दुबो फेर्दै, खेल्दै !

पोखरा । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) आउन १० दिनमात्रै बाँकी छ, तर महिला फुटबल हुने रंगशालामा भने बिहीबारबाट बल्ल दुबो फेर्न थालिएको छ । पोखरा रंगशाला निर्माण गरिरहेको ठेकदार कम्पनीले कृत्रिम घाँसेमैदान (एस्ट्रो टर्फ) बनाउन गिट्टी बिछ्याइसकेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रकृतिक घाँसै मैदान बनउने निर्णय गरेको थियो । त्यसबेला नै सागका लागि पोखरा रंगशाला तयार हुनेमा प्रश्न उठेको थियो । त्यसमाथि भारतबाट ल्याएर सारिएको अधिकांश दुबो मरेपछि नयाँ समस्या सुरु भयो ।

साग सुरु हुन १० दिनमात्रै बाँकी हुँदा बिहीबार बल्ल भारतबाट नयाँ दुबो आइपुगेको छ । बिहीबार नै नेपाल प्रहरीको सहयोगमा दुबो फेर्ने काम सुरु भएको छ । तर नयाँ दुबो बिच्छ्याउनासाथ मैदान खेलका लागि उपयुक्त जानकारहरू बताउँछन् । मैदानमा दुबो रोपेको २ हप्तामामात्रै खेलका लागि उपयुक्त हुने प्राविधिकको भनाइ छ । जबकी खेल सञ्चालन हुन अब करिब एक हप्तामात्रै बाँकी छ ।

१३ औँ सागको स्थानीय व्यवस्थापन तथा सहजीकरण समिति पोखराका सदस्य राजेश गुरुङ भने यसले खेलका लागि कुनै असर नपर्ने दाबी गरे । थप दुबो ‘स्ट्यान्डबाई’ राखेर भएपनि पोखरामा महिला फुटबल गराउने उनले बताए । बिहीबार रंगशाला निरीक्षणमा निस्किएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको टोलीलाई बिफ्रिङ गर्दै गुरुङले भने, ‘साग महिला फुटबल सार्न चलखेल भइरहेको छ । हामी त्यसो हुन दिन्नौँ ।’

प्रत्येक खेलपश्चात् रातभर दुबो फेरेर भए पनि पोखरामा नै महिला फुटबल खेलाउने उनले बताए । रंगशाला पुननिर्माणको जिम्मा भारतको ग्रेट स्पोर्टस इन्फ्रा (जिएसआई) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले पाएको छ । मैदानका लागि दुबो पनि भारतबाटै ल्याइएको हो । कलकत्ताबाट ल्याइएको बर्मुडा दुबो ‘माटोसहित विदेश पठाउन नमिल्ने’ भारतीय नीतिका कारण भन्सारमा करिब एक हप्ता रोकिएको थियो ।

त्यहीँबाट ल्याइएका दुबोमा खराबी देखिएको जेभीका प्रोजेक्ट म्यानेजर इन्जिनियर दीपक बरालले जानकारी दिए । पटकपटक गरी अहिलेसम्म करिब ८६ हजार स्क्वायर फिट दुबो बिच्छ्याइसकिएको छ । तर, अधिकांश दुबो सुकेपछि पुनः नयाँ दुबो राख्ने काम सुरु भएको छ ।

प्रतिक्रिया