेछ र ? तर ग¥यो भने जे पनि हुने रहेछ भन्ने उनले पनि बुझेकी छन् ।

प्रतिक्रिया