मेकअपमा छबुको व्यस्तता

काठमाडौं । चलचित्र तथा म्युजिक भिडियोमा मेकअप कलाको महत्व विशिष्ट रहन्छ । कलाकारलाई क्योमरामार्फत स्क्रीनमा आकर्षक देखाउन मेकअपको भूमिका रहन्छ । पछिल्लो समयमा चलचित्र तथा म्युजिक भिडियोकोे मेकअप आर्टिस्टको रूपमा छबु कार्की ‘बस्नेत’ निकै व्यस्त छिन् । एक दशकदेखि शृंगार कलाको क्षेत्रमा सक्रिय उनले शान्ता ब्युटिपार्लर एवं ट्रेडिङ सेन्टरमा प्रशिक्षण लिएपश्चात् यस क्षेत्रमा लागिरहेकी छन् ।

भोजपुरको म¥याङडाँडा प्याउलीमा जन्मिएकी उनी विराटनगरमा हुर्के बढेकी हुन् । सौन्दर्य, शृंगारको क्षेत्रमा छुट्टै पहिचान बनाइसकेकी छबुले आफू ब्युटिसियन पेशामै जमेर लाग्ने सुनाइन् । सानैदेखि क्रिएटिभ र एक्टिभ रहने स्वभावका कारण आज आफ्नो शृंगार क्षेत्रमा पृथक पहिचान बनेको उनले बताइन् । अमेरिकाको डल्लासमा रहेको ब्युटिपार्लरमा झण्डै पाँच वर्ष काम गरेर नेपाल फर्केकी छबु ब्युटिसियन तथा समाज सेवामा समेत सक्रिय छन् । उनी सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय छन् । समाजमा योगदान दिएको भन्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय विभिन्न संघ–संस्थाले उनलाई सम्मान गरेका छन् ।

आफूले जानेको सीपकला नेपालका विपन्नवर्गका दिदीबहिनीलाई व्यक्तिगत तथा संस्थागत ढंगले प्रशिक्षण दिँदै आएको उनले जानकारी दिइन् । उनले महलिालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन प्रशिक्षण निकै फलदायी हुने बताइन् । उनले प्रशिक्षण लिएपछि हातमा कुनै सीप नभएकाले आफ्नै ब्युटिपार्लर खोलेर रोजगारमा संलग्न हुन मद्दत पुगेको सुनाइन् ।

विभिन्न संघसंस्थाले आयोजना गर्ने सौन्दर्य प्रतियोगितामा निर्णायकको भूमिका समेत निर्वाह गर्दै आएकी छबुले भनिन्, ‘शृंगार कला र सीपको संयोजन हो । आत्मनिर्भर र आर्थिकरूपमा सबल बनाउन मद्दत गर्ने भएकाले यसप्रति पछिल्लो समय महिलाको क्रेज बढ्दै गइरहेको छ । साथै चलचित्र तथा म्युजिक भिडियोमा समेत यसको माग बढ्दै गइरहेको छ ।’

प्रतिक्रिया